कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘दोस्रो सातादेखि नाफामा’

‘कृ’ को ओपनिङ हामीले अनुमान गरेजस्तो चाहिँ भएन । -सुवास गिरी, निर्माता
कान्तिपुर संवाददाता

काठमाडौँ — साताअघि रिलिज भएको ‘कृ’ ले ६ दिने बिजनेस कलेक्सन सार्वजनिक गरेको छ । ‘करिब ३ करोड ५० लाख रुपैयाँ बजेटमा बनाइएको’ अनमोल केसी स्टारर उक्त फिल्मले ६ दिनमा ५ करोड ४५ लाख रुपैयाँको कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।

‘दोस्रो सातादेखि नाफामा’

फिल्मका काठमाडौं वितरकसमेत रहेका निर्माता सुवास गिरीले पत्रकार सम्मेलन गरी कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन् । ‘ओपनिङ हामीले अनुमान गरेको जस्तो चाहिँ भएन,’ निर्माता गिरीले कान्तिपुरसँग भने, ‘म आफैंलाई पनि रिलिजको दिन फिल्मले डेढ करोड रुपैयाँ हान्छ होलाजस्तो लागेको थियो । सोच अनुरूप पहिलो दिन कलेक्सन नभए पनि दर्शक नआएका भने होइनन् । अरू फिल्मका तुलनामा त यो बम्पर नै हो ।’


सुरेन्द्र पौडेल निर्देशित ‘कृ’ ले समीक्षात्मक टिप्पणी भने सन्तोषजनक पाउन सकेन । फिल्ममा डेब्यु गर्ल अदिति बुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, रूपा रानाको पनि अभिनय छ ।


हिन्दी फिल्म ‘प्याडम्यान’ सँगै रिलिज भएको ‘कृ’ ले देशभर गरी १ सय १८ स्क्रिन पाएको थियो । शुक्रबारदेखि भने फिल्म ८० स्क्रिनसहित दोस्रो सातामा लाग्ने निर्माता गिरीले बताए । ‘मैले मार्केटिङ स्ट्राटेजीका लागि कलेक्सन बढाएर भनिरहेको छैन,’ उनले आफ्नो दाबीलाई पुष्टि गर्ने प्रयासमा थपे, ‘हामीले ठूलो लगानी गरेर फिल्म बनाउँदा पनि लगानी सुरक्षित हुने संकेत देखिएपछि त्यो खुसी दर्शकसमक्ष साट्न खोजेको हौं । सम्भवत: दोस्रो सातादेखि हामी नाफामा जानेछौं ।’ गिरीका अनुसार ‘कृ’ ले पहिलो दिन शुक्रबार झन्डै ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दा शनिबार १ करोड ७८ लाख रुपैयाँ कलेक्सन गरेको छ । आइतबार र सोमबार क्रमश: ६७ लाख र ५६ लाख रुपैयाँमा कलेक्सन खस्कँदा मंगलबार शिवरात्रिको दिन ८५ लाख रुपैयाँको टिकट बिक्री भएको जनाइएको छ । बुधबार मात्रै फिल्मले ६३ लाख रुपैयाँ बराबरको कलेक्सन गरेको रिपोर्टमा उल्लेख छ ।


फिल्मका अर्का निर्माता भुवन केसी पनि फिल्मको पहिलो दिनको व्यापारलाई लिएर सन्तुष्ट भने देखिएनन् । भने, ‘शुक्रबार हामीले सोचेजस्तो ओपनिङ भएन । सायद हामीले फिल्मको पब्लिसिटी कम गर्‍यौं र रिलिज डेटलाई आम दर्शकमाझ पर्याप्त नोटिस गराउन सकेनौं । तर रिलिजको भोलिपल्टदेखि दर्शक हलमा ओइरिनुभएको छ ।’

प्रकाशित : फाल्गुन ४, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?