२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘फिर्के’ कलाकारले खेले फुटबल

आश गुरुङ

दुबारगाउँ (लमजुङ) — ‘फिर्के’ फिल्मको प्रवद्र्धनात्मक यात्रामा निस्केका कलाकार र फिल्मकर्मीले शनिबार दोर्दी गाउँपालिका–८ दुबारगाउँको मैदानमा फुटबल खेलेका छन् । 

‘फिर्के’ कलाकारले खेले फुटबल

पारेदेवी युवा क्लबको आयोजना गरेको आठौं पारेदेवी कप फुटबल प्रतियोगितामा ‘फिर्के’ को टिसर्टमा कलाकार सुलेमान शंकर (इकु), सलोन बस्नेत, आमेष भण्डारी, आमस कार्की, रवि डंगोल, उत्तम केसी, जयकिसन बस्नेत, करिष्मा श्रेष्ठ, एलिसा रायमाझी, उमा कार्की, हास्य कलाकार गणेश राई, जीवन राईलगायतले फुटबल खेलेका हुन् । निर्देशक सोभित बस्नेतले खेल अवधिभर उद्घोषण गरेका थिए ।

चलचित्र निर्माता एवं पारेदेवी युवा क्लबका अध्यक्ष ओमलाल गुरुङले ‘फिर्के’ का कलाकारलाई गाउँमा निम्त्याएर खेलाइएको बताए । उनले यसअघि निर्माण गरेको फिल्म ‘लक्ष्य’ को प्रचारका लागि पनि दुई वर्षअघि कलाकार ल्याएर फुटबल नै खेलाएका थिए । दुबारस्थित इलेभेन ए साइडको उक्त खेल मैदान गुरुङको एकल लगानीमा आठ वर्षअघि निर्माण गरिएको थियो ।

दुइ वर्षअघि उक्त मैदानमा फुटबल खेलेका सुलेमानले यसपटक पनि खेल्न पाए । फिल्म प्रचारको यो शैली रमाइलो रहेको उनले बताए । ‘फिर्केलाई कतार, दुबई, ओमन, बहराइन साथै युरोप, अस्ट्रेलियालगायत देशमा लाने हाम्रो तयारी छ,’ उनले भने, ‘हामी यसको प्रचारप्रसारमा छौं । प्रचारकै क्रममा आएर फुटबल खेलेका हौं ।’ करिब ३० मिनेट समयको फुटबल खेलमा आयोजकले ४ गोल र कलाकारको तर्फबाट सलोन बस्नेत र आमेष भण्डारीले २/२ गोल गरी बराबरीमा खेल टुंग्याए । निवर्तमान सांसद जमिन्द्रमान घलेले खेलकुदमा पनि फुटबल सबैका लागि सहज खेल भएको बताए ।

‘एउटा गाउँको कुनामा आएर कलाकारले फुटबल खेल्नु आफैंमा गर्वको कुरा हो,’ उनले भने, ‘जिल्लाको खेलकुद, पर्यटन, प्रचारप्रसारमा यसले सहयोग पुग्नेछ ।’

प्रकाशित : माघ ७, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?