१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘लालपुर्जा’ मा दाजुभाइको द्वन्द्व

लेखनाथ — यसै सातादेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लालपुर्जा’ को प्रस्तुतीकरण नितान्त नौलो रहेको कलाकारहरूले दाबी गरेका छन् । पोखरामा मंगलबार आइपुगेका अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीले ‘रिस्क’ मोलेरै फिल्ममा नौलो प्रयोग गरिएको बताए ।

‘लालपुर्जा’ मा दाजुभाइको द्वन्द्व

विपिनले फिल्मको कथालाई स्वैरकल्पना र यथार्थको ‘फ्युजन’ भन्न रुचाए । ‘यसपटक अडियन्सलाई भन्दा पनि आफैंलाई मध्यनजर गरेर फिल्म बनाइएको छ,’ उनले भने, ‘पछिल्लो क्रममा नेपाली फिल्ममा नयाँ–नयाँ कथा खोज्ने चलनअनुरुप नै यसलाई फरक बनाउने कोसिस गरेका छौँ ।’

सौगातले यसपटक आफैंलाई मन पर्ने काम गरेको बताए । ‘नयाँ कुरा गर्न रिस्क त मोल्नैपर्छ,’ उनले भने, ‘यो पनि रिस्क नै हो ।’ कमेडी जनाराको फिल्मले दर्शकलाई छुने उनले विश्वास लिए । सुनिरहेकै कथालाई फरक ढंगबाट प्रस्तुत गर्न फिल्म सफल भएको उनको दाबी थियो । अभिनयमा सकेसम्म राम्रो गर्ने कोसिस गरेको पनि उनले बताए ।

चलचित्र पत्रकार संघ, कास्कीले गरेको पत्रकार सम्मेलनमा बढी नै खुलेका विपिनले फिल्म सौतेनी दाजुभाइको झगडामा आधारित भएको खुलाए । ‘मैले भन्न हुन्थ्यो कि हुने थिएन, तर मैले भन्दिएँ,’ सौगाततर्फ हर्दै उनले भने, ‘उहाँ र म सौतेनी दाजुभाइको भूमिकामा छौं ।’ सौतेनी दाजुभाइबीच लालपुर्जाको सम्बन्धमा हुने झगडा नै फिल्मको विषयवस्तु रहेको उनले सुनाए । नेपाली समाजमा दाजुभाइको झगडा कहिल्यै पुरानो नहुने भएकोले दर्शकले फिल्मबाट मज्जा लिने उनको आशा छ ।

निगम श्रेष्ठ निर्देशित उक्त फिल्मको कथा श्रेष्ठ र विक्रमसिंह थारुले लेखेका हुन् । फिल्ममा हरिहर शर्मा, मेनुका प्रधान, मिरुना मगर, कामेश्वर चौरसिया, मिश्री थापा, कमलमणि नेपाल, अनिल पाण्डेको पनि अभिनय देख्न सकिन्छ । आख्यानकार कुमार नगरकोटी पनि यसमा अतिथि भूमिकामा छन् ।

प्रकाशित : माघ ३, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?