‘नाका’ को नालीबेली

सुशील पौडेल

काठमाडौँ — ‘छड्के’ मा सहायक निर्देशक भई काम गरिसके पनि फिल्म दर्शकका लागि अमित श्रेष्ठ चिनिएका अनुहार हैनन् । यति बेला यिनै अमित नाका क्षेत्रको अर्को आम जनतामाझ नचिनिएको विषयलाई उधिन्ने प्रयासमा शुक्रबारदेखि फिल्म ‘नाका’ ल्याएका छन् ।

‘नाका’ को नालीबेली

३३ वर्षअघि सिन्धुपाल्चोककै बाह्रबिसेमा जन्मेहुर्केका अमितले बच्चैदेखि नेपाल र चीनलाई जोड्ने खासा नाकाबाट हुने पस्मिनादेखि रक्तचन्दनसम्मका अवैध निकासी देखे । ‘वन्यजन्तुका अंगदेखि झिँगासम्म तस्करी हुन्छ,’ अमितले कान्तिपुरसँग भने, ‘त्यसबाहेक बहुमूल्य पत्थर, सुन बोकेर आउने तिब्बतीहरूलाई लुट्ने, मार्नेसम्म हुन्छ ।’


प्राय: तिब्बतीहरूको भागेर नेपाल छिर्ने क्रममा पीडा यता आएर पनि सकिँदैन । ‘एउटा घटना कहिल्यै पनि बिर्सिन्नँ,’ अमितले शरणार्थी तिब्बतीका पीडा खोल्ने क्रममा सम्झिए, ‘अवैध रूपमा नाका पार गरेकी एक तिब्बती युवतीलाई बाह्रबिसे छेउछाउका केटाहरूले सामूहिक बलात्कार गरे । त्यो कतै समाचार पनि आएन । त्यो तिब्बती केटीले केही गर्न नै सकिनन् । पुलिसकहाँ उजुरी गर्‍यो भने उतै खासा, लिपिङमै लगेर बुझाइदिन्थ्यो । त्यसबापत् चिनियाँ पुलिसबाट पैसा पाउँथे । त्यो घटनाले मेरो मनमा ठूलो चोट पर्‍यो ।’ उनका अनुसार, नाका क्षेत्रमा कैयांै तिब्बती मारिएका, लुटिएका र भीरबाट लडाइएका वा भोटेकोशीमा बगाइदिएका उदाहरण थुप्रै छन् । अमितले यसैलाई फिल्मांकन गरेर आमदर्शकलाई आफूले देख्दै, भोग्दै आएको दु:खान्तलाई भन्न चाहे ।


‘नाका’ मा विपिन कार्कीले गोल्डीको भूमिका निर्वाह गरेका छन्, जसको काम एक तिब्बती युवतीलाई नाका पार गराएर सुरक्षित ठाउँसम्म ठेगान लगाइदिनुपर्नेछ । तिब्बती युवतीको भूमिकामा तिब्बती थिन्ले ल्हामुले नै अभिनय गरेकी छन् । ‘नाका’ को कथाले दुई देशबीचको कूटनीतिक सम्बन्धमा अप्ठ्यारो त पार्दैन ? यसमा भने निर्देशक स्वयंले प्रस्ट्याए । भने, ‘यस्ता घटना त्यहाँ जगजाहेर नै छ । आम रूपमा मात्रै नआएको हो । फेरि मैले यसलाई मानवीय संवेदनाको पाटोबाट उठाउन खोजेको हुँ ।’


