फिक्सन सेरिजमा थ्री आइरन

कान्तिपुर संवाददाता

काठमाडौँ — फरक शैलीका फिल्म बनाएर विश्वप्रसिद्ध बनेका दक्षिण कोरियाली निर्देशक किम किदुकको ‘थ्री आइरन’ ले प्राय: सकारात्मक प्रतिक्रिया पाउने गरेको छ । यो यस्तो फिल्म हो जसमा संवाद न्यून छ । 


फिल्मका पात्रबीचको‘साइलेन्स रिलेसनसिप’ लाई निर्देशकले दार्शनिक पाराले प्रस्तुत गरेका छन् ।

फिल्म समीक्षक समाज नेपाल (फिक्सन) ले यही फिल्म देखाएर आफ्नो शृंखला ‘फिक्सन फिल्म सेरिज’ पुन: सुचारु गरेको छ । बीचमा रोकिएको शृंखला यस पालिदेखि हरेक बिहीबार थापाथलीस्थित मार्टिन चौतारीमा चल्ने फिक्सनका महासचिव सामीप्यराज तिमिल्सिनाले बताए । ‘अबको केही समय निर्देशक विशेष फिल्म देखाउनेछौं,’ उनले भने, ‘कुनै एक पात्र समातेर त्यसको डिटेलिङमा जाने किमकोशैली बुझिराखौं भनेर सुरुमै उनलाई छानियो ।’

मुख्य दुई पात्रबीचको मौन संवादका कारण ‘थ्री आइरन’ चर्चित छ । यसले माया भन्ने चिजलाई ‘आध्यात्मिक र कस्मिक पारामा अथ्र्याएको’ फिल्म निर्देशक सचिन घिमिरेले बताए । फिल्म प्रदर्शनपछिकोअन्तरक्रियामा सचिनले फिल्मको कन्टेन्ट, सिम्बोल, क्राफ्ट लगायत विविध पक्ष सशक्त रहेको प्रतिक्रिया दिए । ‘मेडिटेटिभ साइलेन्सबाट रोमान्टिक लभ सिर्जनागरिएको छ’, उनले भने,‘पात्रहरू मौन भए पनि अचल छैनन् । डिटेलिङमा खुब ध्यान दिइएको छ ।’ फिल्म समीक्षक तिमिल्सिनाले चाहिँ ‘थ्री आइरन’ दक्षिण कोरियाली फिल्मको स्थापित शैलीभन्दा विल्कुल फरक रहेको बताए । आउँदो बिहीबार किमकै ‘पाइटा’ फिल्म देखाइनेछ । उनका चर्चित फिल्म हेरिसकेपछि मीनबहादुर भामसँग छलफल गरिनेछ । किमसँग चिनजान जोडेका मीनले आफ्ना अनुभवहरू बाँड्नेछन् ।

प्रकाशित : पुस २८, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

“सुर्के थैलीपछि बल्ल नाम पाएँ”

टर्निङ प्वाइन्ट
कान्तिपुर संवाददाता

काठमाडौँ — प्राय: मान्छे सानोमा चकचके हुन्छ भन्छन्, मेरो हकमा त्यस्तो भएन । साथीभाइ बनाउने, खेल्ने, हाहाहुहु गर्ने मेरो बानी नै थिएन । छोराको चुप लागेर बस्ने स्वभाव देखेर आमाबुबा मख्ख । ‘छोरो त निकै ज्ञानी’ भन्दै बेलामौकामा उहाँहरू फुर्काउनु पनि हुन्थ्यो । बोल्न पनि मन नपराउने र गुपचुप बस्ने छोरोले गीत गाएर करिअर बनाउँछ भन्ने उहाँहरूले कल्पनासम्म गर्नुभएको थिएन सायद । 

राजनराज सिवाकोटी गायक/संगीतकार 

जीवन सोचेभन्दा फरकै नै हुँदो हरेछ । गीतसंगीतमा लाग्ने वातावरण घरमा पटक्कै थिएन । म भने अरूले गीत गाएको खुब सुन्न मन पराउँथें । एक दिन स्कुलमा गायन प्रतियोगिता भयो । साथीहरूले गाएको देखेर मलाई पनि सहभागी हुने चाह जाग्यो । ठूलोबुबाको छोराले ‘घिन्ताङमा घिन्ताङ मादलु...’ गीतका केही हरफ लेखिदिए । मैले चाहिँ सुनिआएको लोकलयमा त्यत्तिकै गाइदिएँ । गाइसकेपछि साथीहरूको भीडमा आएर थपक्क बसे । प्रतियोगितामा प्रथम हुने आशामा अरू थुप्रै प्रतियोगी थिए । नाम घोषणा हुँदाचाहिँ उनीहरू छक्क परे । सबैले मतिरै मुखामुख गर्न थाले, मानौं मैले उनीहरूको अमूल्य चिज खोसिदिएको छु । आफंैलाई पत्यार नलाग्नेगरी प्रथममा आएको नाम मेरै थियो । पुरस्कारमा चाहिँ सुन्तलागेडी मिठाई, कापी र कलम पाएको थिएँ ।

