कोलकातामा घुम्यो ‘पानीघट्ट’

आश गुरुङ

कोलकाता (भारत) — बंगाली र हिन्दी नाटकको भीडमा नेपाली नाटक ‘पानीघट्ट’ ले पश्चिम बंगालको पुरानो सरह कोलकातामा दर्शकको मन जितेको छ । 

कोलकातामा घुम्यो ‘पानीघट्ट’

कहिल्यै पानीघट्ट र ठाडोभाकाबारे जानकारी नपाएकाले समेत आफ्नो संस्कृति देखेपछि मन फुरुंग बनाए । नेपाली ग्रामीण परिवेशको उक्त नाटकमा नेपाली संस्कृति र वर्तमान समाजको यथार्थता भेटेको दर्शकले प्रतिक्रिया दिए ।


कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तराष्ट्रिय नाटक उत्सवमा शनिबार साँझ उक्त नाटक मञ्चन भइरहँदा प्रवासी नेपाली तथा गैरनेपालीको भीड थियो । नाट्य युद्धले आयोजना गरेको चौथो शम्भु मित्र एन्ड बिजन भट्टचर्जी स्मृति नाट्य उत्सवमा फेब्रुअरी २३–२५ (फागुन ११–१३) सम्म हिन्दी, बंगाली, नेपालीसहित ११ नाटक मञ्चन गरिएको उत्सवका संयोजक शनि सिंहले बताए । ‘अन्य नाटकभन्दा नेपाली नाटक पृथक लाग्यो । हामीले सम्झेका थियौं एउटा सहरको कुनै कथा होला । तर, होइन रहेछ,’ उनले भने ।


पुख्र्यौली घर सिराह बताउने रमिता सिंह छोरी सन्तोषीलाई लिएर नाटक ‘पानीघट्ट’ हेर्न आइन् । भनिन्, ‘यो पानीघट्ट र ठाडोभाका भन्ने नेपाली संस्कृति यहीं आएर थाह पाएँ ।’ लमजुङको राइनास नगरपालिका प्यारजुङ घर भई कहिले नारायणगढ र कहिले कोलकाता बस्दै आएकी लीला गुरुङले परदेशमा आफ्नो संस्कृति देख्न पाउँदा खुसी लागेको बताइन् । संयुक्त नेपाली केन्द्रीय सेवा संघका अध्यक्ष नरविक्रम थापाले प्रवासी नेपाली समुदायबाट नेपाली कला संस्कृति लोप हुँदै गएको अवस्थामा यसलाई जोगाउनुपर्छ भन्ने पाठ ‘पानीघट्ट’ बाट सिकेको बताए । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठकले समुदायबाट लोप हुनै लागेको संस्कृतिलाई बचाउन नाटकले ठूलो भूमिका खेल्ने बताइन् । ‘हामी नेपाली संस्कृति बचाउने अभियानमा छौं । संस्कृति बचाउ अभियानमा पानीघट्ट कोशेढुंगो बनेको छ’ उनले भने ।


पानीघट्ट र ठाडो भाकालाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको सवा १ घण्टाको नाटक ‘पानीघट्ट’ मा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, सुविधाको खोजीमा सहर पस्नुपर्ने बाध्यता, रेमिट्यान्सले ल्याउने विकृतिविसंगति, युवाशक्ति पलायन हुँदा गाउँमा महिला र बालबालिकाले शव उठाएको कारुणिक कथालाई नाटकमा उजागर गर्न खोजिएको छ । ‘पानीघट्ट नेपाली समुदायको यथार्थ चित्रण बोकेको नाटक रहेछ । हाम्रो कलासंस्कृति बचाउन हामी आफैं लाग्नुपर्छ भन्ने सन्देश नाटकबाट पायौं’ नाटक हेरेपछि कोलकातास्थित महाबाणिज्यदूत एकनारायण अर्यालले भने । ‘हामी पनि कोलकातामा नेपाली संस्कृति बचाउने अभियानमा छौं । यहाँका नेपाली समुदायलाई सहयोग गरिरहेका छौं’ उनले भने ।


