जापानी फिल्म फेस्टिभल हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानी समाज, संस्कृति र जीवनशैली बुझन् चाहनेका लागि खुसीको खबर । जापानी दूतावास, जापान फाउन्डेसन र जापानिज टिचर्स एसोसिएसन नेपालले यही फेब्रुअरीमा पोखरा र काठमाडौंमा जापानी फिल्म फेस्टिभल गर्दै छन् । 

पोखराको चेम्बर अफ कमर्स भवनमा फेब्रुअरी ९ र १० तथा र काठमाडौंकोआर्मी अफिसर्स क्लबमा फेब्रुअरी २३ र २४ तारिखमा फेस्टिभल हुने जापानी दूतावासले जनाएको छ ।

Yamaha

पोखराको फेस्टिभलमा ‘व्हेन द कर्टेन राइज’, ‘माई लभ स्टोरी’, ‘सेटो एन्ड सुमी’ र राउन्ड ट्रिप हार्ट’ जस्ता फिल्म देखाइनेछन् । काठमाडौंमा हुने फेस्टिभलमा ‘बलाड’, ‘द गार्डेन अफ वर्डस्’, ‘अ टेल अफ सामुराई कुकिङ : अ ट्रु लभ स्टोरी’, ‘ब्रेभ स्टोरी’ र ‘नेमशिवा’ प्रदर्शन हुने बताइएको छ । दुवै फेस्टिभलका लागि नि:शुल्क पास उपलब्ध हुने दूतावासले विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘सुन्दर पश्चिम’ अभियन्ता

मुलुकको पर्यटकीय र सांस्कृतिक चिनारीलाई बल पुर्‍याउने पश्चिम नेपालका अतुलनीय सम्पदाको उचित प्रबद्र्धन हुन सकेको छैन । - भरतबन्धु थापा, फोटो पत्रकार
प्रकाश अधिकारी

सुर्खेत — नेपाली भाषाको पहिलो अभिलेखका लागि चिनिन्छ दैलेख । विसं १०३८ मै लेखिएको दुल्लुस्थित दामु पालको अभिलेखदेखि राणा शासनको जग बसाल्ने जंगबहादुरका पिता बालनरसिंह कुँवरले जीर्णोद्धार गरेको मन्दिर यहीँ छन् ।

नेपाली आर्य समुदायका दुई दर्जनभन्दा बढी थरको उदगम थलोको चिनारी पनि यसले बोकेको छ । यीलगायत मध्यपश्चिमका ऐतिहासिक सम्पदाहरू तन्नेरी पुस्तामा खासै प्रवद्र्धन हुन नसकिरहेका बेला फोटो पत्रकार भरतबन्धु थापा यति बेला यिनलाई मल्टि मिडियामा उतार्दै छन् । यसअघि मध्यपश्चिममै केन्द्रित भई ‘वाइल्ड वेस्ट नेपाल : अ पिक्टोरियल जर्नी’ पुस्तक ल्याइसकेका यिनी यति बेला दैलेखसँगै प्रदेश नम्बर ५, ६ र ७ लाई समेटेर तस्बिर र भिडियो प्रदर्शनीको अभियानमा लागेका हुन् ।

‘मुलुकको पर्यटकीय र सांस्कृतिक चिनारीलाई बल पुर्‍याउने अतुलनीय सम्पदा पश्चिम नेपालमा छन्,’ हालै पश्चिम एक फन्को घुमेर फर्किने क्रममा सुर्खेतमा भेटिएका भरतबन्धुले भने, ‘विडम्बना मान्नुपर्छ, यी सम्पदाको उचित प्रवद्र्धन हुन सकेको छैन ।’

ब्याकप्याक, गगल्स अनि क्यामेरा । दैलेखको मन्घरका उनको धेरैजसो समय घुमफिरमै बित्छ । यो घुमफिरसँगै जोडिएको खास सपना छ, पश्चिम चिनाउने । यही सपनामा डोरिएर उनले आधा दशकदेखि पश्चिमकेन्द्रित फोटो प्रदर्शनी गर्दै आएका छन् । ‘समृद्ध मध्यपश्चिम’ थिममा उनले सुर्खेत, नेपालगन्ज, दैलेख र काठमाडौंमा एकल फोटो प्रदर्शनी गरिसकेका छन् भने नेपालभरकै सम्पदा र प्रकृति समेटेर भक्तपुरमा र सुदूरपश्चिम केन्द्रित रहेर धनगढीमा पनि एकल प्रदर्शनी गरिसकेका छन् ।