पुरस्कार त जितें तर घरमा खुसी भित्रिएन । आमाबुबाको मुहारमा हाँसो थिएन । यस्तो देखेपछि बिस्तारै म आफैं चुपचाप बस्न थालें । गीतसंगीत त निकै सुन्थे तर गाउने प्रयास गरिनँ । उच्च शिक्षा हासिल गर्न दोलखाबाट राजधानी छिरें । समय बितिरहेकै थियो । एयरपोर्टको जागिरे भएँ । पैसाको अभाव थिएन । दैनिकी सहज बन्दै थियो तर मनमा चाहिँ खुसी मिलिरहेको थिएन । अरूले गीत गाएको देख्दा मनमनै लोभिन्थें र ‘यस्तो मिल्यो, उस्तो मिलेन...’ भित्रभित्रै आफंै गीतको मूल्यांकन गरिबस्थें । संगीतप्रतिको उत्कण्ठा बाहिर आउन चाहन्थ्यो, म भने भित्रभित्रै त्यसलाई दबाउने प्रयास गरिरहन्थें । कतिन्जेल सहनु ?

विसं २०५८ तिरको कुरा हो, मनभित्र केही आँट बटुलें । संगीतमा लागेर केही गर्छु भन्ने जोस संगालें । संगीतकार न्हयु बज्राचार्यको ‘डोरेमी’ म्युजिक स्कुलमा संगीत सिक्न सुरु गरें । दुई वर्ष अध्ययनपछि संगीत रचनातिर लागें । २०५९ मा ‘मायालु आउने जाने बाटोमा...’ रेकर्ड गरें । गीत त धेरै चल्यो, तर म आफू भने कतै चिनिइनँ । मनभित्र संगीतमा केही प्रयोगात्मक हुनुपर्छ भन्ने लागिरहन्थ्यो ।

मैदानमा उत्रिएपछि हरेस खाने कुरै भएन । त्यसको एक वर्षमै लोकदोहोरीमा सिर्जना रचें । विभिन्न गायकगायिकाको स्वरमा आफ्नै शब्दसंगीत भरेर ‘पञ्चामृत’ गीति एल्बम निकालें । ‘म माया गर्छु मेरी उनीलाई...’ लगायत गीत अलिअलि चर्चामा आए । त्यसपछि फेरि दोहोरी नभई तेहेरी शैलीमा गीत निकाल्ने सोच बनाएँ । २०६२/६३ को लोकतान्त्रिक आन्दोलनताका राजनीतिक दलहरूबीच त्रिपक्षीय वार्ता हुनपर्ने दबाब थियो । त्यसैमा आधारित तेहरी गीत ‘वार्ता मिलाइदेऊ...’ सिर्जना गरें । यति बेलासम्म पनि मेरा सिर्जना चर्चामा थिए, म चाहिँ गुमनाम । त्यसपछि आधुनिक र पप गीतमा समेत अनुभव बटुल्ने सोच बनाएँ । ‘जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन...’, ‘प्रिय तिम्रो सिउँदोमा...’, ‘तिम्रै हातको...’ लगायत आधुनिक गीत लोकप्रिय भए ।

नवीन के भट्टराईको स्वर रहेको पप गीत ‘अलिकति पीडा हुँदा नि...’ सिर्जना गर्दासम्म पनि संगीतकार राजनराज सिवाकोटीको परिचय थिएन । केटाकेटी नचाउने गीत ‘डाँफेझैं नाच्ने हिमालझैँ हाँस्ने नेपालकी छोरी हुँ म...’ पनि खुब चल्यो, तर मेरो नाम खासै चलेन । तर आफ्नो परिचय स्थापित गराउन सिर्जना कार्यमा डटी नै रहें ।

फिल्मका गीतमा पनि लोकशैलीको ट्रेन्ड भित्र्याउन पाए कस्तो हुन्थ्यो होला भन्ने यही सोचका साथ ‘सुर्के थैली खै...’ गीत कम्पोज गरेर केही रेडियोमा बजाउन दिएँ । गीतै सुनेर अभिनेत्री दीपाश्री निरौला र अभिनेता दीपकराज गिरीले फिल्म ‘वडा नम्बर ६’ का लागि अफर गरे । यही गीतले मलाई नाम दियो । यही गीत पछिल्लो समय मेला टाइपको फिल्मी गीतका लागि ट्रेन्डसेटरजस्तै बन्दा खुसी लागेको छ । युटयुबमा पनि यो गीतले करोडभन्दा बढी भ्युअर्सको कीर्तिमान बनायो । त्यसपछि नामको भोकमा कहिल्यै भौंतारिनुपरेन । ‘कुटुमा कुटु सुपारी दाना...’, ‘पूर्वपश्चिम रेल...’, ‘चरी चट्ट परी...’, ‘चिरबिर चिरबिर...’ लगायत फिल्मीगीतले मलाई थप स्थापित त गराएका छन्, तर अझै म सन्तुष्ट छैन । धेरै नयाँ सिर्जना गर्न बाँकी छ । अहिले एक दर्जनभन्दा बढी फिल्मका गीत हातमा छन् । एउटै धारमा टिकी नरहने बानी छ । पप, आधुनिक, लोकशैली मिसाएर फयुजन स्वाद दिन हरदम प्रयास गर्दै छु ।

-प्रस्तुति : मधु शाही

प्रकाशित : पुस २८, २०७४ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्