हाँसो, ख्यालठट्टा गर्दै भट्टीबाट कथाबस्तु सुरु भएको ‘पानीघट्ट’ले अन्तिममा रुवाएको गायिका सुजाता बर्माले बताइन् । ‘हाँसो र रुवाइमात्रै नभएर नेपाली संस्कृतिलाई जोगाइराख्नु पर्छ भन्ने सन्देश नाटकले दिएको छ’ उनले भने । नाटकका लेकख/निर्देशक पुरु लम्सालका अनुसार पहाडको पुरानो संस्कृति र वर्तमान वास्तविकतालाई नाटकबाट प्रवासमा आएर देखाउने कुरा चानचुने होइन । ‘अहिलेसम्म हामी मुलुकभित्रकै थिएटरमामात्रै नाटक मञ्चन गरिरहेका छौं । अब प्रवासमा गएर पनि नेपाली संस्कृति जोगाउनुपर्छ, सामाजिक विकृति हटाउनुपर्छ भन्ने हाम्रो अभियान हो ।’ अघिल्लो पुस्ता र अहिलेको पुस्ताले भोग्दै आएको यथार्थको फ्युजन नै ‘पानीघट्ट’ भएको उनले बताए ।


नेपाली नाटक प्रवासमा देखाउँदै गर्दा नेपाली संस्कृति जोगाउनुपर्छ भन्दै लागिपरेका उत्साहित थिए । ‘पानीघट्ट’ को टीम कोलकाता आउनेवित्तिकै सहयोग गरिरहेका रामप्रसाद बरालले छोरी आशा बराल र उनका साथी नेहा धमलालाई उक्त नाटकको छोटो भूमिकामा प्रस्तुत गराए । नेपाली कलाकार विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, केदार बोहोरा, शान्ति श्रेष्ठ, नरमाया तामाङ, हिमाल मजाकोटी, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, विमला मिजार, सञ्जोग लामिछाने, बालकलाकार विप्लव बोहोरा लगायतको अभियनलाई कोलकताका प्रवासी नेपालीले ‘राम्रो’ को संज्ञा दिए ।

नाटकलाई कोलकतासम्म पुर्‍याउन त्रिभुवन विश्वविद्यालयका प्राध्यपक डा. अशोक थापाले संयोजन गरेका हुन् । ‘नेपाली नाटकलाई प्रवासी नेपाली र भाषा नै नबुझ्ने गैरनेपालीलाई देखाउने मुख्य उद्देश्य हो । भाषा नै नबुझ्नेले पनि यसको कथाबस्तु र मुख्य सार बुझेको पायौं’ प्राध्यापक डा. थापाले भने । नाटक टोलीसंगै कोलकता पुगेका संस्कृतिकर्मी जयराम तिमिल्सिनाले समाजलाई घच्घच्याउन र ब्युँताउन नेपाली नाटकको ब्यापकताको आवश्यकता रहेको बताए ।


गतवर्ष मञ्चित नाटक ‘फड्के’ ले राम्रो सफलता पाएपछि लेखक/निर्देशक लम्सालले लमजुङको मञ्जरी नाट्य समूहमा आवद्ध कलाकारलाई लिएर यसपटक ‘पानीघट्ट’ बनाएका हुन् । रेडियो नाटक, सडक नाटक तथा महोत्सवमा सीमित नाटक थिएटर हुँदै प्रवासी नेपालीमाझ देखाउन पाउनु सौभाग्यको कुरा भएको मञ्जरीका अध्यक्ष केदार बोहोराले बताए । उनका अनुसार नाटककार लम्सालले २०६४ सालमा लेखेको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको हो । ‘हाम्रो समाजमा नाटक हेर्ने संस्कृतिको विकास सुरु भएको छ । हामी मोफसलबाटै यसकार्यलाई प्रेरित गर्दै लगेका छौं’ उनले भने । लमजुङमा माघ १८ देखि २० गतेसम्म मञ्चन गरिएको नाटक ‘पानीघट्ट’ र गतवर्ष प्रदर्शन गरिएको नाटक ‘फड्के’ लाई नाटककार लम्सालले पुस्तकमा समेत उतारेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७४ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?