कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एक जुगमा एक दिन...

कान्तिपुर संवाददाता

काठमाडौँ — तीसको दशकमा गोपालप्रसाद रिमालको कविता ‘एक जुगमा एक दिन’, ‘खबरदार’, ‘गाउँ गाउँबाट उठ...’ (संयुक्त गायन) जस्ता क्रान्तिकारी गीत गाएका रामकृष्ण दुवाल सोमबार राजधानीमा एकल सांगीतिक साँझमा सुनिए । मुलुकमा लोकतन्त्र ल्याउन जनवादी गीतहरूमार्फत योगदान दिएका उनलाई प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल भाषा मंका खल: र सांस्कृतिक संस्थानले एकल साँझमा प्रस्तुत गरेका हुन् । 

एक जुगमा एक दिन...

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका यी प्राज्ञले कार्यक्रममा ‘गाउँ गाउँबाट उठ...’ लाई नेपाल भाषामा गाए, गायक रामेशले साथ दिए । यो गीत नेपालका झन्डै डेढ दर्जन भाषामा र विदेशी आधा दर्जन भाषामा अनूदित भइसकेको रामेशले बताए । कार्यक्रममा दुवालले उक्त गीतका अंग्रेजी, चिनियाँ, हिन्दी, फ्रान्सेली मुखडा पनि गाए ।


‘यो गीत २०३१ मा दुर्गमको एउटा हाई स्कुलको स्वागत गानको लागि बनाइएको थियो,’ उनले भने, ‘धेरै देशका भाषाहरूमा समेत अनुवाद हुनु र गाइनु नेपाली गीत पनि अन्तर्राष्ट्रिय गीत हुन सक्छ भन्ने प्रमाण हो ।’ नेपाल भाषामा चाहिँ यो गीतलाई जनकवि दुर्गालाल श्रेष्ठ र रामकृष्णले अनुवाद गरेका थिए ।


काठमाडौंको कीर्तिपुरमा जन्मिएका रामकृष्णको व्यक्तित्वबारे कवि देवी नेपालले बोले । दुवाल ‘काममा विश्वास गर्ने र कहिल्यै अवसर नखोज्ने त्यागी गायक रहेको’ उनले बताए । ‘२०२२ मा देवकोटाको ‘नटिप्नू हेर कोपिला नचुँड्नू पाप लाग्दछ’ छन्द कवितालाई पहिलोपटक संगीत भरेर जीवन्तता दिने काम समेत उहाँले गर्नुभएको थियो’, नेपालले भने । नेपाल भाषा र नेपाली भाषाका प्राचीन गीतसंगीतको खोजी अनुसन्धान गरेर बाहिर ल्याउने काममा समेत रामकृष्णले गरेको नेपालले जनाए ।


रुपेश महर्जनले रामकृष्णले गाएका गीतहरूलाई चित्रमा अभिव्यक्त गरेका थिए । कार्यक्रममा रामकृष्णले डा. रामप्रसाद ज्ञवालीरचित महाकाव्यबाट एउटा कविता प्रस्तुत गरे । त्यसपछि उनले ‘उठ्यो त्यो क्रान्तिको ज्वाला’ गजल गाए । उनले विवाहमा गाइने ४ सय वर्ष पुरानो नेपाल भाषाका गीत ‘हे मन..’, ‘राधा जुना वा’ र ‘सिरसाया हेगु’ तथा ‘थोपाथोपाबाट समुद्र बन्छ...’, ‘रक्तक्रान्तिको ज्वालामुखीमा’, ‘एक जुगमा एक दिन एकचोटि आउँछ...,’ ‘खबरदार..’ गीत गाएका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?