कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अञ्जलीको ल्याक्मे सम्झना

‘मैले मोडलिङमार्फत आफ्नो देश र समुदायको प्रतिनिधित्व गर्न पाएकी छु । मेरो परिचयले मलाई मात्र फाइदा गरेन, पूरै देश र तेस्रोलिंगी समुदायको प्रचार भयो ।’
सजना बराल

काठमाडौँ — १४ डिसेम्बर । यो कुनै खास दिन होइन । कुनै दिवस पर्दैन । तर, मोडल अञ्जली लामा यो मिति भुल्न सक्दिनन् । उनले प्रतिष्ठित ल्याक्मे फेसन विकमा र्‍याम्प वाक गरेको दिन थियो यो, २०१७ मा । उनका लागि महत्त्वपूर्ण हुने नै भयो ।

अञ्जलीको ल्याक्मे सम्झना

ल्याक्मे विककी पहिलो ट्रान्सजेन्डर मोडलका रूपमा अञ्जलीले अभूतपूर्व चर्चा पाइन् । बीबीसी, सीएनएनदेखि रोयटर्स, इन्डिपेन्डेन्ट, हिन्दुस्तान टाइम्स, इन्डिया टुडे, आज तक जस्ता विश्वका बडेबडे मिडियाले उनलाई स्थान दिए ।


अञ्जली अहिले एन्ड नामक क्लोथिङ ब्रान्डको विज्ञापनमा देखिन्छिन् । यसमा अभिनेत्री करिना कपुरदेखि र्‍याप आर्टिस्ट सोफिया असरफ, व्यवसायी भारती गेहानी र मेकअप आर्टिस्ट कीर्तिका गिलसम्म छन् ।


‘त्यो विज्ञापन गर्दा हामी सबै एकै ठाउँमा थियौं’, अञ्जलीले सुनाइन्, ‘टीभीमा देख्दा जस्तो छ, वास्तवमा पनि उस्तै रहिछन् करिना ।’


बितेको एक वर्षमा अञ्जलीले भारतका ठूलठूला फेसन डिजाइनरसँग काम गर्न पाइन् । तिनका पहिरनलाई र्‍याम्पमा प्रस्तुत गरिन् । चित्तबुझदो पारिश्रमिक बुझिन् । मुख्य कुराचाहिँ रोजेको क्षेत्रमा सक्रिय हुने राम्रो मौका मिल्यो ।


‘मैले मोडलिङमार्फत आफ्नो देश र समुदायको प्रतिनिधित्व गर्न पाएकी छु,’ केही दिनका लागि काठमाडौं आएकी अञ्जलीले कान्तिपुरसँग भनिन्, ‘मेरो परिचयले मलाई मात्र फाइदा गरेन, पूरै देश र तेस्रोलिंगी समुदायको प्रचार भयो ।’


ल्याक्मेमा सहभागी ६ दर्जन मोडलमध्ये अञ्जली आकर्षणको केन्द्र बनेकी थिइन् । विभिन्न देशका पत्रकार उनीसामु झुम्मिएका थिए । साताभर भ्याईनभ्याई भयो । फेसन विक सकिनासाथ भारतको प्रख्यात मोडलिङ एजेन्सी ‘इनेगा’ ले उनलाई एक वर्षको कन्ट्रयाक्ट पनि दियो ।


मनीष मल्होत्रा, गौरव गुप्ता, तरुण तेल्हानिया, अनामिका खन्ना, अबु जानी सन्दीप खोसला, मनीष अरोरा, अनिता डांग्रीजस्ता सेलिब्रिटी डिजाइनरले उनलाई विश्वास गरेका छन् । सबैभन्दा बढी तरुणका पहिरनमा उनी सजिन्छिन् । ‘सबैजनासँग काम गर्न मज्जा हुन्छ,’ अञ्जलीले भनिन्, ‘फेसन सो गर्नुअघि यहाँजस्तो धेरै अभ्यास हुँदैन । पाइला चाल्न रटाउँदैनन् । मोडलले व्यक्तिगत रूपमै बलियो तयारी गर्नुपर्छ ।’ बाहिरबाट जति झकिझकाउ देखिए पनि भारतीय मार्केटमा गरिखान भने औधि गाह्रो हुने उनको अनुभव छ । ‘सजिलै काम पाइँदैन,’ नुवाकोटबाट काठमाडौं हुँदै मुम्बई पुगेकी अञ्जलीले भनिन्, ‘महँगी उस्तै छ । अहिलेकै जस्तो काम पाइरहेँ भने मेरो करिअर राम्रो हुन्छ ।’


उनले अहिलेसम्म मिसोर फेसन विक, मिजवान समर कोतुअरलगायतमा क्याटवाक गरिसकेकी छन् । अझै केही वर्ष उतै संघर्ष गर्ने योजना छ । मुम्बई गएपछि धेरैले चिन्न थालेका छन्, अवसर पाइरहेकै छिन् । नेपालमा पनि आउने–जाने भइरहेको छ । नुवाकोट भने जान पाएकी छैनन् । छोरी भेट्न बुबा नै काठमाडौं आउँछन् ।


नेपालमा तेस्रोलिंगीहरूलाई त्यति सहज छैन । भारतमा पनि लगभग उस्तै अवस्था रहेको अञ्जली बताउँछिन् । त्यत्तिका ठूलो जनसंख्या (तेस्रोलिंगी मात्र ४.९ मिलियन) भएको देशमा करिब दुई दशकदेखि हुन थालेको ल्याक्मे फेसन विकले पोहोर अञ्जलीमार्फत पहिलो पटक ट्रान्सजेन्डर मोडललाई र्‍याम्प वाक गराएको थियो । यसबाट पनि त्यहाँका तेस्रोलिंगीको अवस्था बुझ्न सकिन्छ । ‘म त्यहाँको समुदायसँग जोडिएकी छैन,’ बुधबार मुम्बई उड्नुअघि अञ्जलीले भनिन्, ‘नेपालमा चाहिँ ब्लु डायमन्ड सोसाइटीमा भएकाले यताको बारे थाहा हुन्थ्यो ।’


अञ्जलीका अनुसार नेपालको मोडलिङ क्षेत्र व्यवसायी छैन । पारिश्रमिक थोरै छ । उनी भारत हुँदै अन्तर्राष्ट्रिय र्‍याम्प नाप्ने दाउमा छिन् । चाँडै ठूलै समाचार पो देलिन् कि ? तर उनले आगामी योजनाबारे तत्काल मुख खोल्न चाहिनन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?