१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ग्याजेटलाई कति समय ? 

‘चन्द्रमामा पनि दाग छ नि, तर हामी दागको बेवास्ता गर्छौं । किनकि यसको प्रकाशले सबैलाई मोहित बनाएको छ ।’
सुनीता साखकर्मी

काठमाडौँ — जमाना स्मार्ट फोन, टयाब र विभिन्न ग्याजेटहरूको छ । जसको हातमा ठूलो स्मार्ट फोन हुन्छ, उसको स्तर बढेको अनुभव गर्नेहरू थुप्रै छन् । ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास लेखेर लाइमलाइटमा आएका बुद्धिसागरले भने पाँच महिनादेखि स्मार्ट फोन थन्क्याएका छन् । उनी अहिले स्मार्ट फोन छोडेर सामान्य मोबाइल चलाउँछन् । 

ग्याजेटलाई कति समय ? 

‘कसैको ड्रिम नै हुन्छ मोबाइल किन्ने तर मलाई ग्याजेटहरूको त्यति धेरै सोख कहिल्यै भएन,’ उनले भने, ‘मोबाइलले समय बर्बाद भएको भएको अनुभूति भयो ।’ ग्याजेट नै नराम्रो हो भन्नेचाहिँ लाग्दैन उनलाई । उनी मोबाइललाई उपयोग गर्न नजान्नु आफ्नै कमजोरी मान्छन् । उनले भने, ‘मैले मिलाएर चलाउन जानिनँ होला । आफ्नो परिवारसँग बसेको बेलामा मोबाइलकै कारण परिवारसँग घुलमिल हुन पाइएनजस्तो लाग्यो ।’ उनी अहिले सामान्य मोबाइलबाटै फोन गर्ने र उठाउने मात्रै गर्छन् ।


सामाजिक सञ्जालको आवश्यकता बढदै गएको चाहिँ मान्छन् उनी । त्यसैले ल्यापटपमै सोसल मिडिया चलाउँछन् । ‘ग्याजेटले साहित्यको प्रोमोट गर्न धेरै भूमिका खेलेको छ,’ उनले भने, ‘सोसल मिडियाले रिडरहरूसँग कनेक्सन बढाइरहेको छ । लेख्न अल्छी लागेका बेलामा रिडरका कमेन्टहरूले लेख्न इनर्जी मिल्छ । तर परिवार, साथीभाइहरूसँग हुँदा सोसल हुनै गाह्रो भएकाले मात्रै हो, मोबाइल नबोकेको ।’


गायक/संगीतकार अर्जुन पोखरेलचाहिँ ग्याजेटले जीवन सरल बनाएको बताउँछन् । उनी मोबाइलमा जीमेल, भाइबर, फेसबुक, ह्वाट्स एप, युटयुबलगायत एपहरू चलाउँछन् । ‘अहिलेको जमानामा मोबाइल नचलाई को बस्न सक्छ होला र ? भन्ने उनलाई लाग्छ । ‘म मोबाइलमा विशेष गरी जीमेल चलाउँछु । मेलमा आएका कुराहरूलाई नोटमा सेभ गर्छु । एरेन्ज गरेका गीतहरू मेलबाट नै पठाउने र पाउने गर्छु,’ उनले भने, ‘युटयुबमा खासगरी आफ्ना र अरूका गीतहरू हेर्छु ।’ उनी पियानो, गितारका म्युजिक एपहरू पनि चलाउँछन् । उनले भने, ‘मोबाइल भएपछि धेरै सजिलो भएको छ । कुनै कुरा अचानक फुर्‍यो भने नोटमा लेखेर सेभ गर्न सकिन्छ । तुरुन्तै रेकर्ड गर्न सकिन्छ । मैले कतिपटक यसरी रेकर्ड पनि गराएको छु । भिडियो रेकर्ड, फोटो खिच्न सक्छु ।’

उनी पत्रपत्रिकामा आएका मन परेका सामग्रीहरूलाई स्क्रिनसट लिएर त्यो भागलाई मात्रै कटिङ गरेर राख्न पनि मोबाइलले सघाएको बताउँछन् । पहिलो पटक उनलाई गीत कम्पोजिसन गरिदिएबापत साथीले खुसी भएर ‘नोकिया ११००’ को सेट गिफ्ट गरेका थिए । उनले त्यति बेलाको रमाइलो घटना सम्झिँदै भने, ‘त्यति बेला इनकमिङ र आउटगोइङ दुवैमा पैसा काटिन्थ्यो । एकजना साथीलाई भनेर गरेको, तर गलत नम्बर डायल गरेछु । त्यसपछि बोल्दै जाँदा गलत नम्बर भएकोले उठाउनेको पनि पैसा काटेकाले ‘नम्बर हेरेर डायल गर’ भनेर गाली खाएँ । त्यसपछि त्यस्तो घटना कहिल्यै घटेन ।’


अहिले उनी आईफोन सेभेन चलाउँछन् । उनीसँग सामसुङको सानो सेट पनि छ । आवश्यकताभन्दा बढी कुनै कुरा प्रयोग गर्‍यो भने त्यसले स्वाभाविक रूपमा नै नकारात्मक असर पुर्‍याउने मान्यता राख्छन् । कम्प्युटर, मोबाइलमा जडान गरिएका वेबहरू र यसको लाइटले गर्दा धेरै चलायो भने आँखा दुख्ने, टाउको दुख्ने हुने उनलाई थाहा छ । तर यसको उचित प्रयोग गर्नुपर्नेमा उनी जोड दिन्छन् । ‘हामीले फाइदाको तुलनामा असरलाई नगण्य रूपमा लिएका छौं,’ उनले चन्द्रमाको उदाहरण दिँदै भने, ‘चन्द्रमामा पनि दाग छ नि । तर हामी दागको बेवास्ता गर्छौं । किनकि यसको प्रकाशले सबैलाई मोहित बनाएको छ । ग्याजेट पनि यस्तै हो ।’ परिवर्तनशील संसारमा योभन्दा पनि सरल प्रविधि विकास हुने र यसको समुचित उपयोग गरेर हरेक क्षेत्रको काम सजिलोसँग र समयमा सक्नका लागि उपयोग गर्न सुझाए ।


अभिनेत्री मेनुका प्रधान अहिले घरमै रेस्टमा छिन् । उनी पहिले मोबाइल कम्युनिकेट गर्न र ल्यापटप फिल्म हेर्नका लागि मात्रै चलाउँथिन् । ‘खासमा मलाई त्यति धेरै चलाउन आउँदैन । एक्स्ट्रा खासै गर्दिनँ,’ उनले भनिन्, ‘तर पहिलेको तुलनामा अलिक धेरै ग्याजेटहरू चलाउन थालेकी छु । मोबाइलमा इन्स्टाग्राम चलाउँछु । नत्र म ल्यापटपमा फिल्महरू हेर्छु ।’

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?