कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुलोचौका छोडी दौड

घनश्याम खड्का

काठमाडौँ — महिलाको सौन्दर्य केमा छ ? उत्तर मानिसका रुचिपिच्छे फरक आउलान् । भारतीय मोडल मिलिन्द सोमण भन्छन्, ‘महिलाको सौन्दर्य उनको स्वास्थ्यमा छ ।’

चुलोचौका छोडी दौड

यही मन्त्र लिएर गत वर्ष बैंग्लोर, कोलकाता, मुम्बई, दिल्ली, हैदराबाद, पुने, चेन्नाई र गुवाहाटी गरी भारतका आठ सहरका ८० हजार महिलालाई उनले घरबाट बाहिर ल्याई सडकमा कुदाए । बर्सेनि हुने यस्तो दौडलाई उनले नाम दिएका छन्– पिंकाथन ।

‘यो म्याराथनकै एक प्रकार हो र यसमा महिलाको मात्रै सहभागिता हुन्छ,’ नेपालमा पनि दोस्रो पटक यो दौडको आयोजना गर्न काठमाडौं आइपुगेका सोमनले सोमबार कान्तिपुरसँगको कुराकानीमा भने, ‘शारीरिक व्यायामलाई जीवनशैलीकै एक हिस्सा बनाउनु स्वस्थ हुनु हो भन्ने चेतना पुरुषहरूमा पनि धेरैमा आएको छैन भने महिलामा झनै कम छ । त्यसैलाई चुनौती दिँदै चेतना फैलाउनु र महिलालाई चुलोचौकाबाट बाहिर निकालेर सामूहिक दौडमा सरिक गराउनु मेरो एक मात्र उद्देश्य हो ।’

स्वास्थ्य नै जीवनको सबभन्दा ठूलो सम्पत्ति र सौन्दर्य हो भन्ने चेत उनलाई आफ्नै जीवनले सिकाएको रहेछ । ‘१५ वर्षअघि म दिनको ३० खिल्ली चुरोट खान्थेँ र स्वास्थ्यका बारेमा निकै बेपरवाह थिएँ,’ उनले भने, ‘त्यसपछि मैले एक दिन दौडन सुरु गरेँ र अरू धेरैले पनि यसमा साथ दिए ।’

तर दौडनेमा महिलाहरू भने कि त हुँदै हुँदैनथे, कि एकदमै कम हुन्थे । यसलाई बढाउन सोमनले ठूलो दौड प्रतियोगिताकै आयोजना गर्ने विचार गरे, जसलाई उनले नाम दिए पिंकाथन । यसरी सन् २०१२ मा मुम्बईमा पहिलो पिंकाथन आयोजना भयो जसमा सहभागी भए २ हजार महिला । उनको यो अभियानले निकै ठूलो प्रशंसा पाएपछि भारतका अरू सहरमा पनि सोमणलाई बोलाइयो ।

बाजिराओ मस्तानी, भ्याली अफ फ्लावर, अग्नि वर्षाजस्ता दर्जनौं सिनेमा खेलिसकेका सोमणलाई यसरी महिला धेरै रुचिका साथ दौडमा सहभागी भएको देख्दा खुसी लाग्छ ।

‘मेरो खुसी त अझ बढी केमा छ भने, नेपालमा पनि पिंकाथन सुरु भएको छ र यहाँ पनि धेरै महिला सहभागी हुन आतुर देखिन्छन्,’ उनले भने, ‘गएको वर्ष दुई हजार सहभागी भए काठमाडौंमा । यो वर्ष धेरै नै बढी सहभागी होलान् भन्ने आशा गरेको छु ।’

फेब्रुअरीको २४ मा हुने पिंकाथनमा जुनसुकै उमेरका महिला सहभागी हुन सक्नेछन् । ‘यत्ति हो, १३ वर्षभन्दा कमका किशोरी र बालिका आए भने उनीहरूका साथ तिनका अभिभावक पनि हुनैपर्नेछ,’ उनले भने, ‘बढी चाहिँ जतिसुकै उमेरका मानिस पनि आउन सक्छन् । जस्तो कि, इन्डियामा एक सय एक वर्षकी महिला पनि दौडमा आउनुभएको थियो ।’

दौडमा सहभागी हुन चाहनेले ६ सय रुपैयाँ तिर्नुबाहेक अरू केही गर्नुपर्दैन । यो रकमबाट सहाभागीलाई टिसर्ट र खाजाको प्याकेट उपलब्ध गराइने सोमणले बताए । भारतमा पिंकाथनको व्यवस्थापन युनाइटेड सिस्टर्स अर्गनाइजेसनले गर्दै आएको छ भने नेपालमा यसको व्यवस्थापन उक्त अर्गनाइजेसनसँग मिलेर लिजर पोर्टलले गर्दै आएको छ । यसको मिडिया पार्टनर कान्तिपुरको मासिक म्यागजिन ‘नारी’ ले गर्ने भएको छ ।

प्रकाशित : माघ ३, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?