कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शिल्पीमा “ययाति”

कान्तिपुर संवाददाता

काठमाडौँ — भोगविलास र लिप्साका उदाहरण दिनुपरे राजा ययातिको नाम लिने गरिन्छ । महाभारतको कथामा आधारित यी ययातिलाई भने यति बेला राजधानीको शिल्पी थिएटरमा भेट्न सकिन्छ ।

शिल्पीमा “ययाति”

हिन्दु पौराणिक कथाका चरित्रलाई युवा रंगकर्मी टंक चौलागाईंले स्टेजमा उतारेका हुन् । भारतीय नाटककार गिरीश कर्नाडको कृतिमा आधारित यो नाटक नियमित मञ्चन भइरहेको छ ।

मानिस जतिसुकै विद्वान् भए पनि सुख–सयल र भोग–विलासका निम्ति कतिसम्म अघि बढ्न सक्छन् ? ययातिको चरित्र मार्फत नाटकले यसलाई दृश्यात्मक व्याख्या गरेको छ । आफ्नो यौनलिप्साका लागि छोराको यौवनसमेत लिन पछि नपरेको राजा ययातिको चरित्र मार्फत समाजमा व्याप्त अनेकौं विसंगतिमाथि नाटकले व्यंग्य गर्न खोजेको छ भने, ‘अति भए पनि कसैको पनि साथ मिल्दैन’ भन्ने पाठ नाटकमा देखाउन खोजिएको छ । सधैं जयजयकार गर्ने राजाको इच्छाबमोजिम यौवन दिन नाटकमा कुनै पनि प्रजा अगाडि सर्दैनन् र अन्तत: आफ्नै छोराको यौवन वरण गर्नुपर्ने अवस्था आइपर्छ ।

नाटकको कथा साधरण छ । ययातिका छोरा पुरुराज र चित्रलेखा विवाह भएको पन्ध्र दिनपछि आफ्नो राज्य फर्किंदै छन् । ययातिको सम्बन्ध आफ्नी सुसारे शर्मिष्ठासँग भएको थाहा पाएपछि ययाति पत्नी रानी देवयानी महल छाडेर जान्छिन् । विवाह उत्सवमा सहभागी हुन आएका देवयानीका बुबा यो कुराले रिसाएर ययातिलाई बुढयौलीको श्राप दिन्छन् । राजाहरूको यौनासक्तिका कथाहरू धेरै लेखिएका छन् । यसमा पनि यही विषय छ । राजा ययातिको यौनासक्तिले गर्दा आएको परिणाम वरिपरि घुमेको छ कथा ।

डेढ घण्टा लामो नाटकको मञ्चनमा नयाँ प्रयोग गर्ने कोसिस भएको छ । संगीत र प्रकाशको व्यवस्थापन राम्रा लाग्छन् । कलाकारहरूले जीवन्त अभिनय गर्ने कोसिस गरेका छन् । नाटकमा पात्रहरूको संवाद जीवनपरक लाग्छ । तर संवादले मात्रै कथा व्यक्त गर्न खोज्नु नाटकको कमजोरी हो ।

नाटकमा घिमिरे युवराज, प्रकेश सिन्धुलीय, पवित्रा खडा, अर्चना पन्थी, सरस्वती अधिकारी, आकांक्षा जीसीको अभिनय छ । नाटक चैत ३ सम्म मञ्चन हुनेछ ।

प्रकाशित : फाल्गुन १६, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?