कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँघुरोका कथा–व्यथा

‘यो आइडियाले जादू गर्छजस्तो लागेको थियो । तर, उड्ने/गुड्ने फिल्मले प्रशंसा पाइरहेका बेला हामीले प्रवद्र्धन गर्नै सकेनौं । नौवटा फिल्मसँग जुधेको थियो । नवनिर्माता र वितरकसँग काम गरेको थिएँ, मैले तरिका जानिनँं ।’

काठमाडौँ — सन् २००८ मा ‘अवेकन आइज’ शीर्षक सर्ट फिल्ममा जोयस पाण्डे अभिनेताका रूपमा आबद्ध थिए । उनलाई विषयले यति छोयो, त्यसको पाँच वर्षपछि यसलाई फिचर फिल्ममा उतारे । नयाँ शीर्षक राखे, ‘साँघुरो’ ।

साँघुरोका कथा–व्यथा

यसमा उनी निर्देशकको भूमिकामा थिए । समान धारका फिल्महरू आइरहेका बेला जोयसको प्रस्तुति बेग्लै शैलीको मानियो । तर, विडम्बना, फिल्मले व्यावसायिक सफलता हात पारेन । बरु, घाटा खायो ।
‘यो आइडियाले जादू गर्छजस्तो लागेको थियो,’ निर्देशक जोयस भन्छन्, ‘तर, उड्ने/गुड्ने फिल्मले प्रशंसा पाइरहेका बेला हामीले प्रवद्र्धन गर्नै सकेनौं । नौवटा फिल्मसँग जुधेको थियो । नवनिर्माता र वितरकसँग काम गरेको थिएँ, मैले तरिका जानिनँं ।’ बिग मुभिजमा प्रोजेक्टर बिग्रिएर फिल्म देखाउन नपाएको ‘अनौठो’ अनुभवसमेत उनीसँग छ । यस्ता सम्झनाहरू उनले बिहीबारको फिक्सन फिल्म सेरिजमा सुनाए ।

दुई घण्टाको फिल्म प्रदर्शनपछि निर्देशक जोयससँग छलफल गरियो । सहभागीले निर्देशकसँग जिज्ञासा राख्नुका साथै फिल्मका सबल र कमजोर पक्षबारे आफ्ना धारणा राखे । ‘यौन मनोविज्ञानलाई समातेर कथानक विस्तार गरिएको रहेछ,’ दर्शकका रूपमा उपस्थित अर्का निर्देशक सचिन घिमिरले भने, ‘मुख्य द्वन्द्वमा यति मज्जाले अडिग रहे पनि ट्रिटमेन्टमा निर्देशक हाबी भएको आभास भयो । हाम्रो स्कुलिङले नै यस्तो गराएको होला ।’


जोयसले पनि फिल्ममा मनग्गे त्रुटि रहेको स्विकारे ।

फिल्मले सुकुम्बासी बस्तीका नवविवाहित जोडीको यौन सकसलाई चित्रण गरेको छ । सहरका गरिबको कथा हो साँघुरो । यसमा सुशान्त मैनाली, दयाहाङ राई, दिया मास्के, अरुणा कार्की, रवि गिरीलगायतको अभिनय छ । विनोद पौडेलको कथा र पटकथालाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्ममा सिनामंगल छेउको सुकुम्बासी बस्तीलाई आउटडोर सेटिङ बनाइएको निर्देशकले जानकारी दिए । ‘इनडोर सुटिङका लागि अलि पर सेट निर्माण गरेका थियौं,’ उनले भने, ‘वास्तविक ठाउँ र सेटको दूरी टाढा हुँदा धेरै दु:ख पाइयो ।’

यौन मनोविज्ञानमा आधारित भएकाले सेन्सरमा कत्तिको दु:ख भयो भन्ने प्रश्नमा उनले सहजै युनिर्भसल सर्टिफिकेट पाएको अनुभव सुनाए । ‘काटेर सर्ट मुभी बनाइदेलान् भन्ने डर थियो,’ उनी सम्झन्छन्, “तर, उहाँहरूले ‘फिल्म सफा र स्तरीय भएकाले यसको कन्टेन्टलाई सम्मान गर्दै युनिभर्सल सर्टिफिकेट दिन्छौँ’ भनेको सुन्दा छक्कै परेको थिएँ ।” जोयसले चलनचल्तीका भन्दा अलग फिल्म बनाएर आफ्नो छुट्टै शैली निर्माण गर्न चाहेको पनि बताए ।

प्रकाशित : चैत्र २३, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?