कालीप्रसादको ‘गोर्खे गीत’

काठमाडौँ — सम्पादनको चरणमा रहेको फिल्म ‘डमरुको डन्डीबियो’ मा समाविष्ट गीत शुक्रबार सार्वजनिक गरियो ।

कालीप्रसादको ‘गोर्खे गीत’

‘तितेपाती तितेपाती झयाप, झयाप...’ बोलको गीतमा फिल्मका म्युजिक निर्देशक कालीप्रसाद बाँस्कोटाको संगीत र स्वर छ । शब्दचाहिँ कालीले एकतारे र हर्क साउदसँग मिलेर लेखेका छन् ।

‘यो स्पोर्टस सङ हो,’ आफ्नो नयाँ कम्पोजिसनबारे कालीप्रसादले भने, ‘नाचगान गर्न नमिल्ला । तर, सुनेपछि जोस–जाँगर आओस् भन्ने अपेक्षा छ ।’ दरबारमार्गको क्युज सिनेमामा आयोजित कार्यक्रममा गीतको भिडियो देखाइएको थियो । त्यसमा कलाकार अनुप बराल, खगेन्द्र लामिछाने, आशान्त शर्मा, मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, इंगी होपो कोइच सुनुवार लगायतलाई देख्न सकिन्छ ।

पञ्चेबाजा प्रयोग गरिएकाले कालीले यसलाई मौलिक वा ‘गोर्खे गीत’ भन्न रुचाए । खेलसम्बन्धी शब्दहरू यसमा राखिएको छ । डन्डीबियोको मर्म समात्न खोजेको कालीको भनाइ थियो । समारोहमा फिल्म निर्देशक छेतन गुरुङ, निर्माता विनोद गुरुङ, स्क्रिप्ट लेखक एवं कलाकार खगेन्द्र लामिछाने, कलाकार बुद्धि तामाङलगायत उपस्थित थिए ।

‘डन्डीबियो हाम्रो मौलिक खेल हो,’ निर्माता गुरुङले भने, ‘योसँग हाम्रो भावना जोडिएको छ ।’ खगेन्द्र फिल्मबारे खासै बोल्न चाहेनन् । यसलाई पर्गेल्ने काम दर्शक र सञ्चारकर्मीको भएको बताए । बुद्धिले चाहिँ सानोमा डन्डीबियो खेलेको सुनाए । ‘त्यो बेलाको खेल र अहिले (फिल्म) को खेलका नियमहरू अलि फरक छन्,’ उनले भने, ‘तर, मैले नडराई खेल्ने प्रयास गरेको छु । हाम्रो खेलबाट दर्शकले मनोरञ्जन लिनुहोला ।’ हरि हुमागाईंले खिचेको फिल्म वैशाख २१ मा प्रदर्शन हुनेछ ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?