२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मन मिल्ने साथीको खोजीमा राजेश

सांगीतिक टुर र कामले व्यस्त भएकाले बिहेका लागि समय निकाल्न पाएको छैन । अबको दुई वर्षमा भने पक्कै गर्छु ।
नारायण खड्का

अस्ट्रेलिया — सबैभन्दा बढी विदेश टुर गर्ने नेपाली गायकमा पर्ने राजेशपायल राई केही दिनदेखि यतै छन् । सांगीतिक प्रस्तुतिका लागि उनी पाँचौँ पटक सिड्नी आइपुगेका हुन् ।

मन मिल्ने साथीको खोजीमा राजेश

सांगीतिक रूपले सफल भए पनि अहिलेसम्म अविवाहित भएको विषयमा भने उनले धेरै प्रश्नको सामना गर्नुपरेको छ । ‘सांगीतिक टुर र कामले व्यस्त भएकाले विवाहका लागि समय निकाल्न पाएको छैन,’ उनले भने, ‘अबको दुई वर्षमा भने पक्कै गर्छु । अहिलेसम्म चाहिँ सिंगलै छु । बिहेका लागि मलाई बुझ्ने र मन मिल्ने साथी खोजिरहेको छु ।’


यो सांगीतिक व्यस्तता उनले फयाट्टै पाएका भने होइनन् ।
खोटाङको दुर्गम गाउँ बुइपामा जन्मेका उनी रेडियोमा गीत बजेको सुन्दा ‘आफू पनि त्यस्तै हुन पाए’ भन्दै कल्पिने गर्थे । रेडियोमा बज्ने रहर जाग्थ्यो । रेडियोमा सुनेका गीत कण्ठ गरेर डाँडाकाँडामा गएर दुरुस्त गाउने कोसिस गर्थे । लाहुरेको परिवार भए पनि सानैदेखिको संगीतप्रतिको रुचि र रेडियोभित्र पसेर गाउने त्यो रहर बोकेका उनी त्यही चाह पछयाउँदै अहिलेको अवस्थासम्म आइपुगेका हुन् ।


बाबुबाजे नै लाहुरमा भएकाले उनलाई पनि त्यतै जानुपर्ने दबाब थियो । तर, उनी रेडियो बोकेर डाँडाकाँडामा गीत गुनगुनाइरहेका हुन्थे । ‘त्यति बेला मलाई रेडियोभित्र बसेर आफू पनि सुनिने धेरै रहर जागेको थियो,’ उनले कान्तिपुरसँग भने, ‘मलाई संगीतप्रति यति मोह जाग्यो कि मैले भविष्यमा गीतसंगीतभन्दा अरू केही गर्दिनँ भन्ने प्रण नै गरिसकेको थिएँ ।’


त्यसैले पनि होला, उनी केही देशमा मात्र कार्यक्रम गर्न पुगेका छैनन्, नत्र उनले विश्वको सांगीतिक फन्को मारिसकेका छन् । ‘मलाई आफ्नो नामबाट संगीत झिकिदिने हो भने मेरो अस्तित्व नै नहोला जस्तो लाग्छ,’ उनले सुनाए, ‘संगीतप्रति मेरो यति लगाव थियो कि मैले जीवनमा संगीतबाहेक केही गर्न र सोच्न नै जानिनँ ।’


राजेशको सांगीतिक यात्रा संघर्षपूर्ण नै रहयो । ‘फैलियो माया दुबोसरी...’ गीत गाएपछि सबैले उनलाई चिनेनन् मात्र त्यसपछि सांगीतिक यात्राबाट पछाडि फर्किएर हेर्नु पनि परेन । विदेशमा धेरै कार्यक्रम गर्ने गायकमा गनिन्छन् उनी । त्यसैले पनि उनी आफ्नो ६० प्रतिशत सफलता विदेशबाटै पाएको सुनाउन धक मान्दैनन् । झन् पछिल्लो समयमा केही फिल्ममा अभिनयसमेत थालेपछि उनको परिचय फराकिलो भएको छ । उनका अनुसार, उदय सुब्बाले बनाउँदै गरेको फिल्म ‘बैना’ मा उनी मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।


उनी विदेशमा नेपाली गीतसंगीतप्रतिको रुचि देखेर अचम्भित मात्र हुँदैनन् कि उनीहरूलाई प्रोत्साहितसमेत गरिरहेका हुन्छन् । किनकि उनले बुझेका छन्, विदेशमा रहेर गीतसंगीत सृजना गर्नेहरूले नेपालको सांगीतिक व्यवसाय आधा बढी धानिदिएका छन् । अर्काेतिर कलाकारहरूलाई दिने माया र सम्मानको त उनी सधंै ऋणी रहेको बताउँछन् । त्यसैले विदेशमा रहेका सबै नेपालीभाषी गीतसंगीतप्रेमीलाई आफ्ना कलाकारलाई माया दिइरहन आग्रह गर्छन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?