महिला नाटय महोत्सव

देवनारायण साह

मोरङ — ८ मार्च अर्थात् नारी दिवस नजिकिँदै छ । महिला सशक्तीकरणमाथि अनेक कोणबाट बहस हुँदै छन् । विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा भने भिन्न दृश्य हेर्न सकिन्छ । समकालीन नेपाली रंगमञ्चमा नारी प्रतिभाहरूले कसरी काम गरिरहेका छन् ? मंगलबारदेखि यहाँ सुरु तीनदिने ‘राष्ट्रिय महिला नाट्य महोत्सव’ उदाहरण बनिरहेको छ । 

महिला नाटय महोत्सव

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्वारा आयोजित महोत्सवको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरे । उनले नाटकको संवाद प्रस्तुत गरेर महोत्सवको उद्घाटन गरेका हुन् । महिला रंगकर्मीहरूलाई प्रोत्साहन गर्ने ध्येय बोकेको महोत्सवको पहिलो दिन तीन नाटक मञ्चन गरियो । महोत्सवका लागि महिला रंगकर्मीकै निर्देशन र अभिनय रहेको झन्डै एक दर्जन एकल नाटक छानिएका छन् । मंगलबार लोक सञ्चार नाट्य समूह जनकपुरको प्रस्तुति एवं प्रियंका झाको लेखन तथा निर्देशन रहेको ‘कथा नई भेटल’ (कथा भेटिएन), झोराहाट नाट्य समूह मोरङको प्रस्तुति एवं अनु श्रेष्ठको एकल अभिनय रहेको ‘बन्द बाकस’ र परिवर्तन थिएटर काँकडभिट्टाको प्रस्तुति एवं कविता नेपालको एकल अभिनय रहेको ‘सुनामी’ मञ्चन गरियो ।


मैथिली भाषाको ‘कथा नई भेटल’ मा बालविवाह र दाइजोको पीडा देखाइएको थियो । ‘बन्द बाकस’ मा जनयुद्धमा लागेका महिला छापामारहरूले रोजगारीका लागि खाडी मुलुकमा भोग्नुपरेको यौनहिंसाको कथावस्तु समेटिएको छ । ‘सुनामी’ मा भने महिला अधिकारसम्बन्धी विषयलाई पस्किएको थियो । प्रत्येक नाटकमा विभिन्न समुदायको भाषा, संस्कृति प्रस्तुत गरिएको थियो । बुधबार ज्योति राईको ‘विसंगत’, वन्सरी पाण्डेको ‘म रुपियाँ’ र वसन्ता सुनुवारको ‘वरी’ मञ्चन हुने प्रतिष्ठानका नाट्य विभाग प्रमुख एवं प्राज्ञ रमेशरञ्जन झाले बताए ।


काठमाडौं केन्द्रित रंगमञ्चलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले मुलुकमै पहिलो पटक महिला नाट्य महोत्सव गरिएको उनले बताए । महोत्सवमा १० देखि ३० मिनेटका नाटक मञ्चन हुने र दर्शकका लागि नि:शुल्क पासको व्यवस्था गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जनाए । आरोहण गुरुकुल, दहेजमुक्त मिथिला र मैथिली सेवा समितिको सहआयोजना रहेको महोत्सवले महिला सशक्तीकरणमा सघाउने उनले दाबी गरे । उद्घाटन समारोहमा मन्त्री कार्कीले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा रंगमञ्चले ठूलो भूमिका खेल्ने बताउँदै त्यतातिर प्रदेश सरकारले पनि योजना बनाउने जनाए ।

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?