कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जालैमा पार्‍यो फेसबुकले...’

रौतहट — चन्द्रपुर महोत्सवमा अरू दिनभन्दा बुधबार भिन्न माहोल देखियो । गायक शिव परियार आउने भएपछि किशोर–किशोरी र युवा–युवती महोत्सव पुगेका थिए ।

‘जालैमा पार्‍यो फेसबुकले...’

सुरुमा हास्य कलाकार दिनेश काफ्लेले क्यारिकेचर गरेर हँसाए । समय ढल्किँदै जाँदा गायक परियार मञ्चमा देखा परे । सुरुमा एक लाइन गाउँदै दर्शक तताउने प्रयास गरे– ‘बेहोसपछि त होसमा आउँदा क्या दामी भो...।’ यसपछि माहोल संगीतमय बन्यो ।

सुरुवातमै ‘पाकेर खा’ को फल मीठो भन्ने...’ गाएर दर्शकलाई नचाए । मञ्च नजिक झुम्मिएका किशोर/किशोरी निकै उत्साहित देखिए । दर्शक दीर्घाबाट उनलाई फ्लाइङ किस दिने युवायुवती थुप्रै देखिन्थे । त्यसैबीच, उनले ‘बेहोसपछि त होसमा आउँदा क्या दामी भो...’ लाई पूरै गाए । अन्य दिनको तुलनामा दर्शकको भीड बढी देखियो । बिहीबारबाट हुने एसईई परीक्षाको सफलताका लागि उनले किशोर–किशोरीलाई शुभकामना पनि दिए । लगत्तै उनले यमन सुवेदीले लेखेका ‘मलाई जालैमा पार्‍यो फेसबुकले...’ गीत गाए । दर्शकको हुटिङ र नृत्यको भरपुर साथ पायो गीतले । दर्शक भने सेल्फी खिच्न तम्सिरहेका थिए ।

चन्द्रपुर सिटी जेसिसले महोत्सवको गरेको हो । पूर्वको कार्यक्रम सकेर आएका गायक परियारले ‘हल्ला हल्लामै माया बस्यो...’ गाउँदा महोत्सवमा रोटे पिङ खेल्न बसेका दर्शकसमेत कुदेर आए । अर्जुन पोख्रेलले रचेको ‘तिमीलाई छुन्छ छुँदैन मेरो मायाले...’ ले पनि राम्रै दर्शक साथ मिल्यो । उनीहरू गायक परियारलाई मञ्चबाट तल आउन दर्शकले अनुरोध गरिरहेका थिए । अन्य दिनभन्दा दर्शक बढी भएकाले आयोजकले गायक परियारलाई तल जान भने अनुमति दिएनन् ।

ढल्किँदै गरेको साँझमा ‘तिमीलाई यो मनले खोज्यो...’ गाउँदै गर्दा दर्शक भने घर फर्किन हतारिएका थिएनन् । उनको प्रस्तुति मोबाइलमा कैद गर्न धेरै दर्शक नजिक पुग्थे । तर, सुरक्षाकर्मी अघि बढिहाल्थे रोक्नलाई । केही युवायुवतीको समूह उनीसित सेल्फी लिन मञ्च छेउमा कुरिरहेका थिए ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?