१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यस्तो भयो ग्याल्बो ल्होसार

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबारदेखि शेर्पा, हयोल्मोलगायत हिमाली समुदायको नयाँ बर्ष ग्याल्बो ल्होसार सुरु भयो । यसपटक मलमास परेकाले केही तामाङ समुदायले शुक्रबारै सोनाम ल्होछार पनि मनाए । हिमाली समुदायले ग्याल्बो ल्होसारको कसरी मनाइरहेका छन् ?

यस्तो भयो ग्याल्बो ल्होसार

‘बबाल नाचियो’


डोमा ह्योल्मो

अभिनेत्री/गायिका

‘रिसानी माफ’ सिरियलको सुटिङ थियो, बिहान उठेर पूजापाठ गर्नेबित्तिकै सुटिङ स्पटतिर कुदिहालेँ । कान्तिपुर टीभीबाट हरेक हप्ता यो सिरियल आउँछ । सुटिङ सकिनेबित्तिकै आफन्तजन र इष्टभित्र सम्झेँ, भेटेजति सबैलाई ल्होसार विस गरेँ । बौद्धमै एउटा ल्होसार साँझ इभेन्ट थियो, विभिन्न संघसंस्थाले आयोजना गरेको । ड्रेस चेन्ज गरेर तुरुन्तै त्यतातिर गएँ, स्टयान्ड अप कमेडीका केही किस्सा जोडेपछि लामालाई जिस्काउँदै गीत गाएँ । बबाल भयो नि गीत । सबैबाट वाहवाही पाएँ । गीतमा लामालाई मन पराएको एउटी युवतीको कुतकुती समेटिएको थियो । कार्यक्रममा खुब नाचियो पनि । भर्खरै (साँझ) घर फर्केँ । मन मिलेका साथीभाइ बोलाएको छु । खानपिनमा रमाउँदै छु ।



‘वाङपछि रातभर जाग्राम’


मोहनविक्रम लामा

व्यवसायी

हाम्रो ल्होसार सुरु हुनुभन्दा चार दिन अघिदेखि पूजा थाल्ने चलन छ । ङाग्युर थोइसम गोन्फेलिङ (धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र) ले बौद्धको तामाङ गुम्बामा गरेको चारदिने पूजाको वाङ हिजो थियो । त्यसमै व्यस्त भएँ । पुराना र नराम्रा कुराहरूको बिदाई एवं नयाँ र शुभ कुराहरूको स्वागतका लागि यस्तो पूजा गरिन्छ । भारतबाट पढेर आएका हाम्रै खेन्पोहरूले पूजा गर्नुभयो । वाङ सकेपछि बिहीबार बेलुका ल्होसार इभ मनाइयौं, रातभर जाग्राम बसेर । सबै आफन्त, इष्टमित्रलाई इनबक्स र म्यासेन्जरमा शुभकामना पठाएँ । शुक्रबार बिहानै ङाग्युर थोइसम गोन्फेलिङमै गएर गुरुहरूलाई भेटेँ र आशिर्वाद लिएँ । स्वयम्भू गएर बत्ती बालेँ । दिउँसो घरमै खानमा रमाएँ । भोलिदेखि आफन्तहरूकोमा जान्छु । पर्सि ल्हाप्सो (देवीदेउता पूजा) छ ।



‘उपन्यासको संकल्प’


सोनाम याङ्जी शेर्पा

अभिनेत्री

बिहानै घरमा पूजापाठ गरेँं, अनि कपनको सोलुडाँडामा गएँ । सबैका आ–आफ्नै लामा हुन्छन्, हामीले मान्ने लामा सोलुडाँडामा हुनुहुन्छ । त्यहाँ गएर आशिर्वाद लिएँ । घर फर्केपछि खानपानमा रमाएँ । खाप्से, जेसिलजस्ता मौलिक परिकार खाएँ । सामाजिक सञ्जालमार्फत साथीभाइलाई ल्होसारको शुभकामना आदानप्रदान गरें । बाहिर कतै निस्किनँ । दिनभर घरमै बसेँ । शेर्पा समुदायमाथि एउटा उपन्यासको तयारी गर्दै छु । यो नयाँ वर्षमै उपन्यास सकाउने प्रतिबद्धता मनभित्र लिएँ । अब भोलिबाट आफन्तहरूकोमा जाने योजना बुन्दै छु । शेर्पा समुदायमा यो क्रममा लामै दिन जारी रहन्छ ।



‘बिहानै गुम्बातिर’


टीका शेर्पा

लेखक

ग्याल्बो ल्होसारमा पहिलो दिन लामा (गुरु) को, दोस्रो दिन परिवारको र तेस्रो दिन देवीदेउताको रूपमा मानिन्छ । आज पहिलो दिन भएकाले बिहान घरमा पूजापाठ सकाएपछि सिधै बौद्धबाट स्वयम्भू सीतापाइलाको गुम्बामा गएँ गुरु खाङसेर रिम्पोछेको दर्शन गर्न । उहाँबाट आशिर्वाद थापेपछि त्यही गुम्बामा बत्ती बालें । स्वयम्भू घुम्दै बौद्ध आइपुगेँ । बौद्ध स्तुपको तीनपटक कोरा (फन्को) गरेपछि घरमा आएर केटाकेटीलाई खादा लाइदिएँ अनि खाममा दक्षिणा बाँडे । ल्होसारको बेला शेर्पा समुदायमा जेसिल नामक परिकार खाने चलन छ । चामलमा किसमिस, नरिवलको टुक्रा, घ्यू, काजु, छोकडा हालेर पानीमा पकाउने परिकार हो यो । दिनभर परिवारमै बसेर खानपिन गरें । भोलि पनि परिवारमै रमाउँछौं, पर्सिचाहिँ देवीदेउताको पूजा हुन्छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?