‘शत्रु गते’ पोस्टरमा पल–आँचल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ ले आफ्नो फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । चैत ९ मा रिलिज हुनु झन्डै एक महिनाअघि थिम पोस्टर आएको हो । जसमा फिल्मका मुख्य जोडी पल शाह र आँचल शर्मालाई मधेसी बेहुला–बेहुलीका रूपमा प्रस्तुत गरिएको छ । 

‘शत्रु गते’ पोस्टरमा पल–आँचल

‘फिल्मको मूलकथा नै पल र आँचल अभिनीत पात्रवरिपरि घुम्ने भएकाले पनि यही जोडीलाई महत्त्व दिएर पोस्टर बनाइएको हो,’ निर्देशक भट्टराईले कान्तिपुरसँग भने, ‘पल अभिनीत पात्र पहाडिया युवकका रूपमा भए पनि आँचलले मधेसी युवतीको भूमिका निर्वाह गरेकोले विवाह मधेसी शैलीमा नै गरिएको हो । यी दुईको विवाहमा अरू पात्रहरू बाधक बन्छन् ।’ फिल्ममा पल र आँचलसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, किरण केसी लगायतको अभिनय रहेको छ ।


यसअघि नै फिल्मका सार्वजनिक दुई गीत ‘रुपै मोहनी...’ र ‘पिरतीको बर्को...’ लाई दर्शकले रुचाइसकेका छन् । मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । निर्देशक भट्टराईकै पटकथा रहेको ‘शत्रु गते’ लाई दीर्घ गुरुङले खिचेका हुन् भने सम्पादन मित्र गुरुङको रहेको छ । फिल्म युनिटले दोस्रो पोस्टरका रूपमा सबै कलाकारलाई समेटेको छ । ‘पोस्टर हेर्दा फिल्मी लाग्ला तर सबै क्यारेक्टरको लुक्स पनि सार्वजनिक गर्ने गरी तयार गरिएको हो,’ निर्देशक भट्टराईले भने ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?