१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओलम्पिक्समा नेपाली नाटक

‘भारतमा भइरहेको थिएटर ओलम्पिक्समा विभिन्न देशका गरी झन्डै पाँच सय नाटक देखाइँदै छन् । विदेशी रंगकर्मीसँगको अन्तक्र्रिया र ती नाटकबाट धेरै कुरा सिक्न सकिन्छ ।’
सजना बराल

काठमाडौँ — रंगकर्मी अनुप बराल गत मंगलबार भारतको त्रिपुरा पुगे । उनीसँग ‘थाङ्ला’ नाटक समूहका झन्डै दुई दर्जन कलाकार थिए । उनीहरूलाई भारतमा जारी थिएटर ओलम्पिक्समा भाग लिनु थियो ।

ओलम्पिक्समा नेपाली नाटक

रंगमञ्चको ओलम्पिकमा नेपालले पहिलो पटक सहभागी भइरहेको हो । ‘यो हाम्रा लागि गौरवको कुरा हो,’ रंगमञ्चबाट उदाएका अभिनेता दयाहाङ राईले भने, ‘देशको प्रतिनिधित्व हुँदै छ ।’


दयाहाङ अध्यक्ष रहेको मण्डला थिएटरबाट पनि ‘एन्टिगोनी’ नाटक ओलम्पिकमा देखाइँदै छ । निर्देशक राजन खतिवडासहित सिर्जना सुब्बा, विजय बराल, पशुपति राई, सोमनाथ खनाल, प्रदीपकुमार चौधरी लगायत कलाकार गुवाहाटी हुँदै दिल्लीको कार्यक्रममा सहभागी हुनेछन् । ‘विभिन्न देशका गरी झन्डै पाँच सय नाटक देखाइँदै छन्,’ दयाहाङले भने, ‘विदेशी रंगकर्मीसँगको अन्तक्र्रिया र ती नाटकबाट धेरै कुरा सिक्न सकिन्छ ।’


नेपालबाट अनुपले निर्देशन गरेको ‘थाङ्ला’, राजनको ‘एन्टिगोनी’, सुनील पोखरलको ‘जयामाया आफू मात्रै...’, रोशन कुमार मेहताको ‘जिउँदो आकाश’ र डेबोरा मेरोलाको ‘डायरी अफ आना फ्रांक’ गरी जम्मा पाँच नाटक ओलम्पिक्समा छानिएका छन् । यीमध्ये ‘थाङ्ला’ र ‘जिउँदो आकाश’ टोली भारत पुगिसकेका छन् भने बाँकी तीन वटा पनि यसै साताभित्र गइसक्नेछन् ।


‘न्यानो मायाका लागि स्थानीयप्रति आभार’, ‘जिउँदो आकाश’ का निर्माता सम्रान्त थापाले फेसबुकमा स्टाटस लेखेका छन्, ‘गुवाहाटीलाई धन्यवाद ।’


फेब्रुअरी १७ मा सुरु भएको ओलम्पिक्समा २५ हजार रंगकर्मी सहभागी हुनेछन् । दिल्ली, चेन्नई, भुवनेश्वर, इम्फाल, जम्मुलगायत सत्र सहरमा यो रंग–महोत्सव जारी छ । ओलम्पिक खेल सुरु गरिएको ग्रिसबाटै सन् १९९३ मा थिएटर ओलम्पिक प्रारम्भ भएको थियो । यसअघि जापान, रुस, दक्षिण कोरियालगायत देशले आयोजना गरेका थिए भने यसपालिको आठौं संस्करण भारतमा भइरहेको छ । यसलाई रंगमञ्चको सबैभन्दा ठूलो उत्सव मान्न थालिएको छ ।


