कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

इज इट लभ... एक नम्बर

काठमाडौँ — मिलन चाम्स निर्देशित ‘लिलिबिली’ फिल्मको ‘इज इट लभ...’ बिहीबार युटयुब नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा पर्‍यो । सोमबार अपलोड गरिएको भिडियोमा लोकेसन र नवअभिनेत्री जसिता गुरुङ आकर्षणको विषय बनेका छन् । प्रताप दास र मेलिना राईको स्वरले पनि प्रशंसा पाइरहेको छ । अभिनेता प्रदीप खड्काका फयानहरू भने उनको पहिरनलाई लिएर खिन्न छन् ।

इज इट लभ... एक नम्बर

‘हिरोइन राम्री तर हिरोचाहिँ पुरानै लुगामा देखिए,’ ब्युटिफुल वल्र्ड नामक युटयुब युजरले प्रतिक्रिया दिएका छन्, ‘एक्स्प्रेसन पनि नयाँ छैन ।’ राज कार्कीलाई निर्देशकले कलाकारभन्दा लोकेसनलाई बढी जोड दिएको भान भएछ । सञ्जय राईले प्रदीपकै बारे भनेका छन्, ‘उनको अनुहारमा जाडोको प्रभाव प्रस्ट देखियो ।’ कुमार केसीको फिडब्याकचाहिँ यस्तो छ, ‘ह्वाट अ प्लेस, जसिता इज बेस्ट ।’ प्रदीप भनेको प्रदीप नै हो भन्नेहरू पनि भेटिए ।

कलाकारसमेत रहेका व्यवसायी सुवास घिसिङको सुन सोखबारे बनाइएको भिडियो ट्रेन्डिङको दोस्रो स्थानमा थियो । ‘काठमाडौंमा भेटिए सुनले भरिएको अनौठो मान्छे’ शीर्षक भिडियोमा दिउँसोसम्म ४ सयभन्दा बढी कमेन्ट देखिन्थे । कान र हातमा गरी २५ तोलाजति सुन र करिब ५० तोला चाँदीका गहना लगाएर हिँड्ने सुवासको अन्तर्वार्ता हेरेपछि रजनी अर्यालले लेखेकी छन्, ‘अत्ति धेरै धनी भएर पनि राम्रोसँग बोल्नुहुँदो रहेछ । खुसी लाग्यो ।’

प्रवीण मगरले एक तोला नमागी छोड्दिनँ भनेका छन् । बिनु राईले लेखेकी छन्, ‘बाबै, हामीलाई एउटा सानो झुम्का लाउन त गाह्रो हुन्छ, उहाँले त्यत्रो भारी कसरी लाउन सकेको होला, हैट ।’


भद्रगोल टेलिशृंखलाको १५४ भाग ट्रेन्डिङको तेस्रो स्थानमा छँदा यसको भ्युज सात लाखभन्दा बढी थियो । अधिकांश युटयुब दर्शकले यो भाग जनचेतनामूलक लागेको फिडब्याक दिएका छन् ।


खड्ग गुरुङ, लेकसाइड टीभी, जयराम थपलियालगायतले भद्रगोल समूहलाई बधाई र धन्यवाद दिएका छन् । ‘आजको भाग सन्देशमूलक लाग्यो,’ गुरुङको प्रतिक्रिया, ‘दुई करोडको घर र पचास लाखको गाडीका मालिक, नेताहरूको आँखा खुइलियोस् ।’ किरण भट्टलाई सीताराम बाजेको नयाँ रूप मन परेछ । सागर सापकोटालाई भद्रगोल ट्ेरन्डिङको अग्रस्थानतिर लम्किएकोमा खुसी लागेछ । ‘अनमोल केसीका पंखा (फयान) हरू काँ गएछन् ?’ सागरको व्यंग्य ।


अनमोल चौथो स्थानमा देखा परे । महँगा गाडी चढ्ने नेपाली सेलेब्रिटीबारेको भिडियोमा अनमोल, प्रदीप, दयाहाङ राई, कोमल वली, दीपकराज गिरी, प्रियंका कार्कीलगायत सेलेब्रिटी समेटिएका थिए । भिडियोमा दयाहाङलाई बाइक चलाउन नआउने भनिएको प्रसंगमा धेरैले आश्चर्य प्रकट गरेका छन् । विकेश शाहीले चाहिँ जसलाई गाडी चलाउनै आउँदैन उसकै फोटो किन अगाडि राखेको भनी प्रश्न गरेका छन् । उनले अनमोललाई इंगित गरेका हुन् ।


अमेरिकी गायिका टेलर स्विफ्टको गीत ‘एन्ड गेम...’ मन पराउने नेपालीहरू पनि प्रशस्तै रहेछन् । युटयुब नेपाल ट्रेन्डिङको पाँचौं नम्बरमा देखियो यो । गीतमा टेलरलाई एड सिरन र र्‍यापर फयुचरले साथ दिएका छन् । यो उनको पछिल्लो एल्बम ‘रेप्युटेसन’ मा समावेश छ ।


युटयुब ट्रेन्डिङमा बिहीबार दिउँसोसम्मका टप फाइभ

१. इज इट लभ...

२. काठमाडौंमा भेटिए सुनले भरिएको मान्छे

३. भद्रगोल भाग १५४

४. महँगा गाडी चढ्ने

५. एन्ड गेम...


प्रकाशित : माघ ५, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?