१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मिठासयुक्त चौतारी साँझ 

काठमाडौँ — लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका मार्फत नेपाली गीतसंगीत प्रवद्र्धन गर्दै आएका छन्— पञ्च लामा र श्रवण लामा । पञ्च बाँसुरीमा दख्खल राख्छन्, श्रवणचाहिँ तबलामा । यी दुईलाई जापानी संगीतकर्मी तेराकादो मित्सिगुले साथ दिएका छन् ।

मिठासयुक्त चौतारी साँझ 

यी तीनै जनालाई जोडिदिएको छ चौतारी ब्यान्डले । शुक्रबार यी तीनै जना नाचघरमा प्रस्तुत हुँदा दर्शकश्रोताले उत्तिकै साथ दिए ।

केहीयता हरेक वर्ष नेपालमा ‘चौतारी साँझ’ गर्दै आएका यी तीनले यसपटक पनि विभिन्न नेपाली र जापानी धूनबाट दर्शकश्रोताको मन जितेका हुन् । नेपालका सुन्दर दृश्यहरू समेटदै उनीहरू आफंैले बनाएको नेपाली लोक सांगीतिक डकुमेन्ट्री ‘सुन्दर नेपाल’ को प्रदर्शनसँगै ‘चौतारी साँझ, २०७४’ सुरु भएको थियो । पहिलो प्रस्तुतिमा पञ्चले बाँसुरीमार्फत मनकामना धून प्रस्तुत गरे । यसपछि पञ्च र श्रवणले बाँसुरी र तबलाको फयुजन धून सुनाए । प्रकाशको किरणलाई पछयाउँदै यी दुईले बाँसुरी र तबलामार्फत ‘जर्नी थ्रु द लाइट’ थिममा सांगीतिक प्रस्तुति गर्दैगर्दा जापानी कलाकार तेराकादो मित्सिगुले भने गितारमार्फत साथ दिएका थिए । यसपछि यी तीनले जापानी धून ‘टोकियो नाइट’ प्रस्तुत गरे ।

यस पटकको आकर्षणका रूपमा उनीहरूले काठमाडौंका केही स्थानीय धून पनि पस्के, जसलाई ‘द मेलानकोली नोट इन काठमान्डु’ नाम दिइएको थियो । धूनहरूमा स्थानीय नेवारी स्वादको मौलिकताको मिठास झल्किन्थ्यो । यसपछि उनीहरूले ‘ए कान्छा...’ शीर्षक नेपाली लोक धून प्रस्तुत गरे । ‘सी वेभ’ शीर्षक धूनमा समुद्रको छालको महसुस हुन्थ्यो भने ‘द हिमालयन’ शीर्षक प्रस्तुतिमा हिमाली भेगको नोस्टाल्जिया । तीनै जनाले दर्शकश्रोताबाट निरन्तर तालीको साथ पाइरहे । ड्रम सेसनको प्रस्तुतिमा ड्रममार्फत श्रवण र बाँसुरीमार्फत पञ्च अभिव्यक्त हुँदाको जुगलबन्दी पनि रोमाञ्चक थियो ।

फेरि तीनै जना एकसाथ प्रस्तुत भए, ‘क्याराभान’ र ‘वनचरी’ शीर्षक लोकधूनमा । मुरलीका माध्यमले विभिन्न चराको आवाज र गीत सुनाइएको ‘वनचरी’ प्रस्तुति लोभलाग्दो थियो । ‘डान्सिङ बर्ड’ शीर्षक धून पनि त्यत्तिकै मिठासपूर्ण थियो ।

पौने दुई घण्टाको सांगीतिक प्रस्तुतिमा पञ्च, श्रवण र तेराकादोले १४ प्रकारका धून प्रस्तुत गरे ।

पञ्च र श्रवण दुई दशकदेखि जापानमा बसेर त्यहाँका विभिन्न कार्यक्रममा नेपाली धून पस्किँदै आएका छन् । नेपालमा यो उनीहरूको तेस्रो चौतारी साँझ हो । कार्यक्रममा सर्लाहीको हरिवन नगरपालिका ५ स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहका लागि पञ्च र श्रवणले १२ लाख रुपैयाँ सहयोगसमेत प्रदान गरे ।

‘चौतारी साँझ’ को आयोजना भने सांस्कृतिक संस्थानले गरेको हो । नेपाली र जापानी संगीतकर्मीलाई एकै थलोमा प्रस्तुत गर्न पाउँदा आफूहरूलाई खुसी लागेको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

प्रकाशित : पुस २९, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?