कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहिचान जोगाउने पक्षमा

दीपक परियार

लेखनाथ — काठमाडौंकी १९ वर्षीया सुष्मिता गोलेले फेसबुकमा ‘मिस तामाङ २०१८’ को सूचना देखिन् । उनले फेसबुकबाटै आवेदन दिइन् । छनोट भएर पोखरा आइन् । मंसिर ११ देखि उनी बन्द प्रशिक्षणमा छिन् । प्रशिक्षणमा आएपछि उनलाई लाग्यो यो सौन्दर्य प्रतियोगिता मात्रै होइन रहेछ । आत्मविश्वास, नेतृत्व विकास र बोल्ने क्षमतामा आएको परिवर्तन देखेर उनी दंग छिन् । ‘यहाँबाट हारेर जान्न,’ उनी भन्छिन्, ‘कि त सिक्छु, कि जित्छु ।’

पहिचान जोगाउने पक्षमा

बैदाम तामाङ समाजले गरेको तेस्रो मिस तामाङमा उनीसँगै देशभरका १५ प्रतिस्पर्धी छन् । पोखरा लालीगुराँस टोलकी १८ वर्षीया पनिता घिसिङलाई पोहोरै सहभागी हुने मन थियो । आफ्नै इच्छाले उनी यस वर्ष सहभागी भइन् । पोखरामा हप्तैपिच्छे हुने सौन्दर्य प्रतियोगिता उनले नियाल्न भ्याएकी छिन् । मिस तामाङमा सहभागी भएपछि सौन्दर्य प्रतियोगितालाई हेर्ने उनको दृष्टिकोण बदलियो । ‘अरू प्रतियोगितामा व्यक्तित्वको मात्रै मूल्यांकन हुन्छ,’ उनी भन्छिन्, ‘यहाँ आफ्नो जाति, भाषा, कला, संस्कृति, इतिहास र पुर्खालाई बुझ्न पाइन्छ ।’ यसअघि उनलाई तामाङ समुदायको गीत सेलो र म्हेन्दो माया मात्रै हो जस्तो लाग्थ्यों । बन्द प्रशिक्षणमा बसेपछि भने ‘फापरी’ गीत पनि रहेछ भन्ने उनले थाहा पाइन् । आफूले सिकेका कुरा उनी अरुलाई पनि सिकाउन चाहन्छिन् ।


लेकसाइडकी १७ वर्षीया इशिका तामाङलाई आफ्नो जातिमा महिलालाई शीर्ष स्थानमा राखिन्छ भन्ने थाहै थिएन । विवाहपश्चात तामाङ जातिका महिलाले थर परिवर्तन गर्नुपर्दैन भन्ने पनि उनलाई ज्ञान थिएन । यी सबै कुरा उनले मिस तामाङमा सहभागी भएपछि थाहा पाइन् । ‘विवाह गरेर गएकी तामाङ महिला विधवा भएर माइत फर्के पनि कन्याकै रूपमा लिइँदो रहेछ,’ उनले भनिन्, ‘यो कुरा यही आएपछि थाहा भयो ।’ अहिलेको पुस्ताले आफ्नो संस्कृति बुझे मात्रै आउने पुस्ताले बुझ्ने उनी बताउँछिन् । अहिलेको पुस्ताले भाषणबाट आफ्नो संस्कार, संस्कृति र रीतिरिवाज बुझ्न नखोज्ने उनको बुझाइ छ ।


‘मनोरञ्जनात्मक तरिकाले गरिने यस्ता प्रतियोगिता नयाँ पुस्तालाई जातीय पहिचान सिकाउन प्रभावकारी हुन्छ,’ उनी भन्छिन्, ‘आफ्नो सीप र क्षमता पनि बाहिर ल्याउने मौका मिल्छ ।’ त्यसो त उनलाई मेकअप आर्टिस्ट बन्ने मन छ । चर्चित मेकअप आर्टिस्ट प्रमिशा तामाङलाई उनी आफ्नो रोलमोडल मान्छिन् ।

