१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नारायणी किनारमा हुस्सु र कुहिरो

विमल खतिवडा

चितवन — तीन सहरको म्युजिकल टुरमा निस्केको नेपथ्य ब्यान्ड दोस्रो प्रस्तुतिका रूपमा सोमबार साँझ नारायणगढमा थियो । माघे संक्रान्तिको दिन नारायणी नदी किनारमा दर्शकश्रोताले लोकरक ब्यान्डका कर्णप्रिय गीतहरू सुन्न पाए ।

नारायणी किनारमा हुस्सु र कुहिरो

ब्यान्डका अगुवा गायक अमृत गुरुङले सुरुआत गरेका थिए ‘कुरूप अनुहार’ गीतमार्फत । करिब ७ हजार दर्शकश्रोताको भीडमा उनले ‘भेडाको ऊनजस्तो’ ले उफारे । ‘छेक्यो छेक्यो’ र ‘आँगनैभरि’ गाउने क्रममा उनले ब्यान्ड स्थापनाताका कुरा पनि सुनाए ।

‘हामीले यो गाीत तयार पार्दा तपाईंहरूमध्ये अधिकांश त जन्मनुभएकै थिएन,’ युवा दर्शकश्रोतातिर हेर्दै उनले भने, ‘आज तपाईंहरूमाझ आएर मैले यो गीत गाउँदा आफू तपाईंहरूकै उमेरमा पुगेको अनुभूति गरिरहेको छु ।’ नेपथ्य अहिले २५ औं स्थापना दिवस मनाइरहेको छ । दाताज इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित ‘नेपथ्य लाइभ कन्सर्ट’ मा ब्यान्डका पुराना सदस्यहरूको सम्झनारूपी तस्बिरसहितको भिडियो पनि देखाइयो ।

अमृतले ‘शिरफूल शिरैमा,’ ‘लामपाते सुर्ती,’ ‘चरी मर्‍यो,’ ‘जोमसोमै बजारमा,’ ‘जोगले हुन्छ भेट’ गाउँदै दर्शकश्रोतालाई उत्साहित बनाइरहे । भीडमा नचाच्ने कोही भएन । रात छिप्पिँदै गए पनि स्टेजको रंगीन प्रकाशले नदीकिनारलाई झिलीमिली बनाइरहेको थियो ।

अमृतले ‘तिमी पनि नेपाली,’ ‘यो जिन्दगानी,’ ‘कोशीको पानी,’ ‘हिमाल चुचुरे,’ ‘मै नाचेँ छमछमी’ गाइरहँदा दर्शकदीर्घाबाट ‘रेशम’ र ‘तालको पानी..’ गाउन फर्माइस आइरहयो । उनले फर्माइस पूरा गर्न बिर्सिएनन् । उनले ‘गाउँगाउबाट उठ’ गाउनुअघि डा. गोविन्द केसीलाई सम्झिए । चिकित्सा क्षेत्र सुधारका निम्ति अनशन बस्दै आएका केसीको अभियानमा आफ्नो समर्थन रहेको उनले खुलेर सुनाए ।

‘हामी अन्यायविरुद्ध सधंै लडदै आयौं । डा. केसीको लडाइँ नेपालमा न्यायको थिति बसाल्न चलिरहेको छ,’ उनले दर्शकश्रोताको भीडलाई भने, ‘के तपाईं पनि मजस्तै उनको अभियानमा साथ दिनुहुन्छ ?’ दर्शकदीर्घाले हात ठडयाएर उफ्रँदै चर्को आवाजमा केसीको पक्षमा समर्थन रहेको जनाउ दिए । यो देखेर दंग गायकले नारायणगढका तन्नेरीहरूले साथ दिएको कुरा सन्देशको रूपमा आफूले लग्ने बताए ।

त्यसपछि उनले चन्द्र र सूर्य झन्डामा कसैले पनि दाग लगाउन नपाओस् भन्दै ‘रातो र चन्द्रसूर्य’ गीत गाउँदै कन्सर्टको बिट मारे । राति आठ बजेसम्म उनले लगातार २० गीत गाए ।

‘उपत्यका भित्रबाहिर जहाँ कन्सर्ट गर्दा पनि हामीले प्राविधिक हिसाबले दर्शकश्रोतालाई एकरूपता दिँदै आएका छौं,’ नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘यो पटक पनि कलाकार र प्राविधिकसहितको भ्रमण लिएर अत्याधुनिक साउन्ड सिस्टमसहित तीन सहरमा कन्सर्ट गरिरहेका हौं ।’ उनका अनुसार, बिहीबार भैरहवाको पक्लिहवा हाइस्कुलमा कन्सर्ट हुनेछ ।

प्रकाशित : माघ ३, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?