कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नेपथ्यसँगै झुमे दर्शक

कन्सर्टकै दौरान गायक अमृतले चिकित्सा क्षेत्र सुधारको माग राख्दै १४ औं पटक अनशनमा बसेका डा.गोविन्द केसीको पक्षमा समर्थन जनाउन आग्रह गरे ।
अर्जुन राजवंशी

दमक — दुई सातादेखि दैनिक लाग्ने बाक्लो हुस्सुले झापा पूरै चिसिएको छ । दिउँसो केही घण्टा घमाइलो भए पनि बिहान–बेलुकाको चिसोले बाहिर निस्किने अवस्था हुँदैन । शुक्रबार बेलुका ५ बजेदेखि नै दमकस्थित सरस्वती माध्यमिक विद्यालयको आँगन भरिभराउ थियो ।

नेपथ्यसँगै झुमे दर्शक

तन्नेरीको खचाखच भीड चर्चित लोक रक ब्यान्ड नेपथ्यको सांगीतिक प्रस्तुतिमा झुम्यो । पुसको चिसोले कठयांग्रिएको दमकलाई नेपथ्यको दुई घण्टाको कन्सर्टले ततायो । २५ वर्ष पुगेको उपलक्ष्यमा नेपथ्यले दमकबाट रजत जयन्ती सांगीतिक यात्रा प्रारम्भ गरेको हो ।

पूर्वेली दर्शकले पहिलो पटक खुला आकाशमुनि नेपथ्यको कन्सर्टमा रमाउन पाए । झापा, मोरङसहित पूर्वका विभिन्न जिल्लाका करिब पाँच हजार दर्शकको उपस्थितिमाझ कन्सर्टले पूरै दमकलाई संगीतमय बनाएको थियो ।

कन्सर्टको सुरुवात नेपथ्यका दुई चर्चित म्युजिक भिडियोहरू ‘सा कर्णाली...’ र ‘सम्झिराख...’ देखाएर गरिएको थियो । धनकुटेली वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसको सिर्जना ‘सम्झिराख...’ नेपथ्यले पूर्वको यही कन्सर्टमा प्रस्तुत गरेको थियो । भिडियो प्रस्तुतिपछि

बेलुका पौने ६ बजे स्टेजमा उक्लिएका नेपथ्यका संस्थापक गायक अमृत गुरुङले लगातार दुई घण्टासम्म आफ्नो जोडदार प्रस्तुति दिए ।

सरुभक्तद्वारा रचित ‘कुरूप अनुहार हो...’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका गुरुङले ‘भेंडाको ऊनजस्तो..’, ‘छेक्यो छेक्यो...’,‘आँगनैभरि...’ बोलका गीतहरू एकपछि अर्को गर्दै गाए । यी गीतहरू दर्शकदीर्घामा प्रस्तुत गर्दै गर्दा गायक गुरुङले ब्यान्ड स्थापनाको सुरुवाती क्षणहरू सम्झिए । अमृतले ब्यान्डको पहिलो गीत गाउँदै गर्दा पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरूका सम्झनारूपी तस्बिरहरू पनि देखाइएका थिए । गायक अमृतले ‘शिर फूल शिरैमा...’, ‘लामपाते सुरती...’, ‘चरी मर्‍यो...’, ‘जोमसोमे बजारमा...’ हुँदै नेपथ्यको पछिल्लो एल्बम ‘ऐना झयाल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट...’ सुनाएका थिए ।

खुला आकाशमुनि पुसको चिसोमा डेढ दर्जन गीत गाउन भ्याएका अमृतले ‘तिमी पनि नेपाली...’, ‘यो जिन्दगानी...’, ‘कोशीको पानी...’, ‘हिमाल चुचुरे...’, ‘मै नाचे छमछमी...’ पनि सुनाए । यति गाइसक्दासमेत नाचेर नथाकेका दर्शकले कन्सर्ट सुरु भएदेखि नै माग गर्दै आएको ‘रेशम...’ र ‘तालको पानी...’ समेत उनले सुनाएका थिए । अमृतलाई ड्रमर ध्रुव लामा, बेस गिटारिस्ट सुबुन शाक्य, मादलमा शान्ति रायमाझी किबोर्डिस्ट सुरज थापा र लिड गिटारिस्ट निरज गुरुङले साथ दिएका थिए । आफ्ना गीतहरूमा लठ्ठै भएका दर्शकलाई गायक अमृतले पटकपटक आफ्नो देशको सुन्दर स्थानहरूमा घुम्न जान आग्रह गरे । उनले गाउँदा गाउँदै बीचबीचमा देशको समसामयिक विषयवस्तुमा पनि आफ्नो अभिमत राखेका थिए ।

कन्सर्टकै दौरान गायक अमृतले चिकित्सा क्षेत्र सुधारको माग राख्दै १४ औं पटक अनशनमा बसेका डा.गोविन्द केसीको पक्षमा समर्थन जनाउन आग्रहसमेत गरे । उनको आग्रहलाई सबै दर्शकले हात उठाएर समर्थन जनाएका थिए । त्यति मात्रै होइन, उनले दमकबाट भारी मतले निर्वाचित भएका बाम गठबन्धनका नेतृत्वकर्ता एवं एमाले अध्यक्ष केपी ओली भावी प्रधानमन्त्री भएको भन्दै, अब मुलुकलाई स्थिर र समुन्नतितर्फ अघि बढाउन शुभकामनासमेत दिन भ्याए ।

देश विकासमा सबैलाई एक ठिक्का हुन आग्रह गर्दै ‘गाउँगाउँबाट उठ...’ र ‘रातो र चन्द्रसूर्य...’ बोलको देशभक्ति गीत समेत सुनाए । कवि गोपालप्रसाद रिमालको अर्को देशभक्ति गीत ‘जंगी निसान...’ बाट अमृतले कन्सर्टको बिट मारेका थिए । पहिलो पटक ठूलो भीडमा देशकै चर्चित ब्यान्डको कन्सर्ट लाइभ हेर्न पाउँदा आफू अत्यन्तै उत्साही भएको धरानबाट आएका स्वतन्त्र गौतमले बताए । उनले भने, ‘अमृत दाइ हामी युवाहरूको निम्ति आइकन हुनुहुन्छ । त्यसैले उहाँको कन्सर्ट हेर्न धरानबाट हामी युवाहरूको एउटा टोली नै आएका हौं ।’ दमकमा नेपथ्यको यो चौथो कन्सर्ट हो । यसअघिका सबै कन्सर्ट हलभित्र गरिएको थियो । स्थानीय थ्री इन्क भिजन, जय मिडिया र पूर्वाञ्चल रक्सले नेपथ्यलाई दमकमा ल्याएका थिए । नेपथ्यको टोलीले १ गते माघे संक्रान्तिको दिन चितवनस्थित नारायणी नदीको किनारमा आफ्नो प्रस्तुति दिनेछ ।

प्रकाशित : पुस ३०, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?