२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सिमानामा ‘जंगी निशान हाम्रो...’

माधव ढुंगाना

भैरहवा — केही दिनदेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुले निम्त्याएको कठयांग्रिने चिसोले संसाँझै घरभित्र पस्ने गरेका भैरहवाबासीमा बिहीबार साँझ कुनै असर देखिएन । सिमसिमे पानीको झल्को दिने शीतलहरले अन्य दिनको तुलनामा बढेको चिसोलाई स्थानीयले दर्‍है चुनौती दिए । सिउसिउ पार्ने चिसोमा पसिना पसिना भए । 

सिमानामा ‘जंगी निशान हाम्रो...’

स्थापनाको २५ वर्ष मनाउँदै यात्रामा निस्केको सांगीतिक टोली नेपथ्य ब्यान्डको तेस्रो प्रस्तुतिका लागि बिहीबार साँझ पक्लिहवा माविको परिसर भरिएको थियो । कालो लेदर ज्याकेट, जिन्स पाइन्ट र रातो मफलरमा ठाँटिँदै र लामो चुल्ठो हल्लाउँदै नेपथ्यका मुख्य गायक अमृत गुरुङ साँझ ६ बजे देखा परे, खुला आकाशमुनि जम्मा भएका आफ्ना हजारौं दर्शकसामु स्टेजमा । दर्शक पनि के कम † ताली बजाएर नेपथ्यलाई भैरहवामा स्वागत छ भन्ने संकेत गर्दै गुरुङको स्वरमा झुम्न थालिहाले । सायद बुद्ध जन्मस्थल लुम्बिनी र

द्रूतगतिमा फेरिँदो भैरहवालाई देखेर होला, उनले भैरहवाको प्रशंसा दोहोर्‍याइरहे ।

‘म सानोमा आउँदाको भैरहवा र बाल्यकालका महत्त्वपूर्ण क्षण बिताएको यो सहरले धेरै प्रगति गरेछ,’ सहरको रमाइलोमा मात्र नभुल्न आग्रह गर्दै उनले दर्शकलाई भने, ‘आफ्नो पहाड घर पनि जानुस् । त्यहाँ पनि नेपाल छ ।’

ब्यान्डले स्टेजमा सबैभन्दा पहिले नयाँ गीत ‘कुरूप अनुहार हो’ बाट प्रस्तुति गरेको थियो । आकाशबाट फुसफुस परिरहेको शीत र बाक्लो हुस्सुमा स्टेजका चहकिला बत्तीले रंगीन वातावरणको फाइदा उठाउँदै अमृतले जब ‘आकाशबाट के उडिआयो भेडाको ऊनजस्तो’ बोलको गीत गाउन सुरु गरे, मैदानमा तन्नेरी, अधवैंसे सबै उफ्रिन थाले ।

एकपछि अर्को गर्दै उनले ‘छेक्यो छेक्यो, देउराली डाँडा’, ‘शिरफूल शिरैमा, वनफूल वनैमा’, ‘आजभोलि के भयो’, ‘खान्नँ म त लामपाते सुरती’, ‘चरी मर्‍यो सिसैको गोलीले’, ‘जोमसोमै बजारमा’, ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’, ‘हिमाल चुचुरे’, ‘गाँउगाँउबाट उठ बस्ती बस्तीबाट उठ’, ‘तालको पानी’, ‘मै नाँचेँ छमछमी’ लगायत गाएर दर्शकलाई उत्साहित बनाइरहे । बीच बीचमा मादलको विभिन्न ताल बजाएर शान्ति रायमाझीले दर्शक लठयाएका थिए ।

दर्शकदीर्घामा रहेका सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य तथा भैरहवाका व्यवसायी विजय पाण्डेले १५ वर्षपछि आफू यसरी गीत र नृत्यमा झुमेको बताए ।

‘नेपथ्यको गीतमा मौलिक नेपालीपन र राष्ट्रियता पाउँछु,’ उनको कथन थियो ।

विभिन्न जातजाति र समुदायको मिश्रित बसोबास रहेको भैरहवाबासीलाई आपसमा मिलेर बस्न र एकअर्को समुदायप्रति सम्मान गर्न उनले आग्रह गरे । ‘तराई, पहाड, हिमालमा बसोबास गर्ने सबै हामी नेपाली,’ आपसी सद्भाव कायम गर्दै सामाजिक एकता दह्रो बनाउन आग्रह गर्दै उनले भने, ‘सबैभन्दा पहिला हामी नेपाली, नेपाली एक भएमा कसैले फुटाउन सक्दैन ।’ खुला चौरमा नाचिरहेका पहाडी, मधेसी दर्शकलाई लक्षित गर्दै उनले अर्को गीत गाए– ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली ।’

हुन पनि दुई वर्षअघिको मधेस आन्दोलनका बेला वर्षौंदेखि आपसमा मिलेर बसेको यहाँको जातीय सद्भाव खल्बलिएको थियो । मधेस आन्दोलनकै सन्दर्भमा झन्डै एक दर्जनले ज्यान गुमाएका थिए । दर्जनौं घरमा तोडफोड र सवारीसाधनमा आगजनी भएको थियो । एकअर्को समुदायप्रति अविश्वास र द्वेष फैलिएको थियो ।

गायक गुरुङले पछिल्लो समयमा युवा पुस्तामा देखा परेको लागुपदार्थको दुव्र्यसनविरुद्ध सचेतना छर्ने पनि काम गरे । लागुपदार्थ त्याग्नका लागि पनि उनले आग्रह गरे । उनले नेपालमा स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसी, विद्युत् प्राधिकरणका कुलमान घिसिङको प्रशंसा गर्दै उनीहरूको अभियानमा साथ दिन भैरहवाबासीलाई पनि आग्रह गरे । नेपालको समसामयिक राजनीतिका बारेमा पनि उनले बोल्न भ्याए । हालै सम्पन्न निर्वाचनमा जनताले दिएको जनमतको कदर गर्न आग्रह गर्दै उनले चुनावमा जितेकालाई नमात्तिन र पराजित हुनेलाई नआत्तिन आग्रह गरे ।

‘नेताहरू मिलेर राम्रो काम गर जनताले धेरै दु:ख पायौं,’ उनले भने, ‘नत्र अर्को चुनावमा भोट दिने हामी जनताले पुनर्विचार गर्नुपर्ला ।’

घण्टौंसम्म सँगै गाएर र नाच्दा पसिनै पसिना भएका दर्शकबाट ‘रेशम’ गीतको फर्माइस भइरहेको थियो । त्यो फर्माइस पूरा गरेपछि उनले नेपाल–भारत दसगजा सिमाना नजिकै रहेको यस मैदानमा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत गाएर कार्यक्रमको बिट मारे ।

प्रकाशित : माघ ६, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?