कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

“रंगमञ्च भुल्न सक्दिनँ”

‘अधिकांश नेपाली फिल्ममा अलमलपन बढी छ । नेपाली फिल्मको फरक शैली निर्माण हुन सकेको छैन ।’

धनकुटा — दयाहाङ राई ठूलो पर्दाका व्यस्त अभिनेता मानिन्छन् । भटाभट फिल्म खेलिरहेका छन् उनी । रंगमञ्च हुँदै यहाँसम्म आइपुगेका उनलाई आफू हिँडेको बाटाको माया भने उत्तिकै छ । र, रंगमञ्चले अहिले पाउँदै गरेको दर्शकमायाबाट पनि उनी उत्तिकै हर्षित छन् ।

“रंगमञ्च भुल्न सक्दिनँ”

‘हाम्रो नाट्य क्षेत्र पछिल्लो समय व्यावसायिक बन्दै गएको छ,’ पूर्वाञ्चल गट टयालेन्टको निर्णायक बन्न हालै धनकुटा आएका ‘लुट’ अभिनेताले भने, ‘यसको विकास र विस्तारका लागि यो राम्रो कुरा हो ।’

उनका अनुसार, फिल्ममा भन्दा नाटकको अभिनय जीवन्त हुन्छ । भने, ‘फिल्म निर्देशकमा निर्भर हुने गर्छ । नाटक सबै कलाकारको जीवन्त प्रयासबाट, अभिनयबाट सजिव बन्ने गर्छ ।’

पछिल्लो समय सर्वसाधारणमा नाटक हेर्ने संस्कार विकसित भएको देखेर आफू दंग पर्ने गरेको उनले सुनाए । दर्शकहरूको उपस्थिति यसैगरी बाक्लिँदै गए नाटक क्षेत्र उक्सिन बेर नलाग्ने उनको ठम्याइ छ ।

‘काठमाडौँ मात्र होइन, विराटनगर, झोराहाट, पोखरा लगायतका स्थानमा नियमित रूपमा नाटक मञ्चन हुने गरेका छन्,’ उनले भने, ‘थिएटर धमाधम खुल्दै जानुले पनि नाटकको भविष्य उज्ज्वल छ भन्ने देखाउँछ ।’

नाटक क्रेज बढ्दै गए पनि यसमा उनले केही जटिलता देखेका रहेछन् । ‘फिल्मको स्क्रिप्ट लेखनमा कलम चलाउनेहरू धेरै छन्,’ उनले भने, ‘नाटक लेखनमा पछिल्लो पुस्ता सेलाएको हो कि जस्तो लागिरहेको छ ।’

फिल्म र नाटक क्षेत्रमा अभिनय गर्न सहज नभएको उनको अनुभव छ । नाटक निर्देशनतिर हात हाल्ने उनमा उत्कट चाहना छ ।

फिल्मका लागि प्रशस्त अफर आउने गरे पनि कथा वस्तुबाट सन्तुष्टि भएर मात्र रोज्ने गर्दा आफूले सफलता पाउ‘दै गएको उनले बताए । भने, ‘तर दर्शकको अपेक्षाअनुसार अझै स्तरीय फिल्म बन्न भने जरुरी छ । अधिकांश नेपाली फिल्ममा अलमलपन बढी छ । नेपाली फिल्मको फरक शैली निर्माण हुन सकेको छैन ।’

प्रकाशित : चैत्र ७, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?