पोखरा नयाँबजारकी ओमिशा तामाङ र्‍याम्पमा हिड्नु, क्राउन लगाउनु मात्रै सौन्दर्य प्रतियोगिता नभएको बताउँछिन् । बाहिर बसेर सौन्दर्य प्रतियोगिताको विरोध गर्नु र प्रतिस्पर्धीको रूपमा सहभागी हुनु नितान्त फरक विषय भएको उनको धारणा छ । सबैसँग आफ्नै विशेषता हुने भएकोले सुन्दरतालाई मात्रै मूल्यांकनका आधार बनाउन नहुने उनी तर्क गर्छिन् । काठमाडौंकी मोनिका तामाङले आफ्नो भाषा बुझे पनि उनलाई बोल्न आउने थिएन । बन्द प्रशिक्षणमा बसेपछि उनको भाषामा केही सुधार भयो । प्रतियोगिता सकिएपछि विभिन्न सांस्कृतिक कार्यक्रम, जनचेतना– मूलक कार्यक्रममार्फत भाषा, संस्कृतिको प्रवद्र्धनमा लाग्ने उनको योजना छ ।


लेकसाइडकी १९ वर्षीया अनीता लामा स्नातक तह पहिलो वर्षकी विद्यार्थी हुन् । सफल व्यवसायी बन्ने उनको लक्ष्य हो । आत्मविश्वास बढाउने उपायको रुपमा उनले प्रतियोगितालाई लिएकी छन् । प्रशिक्षणकै क्रमका कास्कीको तामाङ गाउँ खैमराङमा पुगेपछि उनी अचम्मित भइन् । तामाङ समुदायमा महिलालाई दिइएको सम्मान र एकता देखेर उनी दंग परिन् । ‘संस्कृति भयो भने पहिचान हुन्छ,’ उनी भन्छिन्, ‘पहिचान भयो भने गर्व महसुस हुन्छ ।’ प्रतियोगितामा जित हार जेसुकै भएपछि पहिचान जोगाउन आफ्नो ठाउँबाट लागिपर्ने उनको सोच छ ।


प्रतियोगिता संयोजक जयन्ती मोक्तानले प्रतियोगीलाई संस्कृति, भाषा, धर्म र रीतिरिवाज सिकाउनै बढी जोड गरेको बताइन् । ‘अहिलेको पुस्तालाई आफ्नो संस्कृति जान्न पाउने अधिकार छ,’ उनले भनिन्, ‘तामाङ संस्कृतिको ज्ञान हुनैपर्छ ।’ उनले शारीरिक सुन्दरतालाई मात्रै मूल्यांकनको आधार नबनाई प्रतिभामा मुख्य फोकस गरेको सुनाइन् ।


आयोजक बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले जित हार छुटयाउनुपर्ने बाध्यता भएर टाइटल दिनुपरेको बताउँछन् । ‘यहाँबाट सबैले उत्तिकै सिकरे जान्छन्,’ उनी भन्छन्, ‘संस्कृति, संस्कार, धर्म र जीवनोपयोगी शिक्षा सबैलाई बराबर सिकाइन्छ ।’ पछिल्लो क्रममा आफ्नो भाषा संस्कृति आफ्नो छोराछोरीलाई पनि सिकाउनुपर्छ भन्नेमा अभिभावकहरू सचेत भएको उनको अनुभव छ । विगत ३०–३५ वर्षको बीचमा आफ्नो भाषा त परै जाओस् नेपाली भाषा समेत राम्रोसँग सिकाउन नसकेकोमा उनी चिन्तित छन् । ‘सकेसम्म अंग्रेजी मात्रै सिकाउने ध्याउन्नमा लागियो,’ उनी भन्छन्, ‘आफ्नो भाषाको महत्व धेरै रहेछ ।’ महिला सक्षम भए परिवार, समुदाय र देशनै सक्षम हुने उनको बुझाइ छ ।


६ वर्षअघि स्थापित बैदाम तामाङ समाजले सोनाम ल्होसारको अवसरमा मिस तामाङ आयोजना गर्दै आएको छ । यस वर्ष माघ ६ मा पोखरामा विविध सांस्कृतिक कार्यक्रम सहित प्रतियोगिताको तेस्रो संस्करण हुँदै छ ।

प्रकाशित : माघ ७, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?