कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तारादेवीको सम्झना

बाह्रौँ स्मृति दिवस
सजना बराल

काठमाडौँ — स्वरकिन्नरीका रूपमा चिनिने तारादेवी बितेको बाह्र वर्ष भइसक्यो । यतिन्जेल उनको सम्झनामा कुनै पनि उल्लेख्य कार्यक्रम भएनन् । प्रशस्त कालजयी गीत दिएकी उनलाई उल्टै अनेक आपेक्ष लगाइयो । कतिले राजावादी भने, रेडियो नेपालको जागिरबाट निकालियो, जीवनको उत्तराद्र्धमा दु:ख झेल्दासमेत वास्ता गरिएन । 

तारादेवीको सम्झना

राजधानीमा मंगलबार ‘सम्झनामा तारादेवी’ समारोहमा स्रष्टाहरूले गायिकाको सही मूल्यांकन र उनको योगदानको कदर हुनुपर्ने बताए । कतिले उनीसँगका सम्झना साझा गरे । आस्था कला केन्द्रका कलाकारले ‘फूलको थुँगा...’ गीतमा तारादेवीको जीवन मन छुने किसिमले देखाए । यो सबै हेरेपछि तारादेवीकी छोरी चारु श्रेष्ठ निकै भावुक बनिन् । त्यहीबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तारादेवीप्रति सम्मान प्रकट गरे । आयोजक तारादेवी स्मृति प्रतिष्ठानलाई अक्षय कोषका लागि १० लाख रुपैयाँ दिने घोषणासमेत गरे ।

चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा एक दर्जन गायकगायिकाले तारादेवीका गीत गाउँदै उनको याद ताजा बनाइदिए । सांगीतिक प्रस्तुतिको शुभारम्भ ‘शुभकामनाभरि...’ गीतमार्फत भयो । त्यसपछि संगीता राना प्रधान, श्रेयशी चेम्जोङ, सरिता शाही, अनामिका सिंह/मदन मगर, मेघा कार्की, निकिता घिमिरे, सरला बीसी, निराशोवरी/सुजन, शर्मिला थापा, प्रथा धमला र गीता पाण्डेले तारादेवीका गीत गाए । उनीहरूले ‘फूलको थुँगा...’, ‘उकाली ओरालीहरूमा...’, ‘फूलैफूलको मौसम...’, ‘लुकूँलुकूँ लाग्यो...’, ‘तिम्लाई हाँसेर बिदा...’, ‘ए कान्छा ठट्टैमा...’ लगायत सुनाए । वरिष्ठ गायिका ज्ञानु राणाले ‘साँघुरीवारि...’ गाइन् ।

प्रतिष्ठान अध्यक्ष दीपक केसीले स्रष्टा र कलाकारको सम्मान नगरीकन देश र देशवासीको सम्मान नहुने बताए । ‘स्वरसम्राट् नारायणगोपाललाई राष्ट्रिय सम्मान दिलाउन हामीले नै पहल गरेका थियौं,’ उनले भने, ‘तारादेवीको महत्त्व राष्ट्रलाई बुझाउन पनि हामी नै लागिपरेका छौं, आज नभए भोलि अवश्य सफल हुनेछौँ ।’

समारोहमा तारादेवीबारे विभिन्न स्रष्टा र संगीतकर्मी लगायतका धारणा समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो । त्यसमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए, ‘मेरा गीत गाउने गायिकाहरूमध्ये म सर्वप्रथम तारादेवीको नाम सम्झन्छु । उनले जेजति गाइन्, सबै आत्माले गाइन् ।’

२०२२ मा तारादेवी र शिवबहादुर श्रेष्ठको विवाहमा समेत सरिक भएका गीतकार यादव खरेलले चाहिँ तारादेवीलाई ‘सरस्वतीकी छोरी’ भन्न रुचाए । उनले आफूहरू रेडियो नेपालमा सँगै काम गरेको बताए । ‘तारादेवीले गाएजस्ता लामो आयु भएका गीत अरू नेपाली गायिकाबाट आएको छैन,’ उनले भने, ‘उहाँका सिर्जनाहरू दोस्रो, तेस्रो पुस्ताले पनि स्वीकार गरेका छन्, हराएर गएका छैनन् । तर, जीवनको अन्तिम पलमा उहाँले धेरै दु:ख पाउनुभयो । बोल्न नसक्ने हुनुभयो, ह्विलचेयरमा हिँड्नुपर्ने भयो ।’

समारोहमा वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ चलचित्रकर्मीहरू चैत्यदेवी, भुवन चन्द र वसुन्धरा भुसाल, प्रतिनिधिसभा सदस्य तथा प्रतिष्ठानका सल्लाहकार रामवीर मानन्धर र महासचिव शोभन सैंजूलगायतको उपस्थिति थियो ।




