“अझै पनि समाज बाधक”

“मिस नेपाल, २०१८” को तयारी
‘सौन्दर्य प्रतियोगिताप्रतिको आमधारणा अझै पनि संकुचित नै छ । यसले गर्दा अझै पनि देशका कुनाकुनाबाट मिस नेपालमा सहभागिता बढाउन मुस्किल परिरहेको छ ।’
मधु शाही

काठमाडौँ — अग्लो कद, सुन्दर अनुहार । अनुहारजस्तै सोच । दुई वर्षअघि मिस नेपालको अडिसनमा आयोजक द हिडन ट्रेजरका प्रमुख गोपालसुन्दरलाल कक्षपतीले यस्ती युवती भेटे, नेपालगन्जमा ।

“अझै पनि समाज बाधक”

जुम्लाबाट आएकी ती युवतीसँग अडिसनमा अन्तर्वार्तासमेत लिएको उनी सम्झन्छन् । त्यसपछि उनले ती युवतीलाई मिस नेपालमा सीधै सहभागी हुन निम्तोसमेत गरे । तर, उनी आइनन् ।


कक्षपतीको मनमा अझै पनि उनी किन आइनन् होला भन्ने जिज्ञासा छ । उनले ती युवतीलाई बाटोखर्च भरेरै बोलाउने वचन पनि दिएका रहेछन् । तर समाजको डरले उनले प्रतियोगितामा सहभागी हुने आँट नगरेको उनले अनुमान लगाए ।


‘सौन्दर्य प्रतियोगिताप्रतिको आमधारणा अझै पनि संकुचित नै छ,’ कक्षपतिले भने, ‘जसले गर्दा अझै पनि देशका कुनाकुनाबाट मिस नेपालमा सहभागिता बढाउन मुस्किल परिरहेको छ ।’ दुई दशकदेखिको मिस नेपाल यात्राको समीक्षा गर्दा रूपान्तरण भने भएको उनको ठम्याइ छ ।


यति बेला भने द हिडन ट्रेजर नयाँ मिस नेपालको खोजीमा छ । आयोजकले २०१८ को संस्करणका लागि धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान, बिर्तामोड र काठमाडाैं गरी ९ सहरमा अडिसन लिइसकेको छ । गत वर्ष छ सहरमा अडिसन लिन पुगेको मिस नेपाल अहिले थप दुई सहरमा पुगेको कक्षपतिले बताए । अडिसन लिने सहर थपिएजस्तै, यसै वर्ष विदेशमा बस्ने नेपाली युवतीहरूको आवेदन पनि धेरै आएको छ, तिनमा अस्ट्रेलिया, अमेरिका, जापान र बेल्जियम लगायतमा बसोबास गर्नेहरू छन् । जसरी सहभागीहरूको दायरा फराकिलो हुँदै छ, उसैगरी मिस नेपालको टाइटल पनि यो पटक चार वटा भएका छन् । कक्षपतिका अनुसार, मिस वल्र्ड, मिस अर्थ, मिस इन्टरनेसनलसँगै अहिले नयाँ टाइटल ‘मिस युनिभर्स’ पनि थपिएको हो ।


‘विगतका वर्षमा डेढ सयजति आवेदन पर्ने गरेकोमा यसपटक दुई सयभन्दा बढी आइसकेका छन्,’ कक्षपतीले भने, ‘यसपालि अडिसन धेरै भएकाले सहभागी पनि २५ जना बनाउने कि भन्ने सोचमा छौँ । मिस नेपाल फराकिलो बन्दै छ ।’


सन् १९९४ मा सुरु भएको मिस नेपाल प्रतियोगिताकी प्रथम मिस नेपालको ताज रुबी राणाले पहिरिएकी थिइन् । उनको अनुभवमा यस्ता प्रतियोगिताले सौन्दर्यको अर्थमा अझै गहनता थप्छन् । पर्साको छपकैया गाउँबाट मिस नेपालमा सहभागी हुने चाहना राख्नु उनका लागि सानो कुरा थिएन । पेसाले शिक्षिका भए पनि उनले सौन्दर्य प्रतियोगितामा सहज प्रवेश गर्नु चुनौती नै थियो । त्यसमाथि फेसन दुनियाँदेखि चार कोस टाढा थिइन् उनी । सायद अभिभावकको साथ र सहयोग नभएको भए र रुबी स्वयंले आँटिलो कदम नउठाएको भए उनका लागि ताज सपनामै सीमित हुन्थ्यो ।

‘मिस नेपालले मलाई शिक्षिकाभन्दा फरक पहिचानमा स्थापित गरायो,’ रुबीले भनिन्, ‘समाजका कुरा पन्छाउँदै म आफैंले आँट नगरेको भए मिस नेपालमा जित्नु सम्भव हुने थिएन ।’


रुबी मिस नेपाल चाहेर पनि नेपालको दूरदराजसम्मका युवती समक्ष पुग्न नसकेको बताउँछिन् । उनले भने जस्तै, हिडन ट्रेजर पछिल्लो समय नेपालका कुनाकुनासम्म पुग्ने प्रयास गरेको छ । ‘तर, कतिपय ठाँउमा हामीले चाहेर मात्रै हुँदो रहेनछ,’ गोपाल भन्छन्, ‘सहभागी हुने व्यक्तिले पनि समाज र परिवारलाई कन्भिन्स गर्न हिम्मत जुटाउनैपर्ने रहेछ ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?