कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

च्यारिटी डिनरमा मिसेस सुन्दरी

कान्तिपुर संवाददाता

लन्डन — मिसेस नेपाल यूके २०१७ विजेताहरूले आइतबार साँझ लन्डनमा एक च्यारिटी डिनर गरे ।

भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षाघात भएका बालबालिकाको सहयोगार्थ आयोजित च्यारिटी डिनर मिसेस नेपाल यूके २०१७ का विजेताहरू आस्था जोशी, अमृता गिरी गजुरेल, गीता बस्नेत पाण्डे, प्रिमा भट्टराई, मञ्जु शाह, शर्मिला पछाई थापा र अञ्जु श्रेष्ठले गरेका हुन् ।


कार्यक्रमबाट करिब १० लाख रुपैयाँ संकलन भएको मिसेस नेपाल यूके सल्लाहकार तथा च्यारिटीका परिकल्पनाकार शिवजी श्रेष्ठले जानकारी दिए । संकलित रकम छिट्टै नेपाल गएर प्रदान गर्ने योजना छ । कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले दिदीबहिनीले पवित्र र परोपकारी भावनाले च्यारिटी गरेको भन्दै प्रशंसा गरे । ‘तपाईंहरूले प्रस्तुत गर्नुभएको फरकफरक खालका नृत्य र नाटकले एकताको सन्देश दिएको छ,’ राजदूत सुवेदीले भने, ‘हामीहरू जहाँ भए पनि मनभित्र नेपाल हुनुपर्छ ।’ सुन्दरीहरूले गरेको स्वागत नृत्यमा प्रस्तुत शब्दजस्तै ‘सयथरी गोडा भए पनि एउटै चाल र बाजा सयथरी भए पनि ताल’ एउटै हुनुपर्ने उनले बताए । ब्रेन्ट काउन्सिल मेयर भगवान्जी चौहानले आफू विगत ११ वर्षदेखि नेपाली समुदायसँग निकट रहेको उल्लेख गर्दै कार्यक्रममा पाएको न्यानो आतिथ्यप्रति आभार व्यक्त गरे ।


कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, मिसेस नेपाल यूके संस्थापक मनीषा डंगोल श्रेष्ठले पनि च्यारिटीको प्रशंसा गरेका थिए । दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा मिसेस नेपाल यूके टिमले प्रस्तुत गरेको करिब आधा घण्टाको अपांग र नारीसम्बन्धी सन्देशमूलक नाटकले सहभागी सबैको मन जित्यो । आस्था जोशी र अमृता गिरी गजुरेलले कार्यक्रमको औचित्य प्रस्ट्याए भने गीता बस्नेत पाण्डे र प्रिमा भट्टराईले मस्तिष्कपक्षाघात रोग र सहयोग प्रदान गर्न लागिएको संस्था अनि त्यहाँ आश्रित बालबालिकाको स्थितिबारे पावर प्वाइन्ट प्रिजेन्टेसन दिए । अञ्जु श्रेष्ठ, शर्मिला पछाई थापा र शंकर गजुरेलले गायन प्रस्तुत गरे । गीता बस्नेत पाण्डे र अमृता गिरी गजुरेलको ‘रूपै मोहनी नारान...’ बोलको गीतमा प्रस्तुत नाचले धेरैको ध्यान आकृष्ट गर्‍यो । उक्त अवसरमा आस्था जोशी, मञ्जु शाह, प्रिमा भट्टराई, पुनम गुरुङ, दीपक थापा मैथानेले पनि नृत्य गरे ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?