‘स्टेजमा उभिएपछि अनौठो जादू महसुस हुन्छ’

चितवन — गायक अमृत गुरुङ स्थापनाकालदेखि नेपथ्य ब्यान्डमा सक्रिय छन् । उमेरले पाँच दशक टेकेका उनी अहिले पनि युवा जोशले गीत गाउँछन् । २८ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनी सुरुमा भोकलिस्ट थिएनन, गीत लेख्ने, बजाउने र ब्याकिङ भोकल दिन्थे ।

‘स्टेजमा उभिएपछि अनौठो जादू महसुस हुन्छ’

पहिलो एल्बम ‘नेपथ्य’ बाट उनले गाउन थाले । सुरुमा साथीहरूले गाउन नसेका, छोडेको र रहलपहल गीत गाउँथे । पछि ‘लोक रक’ गाउने गायकका रूपमा चिनिए । अहिले उनको नेपथ्य ब्यान्ड २५ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९० मा दीपक राना, भीम पुन र अमृतसहित ३ जना मिलेर ब्यान्ड गठन गरेका थिए । सन् १९९१, अप्रिल १ मा पहिलो एल्बम ‘नेपथ्य’ दर्शक श्रोतामाझ ल्याए । अहिलेसम्म ब्यान्डमा २१ जना मेम्बर आए/गए । २५ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा दर्शकसँग खुसी साट्न नेपथ्य हालै मुलुकका तीन सहरमा निस्कियो । झापाको दमक, चितवनको नारायणगढ र रूपन्देहीको भैरहवामा पुगेर सांगीतिक कार्यक्रम गर्दै अमृतले दर्शकलाई छमछमी नचाए ।


नेपथ्य २५ औं वर्षमा प्रवेश गरेको छ, कस्तो महसुस भइरहेको छ ?

ख्यालख्यालमै जिन्दगी बितेछ । म अर्को २५ वर्ष बूढो भएछु । यति लामो यात्रा हुन्छ भन्ने सोचेकै थिइनँ । सन्् ९० को दशकमा हामीले नेपथ्य ब्यान्ड गठन गरेर जुन सांगीतिक यात्रा सुरु गर्‍यौं । त्यो बेला पनि हामीले निरन्तर रूपमा गर्ने भनेर गरेका थिएनौं । लहैलहैमा साथीभाइ मिलेर रमाइलोका लागि गठन गरेका थियौं । त्यो बेला हामी फुर्सदिला थियौं । त्यसैले हामीले सुरुसुरुमा केही गरेनौं । सन्् १९९५ बाट मात्र सुरु गर्‍यौं । समूह स्थापना भएको ५ वर्षपछि कीर्तिपुरमा कार्यक्रम गरेका थियौं । साथीहरू नेपथ्यमा धेरै आउनुभयो । जानुभयो । निरन्तरता दिने त्यस्तो केही उद्देश्य पनि थिएन । सन्् २००२ पछि संगीततर्फ बढी जागरुक भयौं ।


२५ वर्षमा नेपथ्यले के–के गर्‍यो ?

यो दौरानमा ९ वटा एल्बम निकालियो । सुरुको वर्षहरूमा त्यस्तो खासै काम नगरे पनि थाहा नहुने किसिमले सामाजिक कामहरू गर्‍यौँ । माओवादी द्वन्द्व जब सुरु भयो । हाम्रो ब्यान्ड पनि तितरबितर भयो । सन् २००० पछि भने धेरै काम गर्‍यौँ । सुन्दर, शान्त नेपाल, शान्तिका लागि शिक्षा अभियान विद्यालय, विद्यार्थी र गुरुबागुरुआमाका लागि चलायौँ । द्वन्द्वको बेलामा कति गुरुहरूको हात काटिएको थियो, कति गुरुआमा विस्थापित भएका थिए । मान्छे मार्‍यो र मरे भन्ने खबर मात्र सुनिन्थ्यो । त्यो बेलामा सांकेतिक रूपमा तलाउमा एउटा सानो ढुंगा हान्दा जुन तरंग आउँछ, नेपथ्यले शान्तिका लागि शिक्षा, सुन्दर शान्त नेपाल कार्यक्रममार्फत अनुरोध गरेको थियो । हामीलाई हाम्रै देशमा विस्थापित नगरिदेऊ भनेर आवाज उठाएका थियौं ।


स्टेज उक्लेपछि तपार्इंको जोस नै फरक हुन्छ, कसरी होला ?

जब मञ्चमा पुग्छु । साउन्ड अन हुन्छ । लाइट बल्छ । दर्शक श्रोताबीचको आत्मीयता गाढा हुन्छ । त्यो देखेर शरीरमा अनौठो खालको जादू आउँछ । अरू पनि रमाएको हेर्न मन लाग्छ । मज्जा आउँछ ।


सांगीतिक क्षेत्रमा लागेर के पाउनुभयो र के गुमाउनुभयो ?

