२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

खोज पत्रकारितामा ‘स्पटलाइट’

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १८७२ देखि प्रकाशनमा आएको अमेरिकाको द बोस्टन ग्लोब पत्रिकाले अहिलेसम्म २६ वटा पुलित्जर पुरस्कार जितिसकेको छ । पत्रिकाकै समूह ‘स्पटलाइट’ ले पनि २००१–२००३ सम्म लगातार फलोअप गरेको एक समाचारका लागि पुलित्जर प्राइज फर पब्लिक सर्भिस अवार्ड पाएको थियो ।

खोज पत्रकारितामा ‘स्पटलाइट’

यही पुरस्कृत समूह र यसको खोज पत्रकारितामा आधारित फिल्म ‘स्पटलाइट’ बिहीबार राजधानीमा प्रदर्शन गरियो ।

सत्य घटनामा आधारित फिल्मले सन् २०१६ मा उत्कृष्ट फिल्मको ओस्कार अवार्ड जितेको थियो । बोस्टन सहरका रोमन क्याथोलिक चर्चका पादरीहरू कसरी बाल यौन दुव्र्यवहारमा संलग्न छन् र पीडितको अवस्था कस्तो छ भन्नेबारे चार पत्रकारले गरेको खोजबिन फिल्ममा देख्न सकिन्छ । खोज पत्रकारिताबारे निर्देशक टम म्याकर्थीको यस फिल्मलाई कन्टेन्ट र मेकिङ दुवै हिसाबले सशक्त मानिन्छ । विषयगत रूपमा कति गम्भीर छ भने स्पटलाइट समूहको पत्रकारिताले अमेरिकामा लामो समय तरंग ल्याइदिएको थियो । यूएसए टुडेले फिल्मलाई ‘मास्टरपिस’ भनेको छ ।

स्पटलाइटका सम्पादक वाल्टर रवि रविन्सन केही वर्षअघि नेपाल आएका थिए । उनले खोज पत्रकारिता र आफूहरूबारे बनाइएको फिल्म ‘स्पटलाइट’ सम्बन्धी अनुभव सेयर गरेको वरिष्ठ पत्रकार कुन्द दीक्षित सम्झन्छन् । ‘डरलाग्दा विस्फोट समाविष्ट हलिउड फिल्मभन्दा हामीबारेको फिल्म पो ठूलो विस्फोटक बन्यो,’ रविन्सनलाई उद्धृ्रत गर्दै दीक्षितले भने । दीक्षितले नेपालमा खोज पत्रकारिता जीवित रहेको र यसले मानिसमा चरम निराशा उत्पन्न हुन नदिएको बताए ।

फिल्म समीक्षक समाज नेपाल (फिक्सन) सँगको सहकार्यमा अमेरिकी दूतावासले फिल्म देखाएको हो । फिल्म देखाउनुअघि पत्रकार दीक्षितसँगै दूतावासकी प्रवक्ता एन्ड्रिया डे आर्मेन्ट र फिक्सनका अध्यक्ष यज्ञशले ‘स्पटलाइट’ को विशेषता बताए । ‘मिडियाले समाजमा पहरेदारको भूमिका निर्वाह गर्छ,’ आर्मेन्टले भनिन्, ‘यसले सरकारलाई उत्तरदायी बनाउन सक्छ । फिल्ममा मिडियाको भूमिका देख्न सकिन्छ ।’ यज्ञशले चाहिँ पत्रकारितासँग सम्बन्धित फिल्ममा माइकल केटन, मार्क रुफालो, रसेल म्याकएडम्सजस्ता एक्सन मुभीका कलाकारले कसरी आफूलाई पात्रमा ढालेका छन् भन्ने विषय हेर्नलायक रहेको बताए ।

‘फिल्मको विषयवस्तु खास छ,’ फिल्म समीक्षक यज्ञशले भने, ‘त्यस्तो विषयमा कसरी फिल्म बनाइदो रहेछ भन्ने पनि हामी सिक्न सक्छौं ।’ पत्रकार, अधिकारकर्मी, फिल्मकर्मी गरी करिब ३ सयले ‘स्पटलाइट’ हेरेका थिए । दूतावासले महिनाको एक पटक ‘अमेरिकन क्लासिक फिल्म सिरिज’ अन्तर्गत फिल्म देखाउने गरेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?