सरोगेसी र सेलेब्रिटी

काठमाडौँ — अमेरिकी मोडल किम कार्दिसियन र उनका पति कान्ये वेस्ट सोमबार तेस्रो सन्तानका मम–डयाड भए । पहिलो र दोस्रो सन्तानजसरी भने हैन । उनीहरूका यसअघिका सन्तान किमले नै जन्माएकी थिइन् भने तेस्रो सन्तानलाई उनीहरूले सरोगेसीका माध्यमबाट जन्माएका हुन् ।

सरोगेसी र सेलेब्रिटी

एउटा गम्भीर रोगका कारण किमले अरू सन्तान जन्माउन नमिल्ने भएपछि उनीहरूले सरोगेसीको सहायता लिएका हुन् । गर्भवती छँदा किमको पाठेघरमा समस्या देखिन थाल्यो । बच्चा जन्मिएपछि सालनाल सामान्यत: पाठेघरलाई छोडदै जानुपर्ने हुन्छ, तर किमको सवालमा यस्तो नहुने जोखिम बढेपछि सरोगेसीको सहायता लिइएको हो । किमले सरोगेसी (भाडाको कोख) मार्फत छोरी जन्माएको खुसी मंगलबार आफ्नो वेबसाइटमार्फत साटेकी छन् । ‘स्वस्थ र राम्री छोरीको आगमनको खबर दिन पाउँदा हामी दुवै खुसी छौँ,’ उनले सरोगेटलाई धन्यवाद दिँदै लेखेकी छन्, ‘हामी हाम्रो सरोगेटप्रति पनि धेरै

आभारी छौँ, जसले सबैभन्दा ठूलो गिफ्टसहित हाम्रो सपना साकार पारिदिइन् ।’


के हो सरोगेसी ?

सरोगेसी अचेल निकै लोकप्रिय भइरहेको छ । यो प्रक्रियामा बच्चा चाहने दम्पती र जन्माइदिन राजी कुनै महिलाबीच सम्झौता हुन्छ । जो महिला अरूको सन्तान आफ्नो कोखबाट जन्माउन तयार हुन्छन्, उनीहरूलाई ‘सरोगेट मदर’ भनिन्छ । बच्चा नजन्मुन्जेल ती महिलाको कोख ‘भाडा’ मा लिइन्छ । यो प्रक्रिया आफैंले बच्चा जन्माउन असमर्थहरूका लागि, कहिलेकाहीं बच्चा जन्माउन कठिनाइ हुने र बारबार गर्भपतन भएकाहरूका लागि वरदान साबित भइरहेको छ ।


सरोगेसी अपनाएका सेलेब्रिटीहरू

सरोगेसीका माध्यमबाट मम–डयाड बन्नेमा अमेरिकी अभिनेत्री/निर्देशक/निर्माता एलिजाबेथ ब्यांक्स, सारा जेसिका पार्कर, अमेरिकी कमेडियन/जादुगर जिम्मी फयालन, फुटबलर क्रिस्टियानो रोनाल्डोदेखि भारतीय फिल्म निर्देशक करण जौहर, अभिनेता शाहरूख खान । आमिर खान, तुषार कपुरसम्म छन् ।

‘स्पाइडर म्यान ट्रिलोजी’, ‘वेट हट अमेरिकन समर’, ‘रोल मोडल्स’, ‘पावर रेन्जर्स’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी एलिजाबेथले आफूले सन्तान जन्माउन नसकेपछि पति र उनले सरोगेसी रोजेका थिए । सरोगेसीका माध्यमबाट उनीहरूका दुई छोरा छन् । उनले बेलाबेला सरोगेसीले आफ्नो जीवनमा सकारात्मक प्रभाव पारेको बताउँदै यसलाई राजनीतिक मुद्दाको रूपमा हेरिनुपर्नेमा जोड दिने गरेकी छिन् ।

‘सेक्स एन्ड द सिटी स्टार’ अभिनेत्री साराले सरोगेसीकै माध्यमबाट २००२ मा पहिलो सन्तान पाएकी थिइन् भने २००९ मा जुम्ल्याहा छोरी ।

रियल म्याड्रिड स्टार रोनाल्डोले पछिल्ला जुम्ल्याहा सन्तान सरोगेसीकै माध्यमबाट जन्माएका हुन् ।

बलिउड निर्देशक करण पनि सरोगेसीमार्फत नै दुई सन्तानका बाबु बनेका हुन् । गत वर्ष उनले ती जुम्ल्याहालाई अस्पतालबाट घर लाँदै गरेका तस्बिरहरू भाइरलसमेत भएका थिए । विभिन्न सञ्चारमाध्यमले उनका बच्चाहरूको सरोगेट मदरको समेत खोजी गरेका थिए । उनले सन्तान भएपछि टीटेका थिए, ‘अभिभावक बन्न पाएकामा धेरै खुसी छु, जो यो धर्तीमा मेडिकल साइन्सको सहायताले आएका हुन् । म सरोगेटको अनन्त कालसम्म आभारी रहनेछु, जसले मेरो जीवनको सपना पूरा गरिदिइन् र संसारमा आउनु पहिले मेरा बच्चालाई न्यानो माया दिइन् । उनी मेरो प्रार्थनामा सधंै रहनेछिन् ।’

सरोगेसीबाटै जन्माइए शाहरूख र गौरी खानका तेस्रो सन्तान अब्राहम । आमिरकी दोस्रो श्रीमती किरण रावको गर्भ बारम्बार खेर गएपछि उनीहरूले पनि सरोगेसीमार्फत छोरो पाए । त्यस्तै, तुषार पनि सरोगेसीकै माध्यमबाट बाबु बनेका हुन् । -एजेन्सी

प्रकाशित : माघ ४, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?