२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

“शेरबहादुरबाट परिचय फेरिनेछ”

काठमाडौँ — पहिलो फिल्मबाट नै एकाएक चर्चा र लोकप्रियताको शिखरमा पुग्ने मौका कमैले पाउने गर्छन् । त्यसमा पनि भिलेनको भूमिकामा रहेकाले लोकप्रियता पाउनु विरलै हुन्छ । तर अभिनेता सुनील थापा त्यस्ता भाग्यमानी हुन्, पहिलो फिल्मले नै उनलाई नेपाली फिल्मजगत्मा स्थापित बनाइदियो ।

“शेरबहादुरबाट परिचय फेरिनेछ”

बलिउडमा ‘साहेब भादूर’ र ‘एक दुजेके लिए’ फिल्ममा काम गरिसकेका उनी ‘चिनो’ फिल्मबाट नेपाली फिल्मजगत्मा डेब्यु गरे । यही फिल्मको डायलग ‘राते काइँलालाई यो कुरा मन परेन’ लामो समयसम्म हिट रहयो ।

पछिल्लो समय उनले खेलेको ‘शेरबहादुर’ प्रदर्शनको तयारीमा छ । फिल्म युनिटले मंगलबार पत्रकार सम्मलेलन गर्दै माघ १९ गते रिलिज डेट तोकेको छ । ४४ वर्षको फिल्म करिअरमै ‘शेरबहादुर’ मा पाएको रोल पुन: माइलस्टोन सावित हुनेमा सुनील आशावादी देखिए । भने, ‘सबैले ‘राते काइँला’ भन्नुहुन्छ । अव यो फिल्म हेरेपछि ‘शेरे’ भन्नुहुन्छ होला । किनकि मेरो क्यारेक्टर पनि स्ट्रोङ छ ।’ फिल्ममा दृष्टिविहीनका साथै रिटायर्ड ब्रिटिस आर्मीको भूमिका निभाएको उनले सुनाए । यो फिल्मकै लागि उनले दृष्टिविहीनहरूले कस्तो बेहोरा देखाउँछन् भन्ने सिक्न तिलगंगा आँखा अस्पतालमा गएर डाक्टरहरूसँग परामर्श लिएको समेत सुनाए । आँखाको नानीमा लेन्स राख्ने कुरा भए पनि एलर्जी हुने खतराका कारण त्यस्तो नगरीकनै अभिनय गरेको उनले जनाए ।

बुवा रिटायर्ड इन्डियन आर्मी भएकाले आफूलाई यो भूमिका गर्न गाह्रो नभएको उनको जिकिर थियो । ‘मैले चार वर्ष आर्मी स्कुल पढेँ । फौजी हुने प्रयास पनि थियो, खासमा बुबा फौजी बनाउन चाहनुहुन्थ्यो,’ उनले भने, ‘तर कहाँबाट कलाकार भएँ थाहा छैन । रिटायर्ड

आर्मीको जस्तै फिजिकल फिट पनि देखिरहेको छु ।’

केही वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा प्रियंका चोपडाकी गुरुको भूमिकाबाट चर्चा पाएका उनले ‘शेरबहादुर’ फिल्मको समय मिलाउन दुई बलिउड फिल्म छोडेको समेत दाबी गरे । आर राजवंशीको निर्देशन रहेको यो फिल्ममा २५ लाखको सेटमा २० दिन काम गरेको सुनाउँदै उनले अंग्रेजी फिल्मबाट समेत इन्स्पायर भएको बताए । भने, ‘यो अंग्रेजी फिल्मको रिमेक हैन, इन्स्पायरचाहिँ मान्न सकिन्छ ।’ एक अंग्रेजी फिल्मलाई नेपाली कथाव्यथामा उतारेको बताउँदै फिल्मका क्रिएटिभ निर्देशक प्रदीप खडकाले फिल्म हेरिसकेपछि त्यो खुल्ने जनाए । फिल्ममा प्रयोग गरिएका प्रप्पहरूले नै अभिनय गरिरहेको जस्तो हुने पनि उनले दाबी गरे । फिल्ममा कर्मा, मेनुका प्रधान, रवीन्द्र झालगायतको अभिनय रहेको छ । अभिनय गर्न कति गाह्रो हुन्छ भन्ने कुरा फिल्म ‘शेरबहादुर’ ले सिकाएको कलाकार झाले सुनाए । यो फिल्मले राम्रो गर्‍यो भने अर्काे फिल्म पनि बनाउने निर्माता गौरी शंकर धुजूले सुनाए ।

प्रकाशित : माघ ३, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?