१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘कान्छीबाट उत्साहित’

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री श्वेता खड्का आफ्नै लगानी रहेको फिल्म ‘कान्छी’बाट उत्साहित छिन् । शुक्रबारबाट मुलुकभर प्रदर्शनमा आएको फिल्मले ‘राम्रो दर्शक प्रतिक्रिया पाइरहेको’ उनले दाबी गरिन् । ‘शनिबार धेरैजसो हलहरू हाउसफुल थियो,’ उनले भनिन्, ‘दर्शकले फिल्म मन पराइदिनुभएकोमा धेरै खुसी छु ।’

‘कान्छीबाट उत्साहित’

दर्शकलाई सम्बोधन गर्न आफूहरू शनिबार राजधानीको गोपीकृष्ण र अष्टनारायण हलमा पुगेको उनले जनाइन् । निर्देशक आकाश अधिकारीसहित कलाकारहरू दयाहाङ राई, प्रज्ज्वल सुजल गिरी पनि दर्शकमाझ पुगेका थिए । दया र श्वेतासँग तस्बिर खिच्न दर्शकहरूले तँछाडमछाड गरिरहेका तस्बिर श्वेताले आफ्नो फेसबुकमा सेयरसमेत गरेकी छन् ।


दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठसँग फिल्मकै क्रममा प्रेमविवाह गरेकी श्वेताको यो पाँचौं फिल्म हो । यसअघि उनले पति श्रीकृष्णसँग ‘कहाँ भेटिएला’ र ‘कोहिनूर’ गरेकी थिइन् । यसबाहेक ‘श्रीमान् श्रीमती’ र ‘हाँसिदेऊ एकफेर’ गरिन् । पति श्रीकृष्णलाई नै समर्पण गरिएको ‘कान्छी’ मा दया र श्वेताको प्रेमकथा समेटिएको छ । दुर्गम हिमाली गाउँमा अस्पताल खोल्न रंगकर्म गरिरहेको एक समूहको संघर्षकै बीच यी दुईले आफ्नो प्रेमलाई अघि बढाएका छन् ।


‘दर्शकको आशीर्वादले कोहिनूरको भन्दा पनि डबल खुसी मिलिरहेको छ,’ श्वेताले भनिन् । दयाले चाहिँ फिल्म हलमा बच्चासँगै अभिभावकको पनि अभिभावक गरी तीन पुस्ताको दर्शक देख्न पाउँदा खुसी मिलेको बताए । शनिबारदेखि राजधानी र मोफसलमा सो बढेर एक सयभन्दा बढी हलमा फिल्म लागेको निर्देशक अधिकारीले दाबी गरे । ‘सबैतिरबाट दर्शकको उत्साहजनक साथ पाइरहेको छ,’ उनले भने । शैलेश खडकासमेत निर्माता रहेको फिल्ममा आशान्त शर्मा, भूमिका श्रेष्ठ, अनु शाहलगायतको अभिनय छ ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?