३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘रामकहानी’ धमाधम

कान्तिपुर संवाददाता

लेखनाथ — ‘रामकहानी’ को युनिट यतिखेर पोखरामा व्यस्त छ । ऐतिहासिक स्थल कास्कीकोटमा मुहूर्त गरिएको फिल्मको निर्देशकमा सुदर्शन थापा छन् । अभिनेत्री पूजा शर्मा निर्माता रहेको फिल्ममा पूजा र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, विल्सनविक्रम राई (तक्मे बुढा), रवीन्द्र झा, राजाराम पौडेल लगायतले पनि खेल्दै छन् ।

यतिखेर माग्ने बुढाले ‘रामकहानी’बाट १० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चाले व्यापकता पाएको छ । निर्देशक थापाले उक्त चर्चालाई नकार्न चाहेनन् । यद्यपि उनले पारिश्रमिक कलाकारका लागि महत्त्वपूर्ण रहे पनि बजार हल्ला गर्ने पक्षमा नरहेको उनले बताए । ‘कसले कति पारिश्रमिक लियो भन्ने महत्त्वपूर्ण होइन,’ उनले भने, ‘पर्दामा कसले राम्रो गर्‍यो भन्ने हो ।’

चर्चित हास्य कलाकारलाई लिएर बन्न लागेको फिल्म हास्यप्रधान बन्ने लख काटिएकोप्रति उनले खण्डन गरे । ‘यो पनि मेरा अघिल्ला जस्तै लभस्टोरी फिल्म नै हो,’ उनले भने, ‘लभस्टोरीसँगै कमेडी पनि मिसिएको छ ।’ हास्यप्रधान चले भन्दैमा आफू त्यस्तै किसिमको फिल्म बनाउन नलाग्ने उनको भनाइ थियो । ‘मेरै लभस्टोरी फिल्म पनि चलेका छन्,’ उनले भने, ‘म ट्ेरन्डलाई फलो गर्न खोज्दिनँ ।’ उनले ‘रामकहानी’ सुन्दर गाउँको कथा भएको बताए । गाउँमा होमस्टे चलाएर बसेकी युवती ‘माया’ र होमस्टेमा पर्यटक लैजाने युवक ‘राम’ बीचको प्रेम र प्रेममा हुने उतारचढावलाई फिल्ममा देखाउन खोजिएको उनले जनाए । भने, ‘घरघरमा हुने हरेक रामको कहानी नै रामकहानी हो ।’

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?