सांगीतिक क्षेत्रबाट मैले जिन्दगीमा धेरै पाएँ । मैले केही गुमाए जस्तो लाग्दैन । जिन्दगी हो । राम्रो र नराम्रो पाटा दुवै हुन्छन् ।


नेपथ्यको गीतसंगीत राम्रो तर शब्द बुझ्नै गाह्रो हुन्छ भन्छन्, किन होला ?

हामीले रचना गरेको शब्द कठिन नै हुन्छ । कति कविताहरू पनि हामीले गाएका छौं । कति कुराहरूचाहिँ सम्बन्धित ठाउँहरूबाट संकलन गरेर लिएर आएका छौं । ती कुराहरू बुझ्नलाई गाह्रो नै हुन्छ । तर त्यसको विशेष अर्थ हुन्छ । बिनाअर्थको शब्द हुँदैन । जस्तै हामीले ‘सा कर्णाली...’ गीत गायौं । यो सुदूरपश्चिम पहाडको गीत थियो ।


विश्वका विभिन्न देशमा गएर आफ्नो प्रस्तुति दिइसक्नुभएको छ, लन्डनको वेम्ली स्टडियममा पुगेर गीत गाउँदा कस्तो अनुभूति गर्नुभयो ?

जिन्दगीमा सोच्दै नसोचेको, कताकता परिकल्पनाभित्र भएको एउटा सपना साकार भएजस्तो लाग्यो । मलाई लाग्छ, नेपाली संगीतका लागि एउटा अन्तर्राष्ट्रियस्तरमा एउटा ढोका खुल्यो । त्यो ढोकालाई अब अरूले निरन्तरता दिनुपर्छ । अरू सांगीतिक समूहले अब त्यस्ता ढोका खेल्दै जानुपर्छ ।


एउटा गायकको रूपमा नेपाललाई राम्रो बनाउन के गर्नुपर्लाजस्तो लाग्छ ?

हाम्रो देश सुन्दर छ । प्रकृतिले दिएको हिमाल, पहाड र तराई छन् । रंगीबिरंगी मान्छे छन् । विभिन्न जाजाति भाषाभाषीका समुदाय छौं । हामी गरिब कुनै पनि हालतमा छैनौं । मेरो एउटै अनुरोध छ– हाम्रो मान्छेलाई होइन, अब राम्रो मान्छेलाई चुनौं । एउटा वाद, पार्टीमा सम्बन्धित भएर हाम्रो मान्छेलाई रोज्ने होइन । सबैजनाले सबै क्षेत्रमा सशक्त रूपमा राम्रो र काम गर्न सक्ने गज्जब मान्छेलाई रोज्नुपर्छ ।


पछिल्लो सयम नेपाली सांगीतिक क्षेत्रमा किन उतारचढावहरू आइरहेका छन् ?

यो संसार नै अचम्मको छ । जिन्दगी रहिन्जेलसम्म हाम्रा वरिपरिका मान्छे रहन्छन् । सिर्जनाहरू पनि त्यहीं हुन्छन् । जहिले पनि पुरानालाई नयाँले विस्थापित गर्ने हो । फेरि त्यो नयाँलाई अर्कोले विस्थापित गर्छ । यो चलिरहने क्रम हो । जुन आजभन्दा १ सय वर्षअघि गज्जब लागेको थियो, त्यो आज गज्जब नलाग्न सक्छ । तर त्यो बेजोड शब्द, बेजोड संंगीत र बेजोड शब्द संगीत संयोजन र गायकी रैछ भने त्यो अहिले मात्र होइन । अबको २ सय वर्षपछि पनि बेजोड नै रहने छ ।


तपाईंको सांगीतिक क्षेत्रलाई सुझाव के छ ?

सांगीतिक क्षेत्रमा आउनेले पहिला संगीत गर्छु भनेर आउनुस् । पैसाको मुख हेरेर नआउनुस् । दु:ख छ । म व्यवसाय पनि गर्ने हो, संगीत पनि गर्ने हो भन्ने विचार छ भने सिकेर आउनुस् । संगीत विद्या जानेको मान्छेलाई संसारभर काम पाउन गाह्रो छैन । ऊ बाँच्न सक्छ । संगीत एउटा विज्ञान हो । शिक्षा ग्रहण गरेर आउनुस् । यसरी आए बाटो खुला छ । यो क्षेत्रमा लिनलाई होइन, दिनलाई आउने हो । गीत गाउन स्वर मात्र भएर हुँदैन, भावना चाहिन्छ । मिठो स्वरसँग मिठो भावना पनि हुनुपर्छ । त्यसपछि त्यो संगीत बन्छ ।

-प्रस्तुति : विमल खतिवडा

प्रकाशित : माघ ७, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?