सुरुवातमा स्क्रिप्टको फस्ट ड्राफ्ट मूलत: प्रेमकथामा आधारित रहेछ । ‘कतिपय कुराहरू क्लिसे लागेपछि हामीले चेन्ज गर्‍यौं,’ निर्देशकले यति भनिसकेपछि विपिनले थपथाप गरे, ‘पहिले त तिब्बती केटीलाई पैसा लिएर निश्चित ठाउँसम्म पुर्‍याउने र त्यस क्रममा दु:ख पाउने, दुईबीच मायाप्रेम बस्ने कथा सोच थियो । तर यसमा खासै नयाँपन लागेन । यस्ता फिल्म कति हो कति बनेको पायौं । अलिकति फरक गर्ने सोचको उपजले ‘नाका’ जन्मियो ।’ फिल्म रिलिजसम्म आइपुग्दा सुरुवातको प्रेमी गोल्डी पूरै खलनायकमा बदलिएको छ । चरित्र चित्रणमा मिस्टर पर्फेक्सनिस्ट विपिनले गोल्डीबारे सुनाए, ‘चरित्रलाई केही फरक बनाउने अभिप्रायले कपालको हुलिया बदलें । भष्मे डनलाई चाहिँ बरु अलि मन पराउने खालको नै थियो ।’ विपिनको कुरा काटदै अमितले च्वास्स थपिदिए, ‘गोल्डीमा मानवता भन्ने नै छैन ।’ विपिन फेरि सुरु भए, ‘सधैं हिरोकै क्यारेक्टर नै गर्नुपर्छ भन्ने छैन । कलाकारका नाताले चरित्र निर्वाह गर्ने हो । यो फिल्म हेरेपछि दर्शकले मलाई गाली गरे वा सरापे भने खुसी लाग्नेछ ।’ त्यसो त उनी दोधारमा रहेछन् । दर्शकले गोल्डीलाई स्वीकार गर्लान् वा नगर्लान् भनेर । ‘मतलब अहिलेसम्म मैले दर्शकलाई हँसाएकोले मन पराइरहनुभएको थियो । यो क्यारेक्टरलाई च्यालेन्जिङ नै छ । म आफूलाई सेफ राख्ने थिएँ भने यसमा पनि हसाउन सक्थेँ । तर त्यो गर्नुभन्दा पनि नयाँ तरिकाबाट गरौं न भन्ने लाग्यो । मेरो चरित्रले दर्शकलाई क्यारी गरेर लैजाला भन्ने लाग्छ । फिल्म हेरेपछि गोल्डीले सक्ड बनाउँछ होला । गोल्डीप्रति यति घृणा उब्जन्छ कि दर्शकले थुक्न सक्छन्,’ थुकेको खण्डमा विपिन आफूलाई धन्य ठान्नेछन् ।


त्यसो त विपिन ‘नाका’ हेर्न सकभर आमाबुबाको सर्कल नजानुस् भन्छन् । ‘उहाँहरूलाई मन नपर्न सक्छ । हाम्रो लक्षित दर्शक युवा नै हुन्, जसले यसको कन्टेन्ट पचाउन सक्छ भन्ने लाग्छ ।’ तर विपिनभन्दा अघि बढेर अमितले भने सबै पुस्तालाई फिल्मले छुन सक्नेमा आशावादी देखिए । भने, ‘क्यारेक्टर नै क्रेजी टाइपका छन् । डाउट छ तर मन पराइदियो भने सबैलाई मन पर्न सक्छ ।’ आफ्नै समाजमा वास्तविक गोल्डीलाई देख्दा पनि अमितलाई थुक्नै मन लाग्थ्यो रे । तर फिल्मको लागि रिसर्च गर्दा भने अमितले तिनैको सहयोग लिएछन् । ‘अपराधमा संलग्न तिनैसँग बसेरै निकालेका कुरा हुन् यी । हामीलाई सतही कुरामा मात्रै ज्ञान हुन्छ तर डिटेलमा उनीहरूलाई मात्रै थाहा हुन्छ,’ अमितलाई फिल्म बनाइसकेपछि चाहिँ कत्तिको डर होला उनीहरूबाट ? भन्छन्, ‘मलाई त्यस्तो डर छैन । किनकि मैले नराम्रो काम गरेको छैन । एउटा सानो स्टोरी भन्न मन लागेको हो । अहिले त्यो स्टोरी भनिरहेको छु । अब दर्शकले त्यसलाई कसरी लिनुहुन्छ, त्योचाहिँ डरको कुरा छ ।’

प्रकाशित : फाल्गुन २०, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?