फेक अकाउन्टले हैरानी

यस्ता कुरा हेर्दा मलाई नै असजिलो हुन्छ । हाम्रो इमेजमा नराम्रो असर पारिरहेको छ । - केदार घिमिरे, माग्नेबुढा
सुनीता साखकर्मी

काठमाडौँ — बलिउडका रनवीर कपुर, कंगना रनवत लगायत हलिउडका कतिपय सेलिब्रिटी सामाजिक सञ्जाल चलाउँदैनन् । तर, फेसबुकको सर्च गरियो भने उनीहरूकै नाम र फोटोयुक्त फेक अकाउन्ट टन्नै भेटिन्छन् ।

फेक अकाउन्टले हैरानी

सामाजिक सञ्जालमै सक्रिय नेपाली सेलिब्रिटीहरूको पनि थुपै्र नक्कली फेसबुक अकाउन्ट भेटिने गरेको छ । केही दिनअघि ‘मिस नेपाल वल्र्ड २०१७’ निकिता चाण्डकले यसबारे इन्स्टाग्राममा पोस्ट नै राखिन् । उनले पोस्टमा आफ्नो नाम प्रयोग गरेर खोलिएको पेजबाट विभिन्न युटयुब भिडियोहरू प्रमोट भएकोमा दुखेसो पोखिन् । ‘भर्खरै मेरो नाममा खोलिएको फेसबुक पेज भेट्टाएकी छु, जसमा १५/१६ हजार फलोअर छन्,’ उनले लेखेकी छन्, ‘यो पेज स्पोन्सर गरिएको छ र यसले विभिन्न युटयुब भिडियोहरू प्रमोट गरिहेको छ । यो पेजलाई रिपोर्ट गर्न सबैलाई आग्रह गर्छु ।’

फेसबुक आफ्नो बौद्धिक सम्पत्ति भएकाले उक्त पेज डाउन गर्न निकिताले पेजमा मेसेज गरेको स्क्रिनसट खिचेरै पोस्ट गरेकी छन् । हुन पनि उनको नाम टाइप गरेर सर्च गर्दा एक दर्जनबढी फेसबुक अकाउन्ट भेटिन्छन् । सत्तरीबढी फेसबुक पेज उनकै नाम र फोटोमा छन् भने केही उनको फयानक्लब र अनअफिसियल पेजहरू भेटिन्छन् भने इन्स्टाग्राममा झन्डै चालीस वटा अकाउन्ट फेला पर्छन् ।

अभिनेत्री श्वेता खड्काले दुई पटक महानगरीय अपराध महाशाखा हनुमानढोकामै पुगेर आफ्नो नाममा रहेको नक्कली अकाउन्ट डिलिट गर्न लगाइसकेकी छन् । तर अहिले पनि उनको नाम सर्च गर्दा पाँच/सातवटा फेसबुक पेज र अकाउन्टहरू भेटिन्छन् । ‘मेरो दुइटा मात्रै फेसबुक पेज छन्, एउटा आफ्नो पर्सनल र अर्काे मेरो संस्थाको लोगो भएको,’ उनले भनिन्, ‘अरू सबै फेक हुन् ।’ उनले हनुमानढोकामा गएर एक पटक १८ वटा र अर्काे पटक दर्जन फेक आईडी डिलिट गर्न लगाएकी थिइन् । ५० हजारभन्दा बढी फलोअर भएको अकाउन्टलाई डिलिट गर्न केही थप समय लाग्ने उनको अनुभव छ । यस्तो फेक अकाउन्टको कारणले धेरै समस्या झेल्नुपरेकाले नै डिलिट गर्न लगाएको उनले बताइन् । भनिन्, ‘हामीले बोल्दै नबोलेको कुराहरूलाई स्टाटसको रूपमा लेखिदिनुहुन्छ । जसले हाम्रो अकाउन्ट हेर्नुभएको छ, उहाँहरूलाई त्यो हामीले भनेको जस्तो लाग्छ जसले हामीलाई नराम्रो सोच्नुहुन्छ ।’

हास्यकलाकार केदार घिमिरे (माग्नेबूढा) का तीनवटा अफिसियल फेसबुक अकाउन्ट छन् । दुइटा फयानहरूका लागि र एउटा केवल परिवारका सदस्यका लागि । तर फेसबुकमा उनको पनि टन्नै फेक अकाउन्टहरू भेटिन्छन् । उनी आफ्नो नाममा भएका फेक अकाउन्टहरू पनि खोजीखोजी बेलाबेलामा त्यसमा आएका स्टाटसहरू पढ्ने गर्छन् । उनले कतिपटक त मेसेज गरेर ‘यस्तो नलेखिदिनुहोला’ पनि भनेका रहेछन् । ‘कसैको फोटो सेयर गर्‍यो भने १० हजारको रिचार्ज पाउनेदेखि सस्ता कुराहरू पोस्ट गरेको उनले भेट्टाएका छन् । ‘यस्ता कुरा हेर्दा मलाई नै असजिलो हुन्छ । हाम्रो इमेजमा नराम्रो असर पारिरहेको छ,’ उनले भने, ‘किनकि फलोअरले माग्नेबूढा भनेर सम्झिएका हुन्छन् । हामीले गलत मेसेज दिइरहेको छौँ भन्ने दर्शकमा पर्न जान्छ ।’

फेक अकाउन्टसम्बन्धी उजुरी कसको बढी ?
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले सेलिब्रिटीभन्दा पनि फेक अकाउन्टले समस्या परेको भन्दै सर्वसाधारणको बढी उजुरी पर्ने गरेको बताए । ‘फेक फेसबुक अकाउन्टबाटै ठगी गरेको, ज्यान केस, अश्लील फोटो, भिडियो राखेको समस्या सर्वसाधारण नै लिएर आइरहेका छन्,’ उनले भने, ‘म प्रवक्ता भएर यहाँ आएको ८ महिना भयो, कोही सेलिब्रिटीको उजुरी परेको छैन । बरु सर्वसाधारणहरू थुप्रै आइरहेका छन् ।’


के गर्ने त ?
प्रहरीलाई पनि कुन अकाउन्ट फेक हो भन्ने थाहा नहुने उप्रेतीले बताए । सम्बन्धित व्यक्तिले आफंै आएर महाशाखामा अकाउन्ट फेक हो भनेर उजुरी दिनुपर्ने उनले जनाए । ‘पीडितको निवेदन, जाहेरी परेपछि नै हामीले अनुसन्धानको प्रक्रिया थाल्छौँ र फेसबुकलाई त्यो अकाउन्ट डिलिट गर्न आग्रह गर्छाैँ,’ उनले भने । फेक अकाउन्ट खोलेर गरेको कसुरअनुसार नै सजाय तय हुने उनले जनाए । कुन अकाउन्ट सही हो भन्ने थाहा पाउन गाह्रो हुने भएकोले कलाकार केदार घिमिरेले आफ्ना फयानलाई सुझाव पनि दिए । भने, ‘कलाकारहरूले बेलाबेलामा फेसबुक लाइभ गर्छन् । फेक आईडी वालाले गर्न सक्दैन । कुनमा फेसबुक लाइभ आएको छ, त्यही अकाउन्ट फलो गर्नुस् ।’ फोटो, स्टाटस् र विभिन्न भिडियो मात्रै पोस्ट गर्नेलाई विश्वास नगर्न उनले सुझाए ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?