तीन मुलुकमा “दुई थोपा हाँसो”

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त अरब इमिरेट्स् (यूएई), बहराइन र ओमनमा ‘दुई थोपा हाँसो’ प्रस्तुति दिएर सिस्नुपानी नेपालको कलाकार/साहित्यकार टोली मुलुक फिरेको छ । गत माघ १८ गते यूएईबाट सुरु यात्रा सोमबार मस्कटमा समापन भएको सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले जनाए ।

तीन मुलुकमा “दुई थोपा हाँसो”

श्रमशील नेपालीहरूलाई कार्यस्थलमै पुगेर विभिन्न जनचेतनामूलक सन्देशसहित स्वास्थ्य परामर्श एवं मनोरञ्जन दिने उद्देश्यले विगत तीन वर्षदेखि सञ्चालित अभियानको यो तेस्रो शृंखला हो ।


‘यूएईको राजधानी अबुधाबीबाट सुरु भएको यो शृंखला दुबई, एलेन, शारजहाँ हुँदै माघ २२ गते सोमबार फुजेरामा पुगेर यूएई संस्करण सम्पन्न गरेका थियौं,’ सिस्नुपानीका महासचिव टंक आचार्यले भने, ‘हास्यव्यंग्य, योगसम्बन्धी सचेतनादेखि साहित्यिक प्रस्तुतिलाई दर्शकले मन पराए ।’ समसामयिक राजनीतिक, प्रशासनिक, सामाजिक क्षेत्रमा रहेका विकृति र विसंगति–माथिको प्रहारदेखि स्वास्थ्य परामर्श एवं अन्य मनोसामाजिक सचेतनामा प्रस्तुति केन्द्रित रहेको उनले जनाए ।


उनका अनुसार यूएईमा आयोजित कार्यक्रमहरूमा नेपाली दूतावास आबुधाबीका कार्यबाहक राजदूत सागर फँुयाल, गैरआवासी नेपाली संघका केन्द्रीय, क्षेत्रीय तथा स्थानीय पदाधिकारीहरूका साथ हजारौंको संख्यामा नेपाली श्रमिकले सहभागिता जनाएका थिए । त्यसैगरी, फागुन ३ गते बहराइनको अस्करमा रहेका श्रमिक क्याम्पमा कार्यक्रम गरिएको थियो । प्रमुख अतिथिका रूपमा बहराइनमा लागि नेपाली राजदूत पदम सुन्दास थिए भने कार्यक्रम राति १० बजेसम्म चलेको थियो । ‘फागुन ४ गते ओमानमा एकै दिन दुई स्थानमा भव्यताका साथ कार्यक्रम गरियो,’ आचार्यले भने, ‘राजधानी मस्कटस्थित बर्का र बादिकविरमा सयौं दर्शकको साथ रहयो ।’


फागनु ५ गते भने ओमानको मदिना र काबुसमा प्रस्तुति थिए । उनका अनुसार ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीसँगै गैरआवासीय नेपाली संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत कार्यक्रममा साथ दिएका थिए ।


टोलीमा सिस्नुपानी अध्यक्ष तथा व्यंग्यकार गाम्नागेसँगै उपाध्यक्षद्वय कवि अर्जुन पराजुली र कलाकार मनोज गजुरेल, आचार्य र जनस्वास्थ्य विशेषज्ञ एवं लेखक डाक्टर रवीन्द्र समीर थिए । गैरआवासीय नेपाली संघसँग मिलेर गरेको अभियानमा सम्बन्धित देशका दूतावासहरू, नेपाल पर्यटन बोर्ड, नेपाल राष्ट्र बैंक, स्वास्थ्य बिमा बोर्ड तथा ग्लोबल आईएमई बैंकको पनि सहकार्य रहेको अध्यक्ष गाम्नागेले जनाए ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?