‘पहिले–पहिले थिएटर फेस्टिभलमा भाग लिन भारत जान्थ्यौं,’ रंगकर्मी निशा शर्माले भनिन्, ‘यसपटक झनै बृहत् फेस्टिभल हुँदै रहेछ । हाम्रा पाँचवटा नाटक छानिनु ठूलो कुरा हो । यसमा भाग लिने कुरालाई भारतीयहरू नै गर्वको विषय मान्छन् ।’ उनका अनुसार प्रत्येक नाटकलाई दुई सहरमा एक–एक सो दिइएको छ । ‘फ्ल्याग अफ फ्रेन्डसिप’ शीर्षकमा भारतको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) ले ओलम्पिक्स आयोजनाको जिम्मा लिएको छ ।


फेस्टिभलमा जापान, इटाली, बंगलादेश, फ्रान्स, जर्मनी लगायतका ५० थिएटर ग्रुप र भारतकै १५० वटा समूहका नाटक दुई महिनाभर देखाइँदै छन् । रंगकर्मीबीच नेटवर्क स्थापना गर्नुका साथै एक–अर्काका अनुभव र विचार साझा गर्ने उद्देश्यले थिएटर ओलम्पिक्स (टीओ) आयोजना गर्ने गरिन्छ । ‘नेपाली नाटकले विदेशमा प्रतिष्ठा कायम राखेका छन्,’ निशाले सुनाइन्, ‘यसपालि त झन् विविध विषयका स्तरीय नाटक देखाउँदै छौं, राम्रो सन्देश जाला ।’


अन्य देशमा पनि अवसर
नेपाली नाटय टोलीले धेरैजसो भारतका नाटक महोत्सवहरूमा भाग लिने गरेका छन् । त्यहाँ रंग शंकरा थिएटर फेस्टिभल, गोइङ सोलो, पृथ्वी थिएटर फेस्टिभल, सेन्टरस्टेज, इन्टरनेसन थिएटर फेस्टिभल अफ केरला, भारतरंग महोत्सवलगायत फेस्टिभल हुने गरेका छन् । यसबाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान, डेनमार्क, नर्वे, थाइल्यान्डजस्ता देशमा पनि नेपाली नाटक मञ्चन हुने गरेका छन् ।


‘‘मैले विदेशमा धेरै देखाएको नाटक ‘अ डल्स हाउस’ हो,’’ निशाले भनिन्, ‘भारतमै कयौं पटक देखाएँ । नर्वे र डेनमार्कमा देखाउँदा धेरै तारिफ पाएकी थिएँ ।’


उनी २०५८ मा गुरुकुल समूहबाट पहिलो पटक नाटक लिएर बंगलादेश गएकी थिइन् । त्यो बेला नेपालमा धेरै नाटकहरू बन्दैनथे । अहिले रंगमञ्च नै आधा दर्जन पुगिसके भने नाटक समूह पनि राम्रै संख्यामा छन् । उनीहरू आफ्ना नाटकलाई देश–विदेशमा पुर्‍याइरहेका हुन्छन् ।


नेपालका नाटकहरू कतिपय मौलिक हुन्छन् भने केही अनूदित पनि । विदेशतिर अंग्रेजीमा संवाद बोल्न आग्रह आउने गरेको निशाले बताइन् । ‘तर, हामी मान्दैनौं,’ उनले भनिन्, ‘नाटकको आफ्नै भाषा हुन्छ । यसलाई बुझाउन तेस्रो भाषाको आवश्यकता पर्दैन भन्ने लाग्छ ।’


विदेशी नाटकको अनूदित भर्सनमा पनि कहीँ न कहीँ मौलिकता लुकेको हुनाले अन्तर्राष्ट्रिय दर्शकलाई फरक दृष्टि मिल्ने दयाको बुझाइ छ ।


‘यसपालि हामी सोफोक्लिजको एन्टिगोनीलाई नेपाली अनुवादमा प्रस्तुतमा गर्दै छौं,’ दयाले भने, ‘पुरानो ग्रिकको कथा भए पनि यसमा हाम्रो प्रसंग आएको छ । यसका अन्य भर्सन पनि त्यहाँ देख्न पाइएला । फरक धार, फरक शैली हेर्न रमाइलो हुन्छ ।’ नाटक मौलिक भए थप काइदा हुनेमा चाहिँ उनको दुई मत छैन ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?