म संगीत सिर्जना गर्थेँ । तर, त्यसमा कसैले स्वर भरेका थिएनन् । तारा दिदीलाई यो कुरा सुनाएँ । एक–दुइटा कम्पोजिसन सुनेपछि उहाँ गाउन तयार हुनुभयो । त्यसरी नै बनेका हुन्, ‘फूलैफूलको मौसम तिमीलाई...’, ‘निर्दोष मेरो पछयौरीमा...’ जस्ता गीत । तसर्थ, म सधैँ भन्छु– तारादेवीले नै मलाई संगीतकार बनाइदिनुभएको हो । उहाँ मिलनसार, अल्पभाषी र सहयोगी हुनुहुन्थ्यो । शब्द प्रस्ट सुनियोस् भन्नेमा असाध्यै हेक्का राख्नुहुन्थ्यो । म जस्तो नयाँ म्युजिसियनसँग काम गर्न तयार हुनु उहाँको महानता थियो । -शुभबहादुर सुनाम, वरिष्ठ संगीतकार


मैले सन् १९८० तिर उहाँलाई कलकत्तामा भेटेकी थिएँ । उहाँ गुरु गोपाल श्रेष्ठकहाँ आउनुभएको थियो, म पनि गोपाल गुरुसँगै संगीत सिक्दै थिएँ । त्यो बेला उहाँले छ तारको तानपुरा किन्नुभएको देख्दा म प्रभावित भएकी थिएँ । दिदीलाई शास्त्रीय संगीतमा कस्तो सोख रहेछ भन्ने त्यसबाट बुझिन्थ्यो । पछि एकैचोटि रेडियो नेपालमा भेटेँ । एउटा कार्यक्रममा उहाँलाई रानी ऐश्वर्यसँग गफ गरिरहनुभएको पनि देखेकी थिएँ । मलाई ‘राम्रो गाउँछयौ’ भन्नुहुन्थ्यो, जसले मलाई पोजेटिभ इनर्जी दिन्थ्यो । -संगीता राना प्रधान, गायिका


कलाकार निष्ठा र स्वाभिमानले बाँचेको हुन्छ । यो कुरा तारा दिदीले पुष्टि गरिदिनुभएको छ । उहाँलाई राजावादी भनेको सुन्दा मलाई आश्चर्य हुन्छ । उहाँ त्यस्तो हुनुहुन्थ्यो भने रोगले थला पर्दा, हिँड्न/बोल्न नसक्दासमेत दरबारले कसरी थाहा पाएन ? म एउटा यस्तो कार्यक्रमकी साक्षी छु जहाँ दिदीले गाउन खोज्दा आवाज निस्किएको थिएन । त्यहाँ रानी ऐश्वर्य पनि हुनुहुन्थ्यो । उहाँले ‘तारादेवीलाई कसरी यस्तो भयो ? उपचारका लागि हामी सहयोग गर्छौं’ भन्नुभयो । उहाँ विशेष समुदाय र खानदानको नभई नेपालकी गायिका हुनुहुन्थ्यो । -लोचन भट्टराई, गायिका


नेपालकी प्रथम गायिका मेलवादेवीलाई मानिन्छिन् । तर, मेरो लागि चाहिँ तारादेवी पहिलो गायिका हुनुहुन्छ । मैले जिन्दगीमा पहिलो पटक उहाँलाई नै सुनेकी हुँ । उहाँका गीत यति धेरै सुन्थेँ, एकचोटि त भेट्छु नै भनेर रेडियो नेपाल पनि गएँ । उहाँको व्यक्तित्व देखेर सुरुमा त डराएँ । तर, साह्रै गम्भीर र भलाद्मी हुनुहुँदो रहेछ । त्यो बेला उहाँले ‘राम्रो गाउँदै जानू’ भन्नुभएको याद छ । मेरो लागि तारादेवी प्रेरणाको स्रोत हुनुहुन्थ्यो । उहाँको जत्रो उचाइमा अरू नेपाली गायिकाको स्वर पुग्नै सकेको छैन । -विमला राई, गायिका


म तारादेवीका गीत सुनेर हुर्किएकी हुँ । उहाँका गीत कति गाएँगाएँ, भनिसाद्दे छैन । तिनै गीत गाएर मैले करिअर सुरु गरेँ । उहाँले संगीतमा जुन स्थान बनाउनुभएको छ, त्यहाँ अरू कोही पुग्न सक्दैनन् जस्तो लाग्छ । जीवनमा त्यस्तो दु:ख, त्यस्तो वज्रपात आइलाग्दा पनि उहाँले आफ्नो कलालाई उच्च बनाउन सक्नुभएछ । हामीले उहाँको गायन र जीवनबाट धेरै कुरा सिक्न सक्छौं । उहाँका गीत कालजयी छन् । तर, तिनलाई सधैँ ताजा बनाउने काम हामीजस्तो पछिल्लो पुस्ताले गर्नुपर्छ । -श्रेयसी चेम्जोङ, गायिका

प्रकाशित : माघ १०, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?