१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मध्य र सुदूरपश्चिमका कथा 

कान्तिपुर संवाददाता

काठमाडौँ — सहरमा नयाँ नाटकघर सुरु भएको छ । कुमारीगालस्थित मोक्षदा स्कुल परिसरमा मञ्जरी थिएटर सञ्चालनमा आएको हो । विद्यार्थी केन्द्रित भएर सुरु गरिएको राजधानीको यो एक मात्र थिएटर हो ।

मध्य र सुदूरपश्चिमका कथा 

विद्यार्थीहरू स्वयंले रंगमञ्च तालिम लिएर नाटक प्रस्तुत गर्ने थिएटरका संयोजक सुरेश चन्दले जनाए । गएको शुक्रबारदेखि यहाँ सुरेशकै लेखन तथा निर्देशन रहेको नाटक ‘उडकी मुडकी’ को मञ्चन सुरु भएको छ ।


फुटपाथमा थापिएका व्यापारका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज भएको प्रसंगदेखि नाटक सुरु हुन्छ । बालबालिकाको छुकछुके बानी, झिनामसिना झैझगडा र सानातिना बदमासीलाई गाली नगरी, नरिसाई माया गरेरै पनि सिकाउन, बुझाउन र अनुशासनमा राख्न सकिन्छ भन्ने पक्षलाई नाटकले उजागर गर्ने कोसिस गरेको छ । विद्यार्थीको पढाइमा शिक्षक, अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्देश पनि नाटकमा छ । कलाकारको अभिनयले कतै पेट मिचीमिची हँसाउँछ भने कतै भावुक बनाउँछ । नाटकमा माओवादी जनयुद्धले बिछोड बनाएकी, मुम्बईको सहरमा बेचिएकी र एचआईभी/एड्स लागेर नेपाल फर्किएकी महिलाको कथा कारुणिक लाग्छ । देउडालगायत नेपाली र अंग्रेजी गीतको समेत प्रयोग गरिएको छ ।


नाटकको पहिलो शोमा सांसद गगन थापा, संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तानलगायतले नाटक हेरेका थिए । सीमित स्रोतसाधनका बाबजुद कलाकारहरूले अभिनयमार्फत जीवन्तता दिएको गगनले बताए । ‘स्कुलदेखि नै आफ्नै कथाहरूमा बालबालिकालाई अभ्यस्त गराएर नाटक गर्नु महत्त्वपूर्ण छ,’ उनले भने, ‘निर्देशन र कथा बेजोड छ ।’


नाटक हेर्दै गर्दा आफू पनि नाटककै एक पात्रका रूपमा रहेको अनुभूति भएको कुन्तीले बताइन् । बालबालिकाको अभिनय प्राकृतिक लागेको उनले सुनाइन् । नाटकले हँसाउँदा हँसाउँदै रुवाइदिएको गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले बताए । ‘नाटकले मध्य र सुदूरपश्चिमको कथाव्यथा सम्झाइदिएको छ,’ उनले भने ।


नाटकमा उपहार लिम्बू, आकृति तिमल्सेना, खुसी हमाल, तारा लामा, संगीत श्रेष्ठ लगायतको अभिनय छ । निर्देशक चन्दले आगामी दिनमा पनि यसैगरी बालबालिकाका विभिन्न कथाव्यथा लिएर मञ्जरी थिएटरमा आइरहने वाचा गरे । ‘म कुमारीगाललाई नाटकको हबको रूपमा विकसित गर्न चाहन्छु,’ उनले भने ।

नाटक फागुन १९ सम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?