२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रतिस्पर्धामा ८८

फान अवार्ड

काठमाडौँ — चलचित्र कलाकार संघले दोस्रो फान अवार्डका २४ विधाका उत्कृष्ट पाँचको मनोनयन बुधबार सार्वजनिक गरेको छ ।

मनोनयनमा परेका कलाकर्मीलाई संघले प्रमाणपत्र वितरण गर्‍यो । २०७३ मा प्रदर्शन भएका ८८ फिल्मबाट मनोनयन तयार पारेको कार्यक्रममा जनाइयो ।

सर्वोत्कृष्ट फिल्म विधाको मनोनयमा ‘के म तिम्रो हैन र ?’, ‘गाजलु’, ‘छक्का पञ्जा’, ‘जात्रा’ र ‘लुट २’ परेका छन् । उत्कृष्ट अभिनेतामा दीपकराज गिरी, विपिन कार्की, माओत्से गुरुङ, दयाहाङ राई र सौगात मल्लबीच प्रतिस्पर्धा हुँदै छ । अभिनेत्रीमा शिल्पा पोखरेल, प्रियंका कार्की, वर्षा राउत, सिर्जना सुब्बा र केकी अधिकारी छन् ।

सर्वोत्कृष्ट निर्देशकमा मिलन चाम्स, निश्चल बस्नेत, रामबाबु गुरुङ, हेमराज बीसी र आकाश अधिकारी परेका छन् ।

संघले सर्वोत्कृष्ट कथा, संवाद, छायांकन, नवनिर्देशक, नवनायक/नायिका, पाश्र्व गायक/गायिकालगायत विधामा अवार्ड दिनेछ । ‘कलाकर्मीको मान, सम्मान र प्रतिष्ठाका लागि अवार्ड आयोजना गरेका हौं,’ संघकी महासचिव एवं अवार्ड संयोजक सरिता लामिछानेले भनिन् ।

सर्वोत्कृष्ट ५ मध्ये १ लाई चैत १६ मा आर्मी अफिसर्स क्लबमा हुने अवार्ड समारोहमा ट्रफी प्रदान गरिनेछ । फिल्म क्षेत्रमा सेवा पुर्‍याएका एकलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । यसमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ हुनेछ ।

‘कसलाई दिने भनेर निर्णय भइसकेको छैन,’ लामिछानेले भनिन्, ‘निर्णायकबारे पनि समारोहमै जानकारी दिइनेछ ।’ जुरी संयोजकचाहिँ हरिहर शर्मा छन् ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?