उनको ‘समृद्ध मध्यपश्चिम’ प्रदर्शनीले राम्रै काम पनि गर्‍यो । पश्चिम नेपालमै सबैभन्दा बढी पर्यटक आइपुग्ने थलो बर्दियाको पर्यटकीय नक्सा उनैले बनाएका हुन् । यो जिम्मेवारी उनले आफ्नो ‘समृद्ध मध्यपश्चिम’ प्रदर्शनीकै ख्यातिका कारण पाएका थिए ।

‘बर्दिया पर्यटकीय थलो बनेको दुई दशक हुँदा पनि पर्यटकीय नक्सा बन्न सकेको रहेनछ,’ उनले अनुभव सुनाए, ‘बेलायतका राजकुमार हयारी पनि काठमाडौंबाट बाघ हेर्न कहीँ नगई सिधै बर्दिया आएका थिए । यस्तो थलोमा पनि नक्सा नहुनु दु:खद कुरा थियो ।’ पश्चिम नेपालको कला–संस्कृति, मठमन्दिर, ताल–झरना, वन्यजन्तु, हिमाली जनजीवन, प्राकृतिक सुन्दरताबाट मुलुकको अर्थतन्त्रले ठूलो लाभ लिन सक्ने सम्भावना भए पनि आझेलमा परेको प्रति उनी गुनासिए ।

तैपनि उनले आफ्नो व्यक्तिगत प्रयास जारी नै राखेका छन् । ‘यस पटक फोटो प्रदर्शनीसँगै भिडियो प्रस्तुतिलाई पनि जोडेको छु,’ पश्चिमका तीनवटै प्रदेशकेन्द्रित रहेर हुन लागेको प्रदर्शनीबारे उनले भने, ‘यसले पक्कै पनि नयाँ पुस्तालाई आफ्नो रुटतिर फर्काउन र पश्चिमको पयर्टकीय एवं सांस्कृतिक सम्पदा सम्वद्र्धनमा योगदान दिनेछ ।’

यसबाहेक उनी दैलेख केन्द्रित रहेर फोटो पुस्तक पनि तयार पारिरहेका छन् । पुस्तकको मूल विषय दैलेखको इतिहास, प्रकृति र संस्कृति रहेको उनले जनाए । यसअघि छापिएको ‘वाइल्ड वेस्ट नेपाल : अ पिक्टोरियल जर्नी’ मा भने खप्तड, रारा, जुम्ला, अपि हिमाल, बर्दियाका कलासंस्कृतिसँगै पर्यटकीय पक्ष झल्कने फोटाहरू समेटेका थिए ।

कुराकानी क्रममा उनले घुमफिर अविस्मरणीय अनुभव पनि सुनाए । ‘बडीमालिका खप्तड यात्रामा १६ घण्टा हिँडेर पनि दुई घुटकी पानीको भरमा सुत्यौं । बाटो भुलेर हैरान त्यस्तै,’ उनले भने, ‘हामीजस्तै थुपै्र पर्यटकले दु:ख पाइरहेका छन् । नक्सा छैन, होडिङ बोर्ड छैन ।’ गत वर्ष सिमकोटबाट पाँच दिन हिँडेर उनी हुम्लाको लिमी भ्याली पुगे । त्यहाँ उनले हजार वर्षभन्दा पुराना गुम्बाहरू भेट्टाए । तिब्बतसँग जोडिएको त्यहाँको मौलिक जनजीवन बाँकी दुनियाँका लागि रोचक थियो । क्यामेरामा कैद गरे । त्यसपछि ५४ सय मिटर उचाइमा पुगेर यार्सागुम्बा टिप्न जानेहरूको फोटो स्टोरी बनाए । तिनै फोटाका कारण उनले यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार’पनि पाए ।

‘यसअघि यार्साबारे तल्लो भेकका मात्रै तस्बिरहरू आउँथे,’ उनले भने, ‘त्यति उचाइमा पुग्ने हिम्मत गरेर खिचिएको यार्सा फोटो अरूसितसायद छैन ।’

प्रकाशित : माघ १७, २०७४ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT