कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला हिंसाविरूद्ध हिपहप

कलामार्फत गरिने सोसल मुभमेन्ट र क्याम्पेनहरू निकै प्रभावकारी हुन्छन् ।

काठमाडौँ — महिला हिंसाविरुद्ध चौतर्फी आवाज उठिरहेको बेला अमेरिकी हिपहप गायिका महोगानी जोन्स यस्तै अभियान लिएर नेपाल आएकी छन् ।

महिला हिंसाविरूद्ध हिपहप

अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई बढावा दिन अमेरिकी दूतावासले गर्दै आएको ‘कला दूत’ कार्यक्रमअन्तर्गत उनी नेपाल आइपुगेकी हुन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले महिला हिंसाविरुद्ध आफ्नो कलाको सदुपयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

महिला हिंसाविरुद्ध लड्न महोगानीले ‘प्युअर’ नामक अभियान नै सुरु गरेकी छन् । २० वर्षको भएपछि र्‍याप सिक्न थालेको र त्यसपछि एउटा ठूलो र्‍याप कम्पिटिसनमा गएपछि उनी र्‍यापतिरै लागेकी थिइन् । ‘त्यति बेला महिला भएकै कारण हामी हेपिनुपर्‍यो । मेरो छालाको रंग, तौल, जातीयताको कुरालाई लिएर मानिस हेप्थे,’ उनले भनिन्, ‘जब मैले र्‍याप र हिपहप सुरु गरेँ, मैले आफूलाई बलियो महसुस गरेँ । मानिसले मलाई फरक ढंगले हेर्थे, मेरो गीत सुन्थे र मलाई जज गर्थे ।’ त्यसपछि उनले महिलाकै लागि गीत लेख्न र गाउन थालेको पनि सुनाइन् । उनले आफ्नो एल्बमहरूलाई महिला हिंसाविरुद्ध समर्पण गरेकी छन् ।

‘कलामार्फत गरिने सोसल मुभमेन्ट र क्याम्पेनहरू निकै प्रभावकारी हुने मेरो बुझाइ छ,’ पत्रकार भेटघाटमा उनले भनिन्, ‘नेपालका कतिपय स्थानमा महिलाहरूको शैक्षिक पहुँच कमजोर छ भन्ने सुनेकी छु । रूढिवाढी परम्परामा जेलिएका महिलाहरूलाई जगाउन कलाको माध्यम फलदायी हुन सक्छ ।’ प्रस्तुतिका क्रममा हिपहप, नारी सुलभता, आध्यात्मिकता र अनुरागलाई एकसाथ आत्मसात गर्ने उनले सुनाइन् ।

उनै हिपहप गायिका महोगानी शनिबार जावलाखेलस्थित फुटबल खेल मैदानमा प्रस्तुत हुँदै छिन् । उनीसँगै उनको ब्यान्डले सोमबारचाहिँ वीरगन्जमा प्रस्तुति दिनेछन् । जावलाखेलमा नेपाली गायकहरू लाउरे, स्वप्न सुमन, सन्ध्या जोशी, कार्टुन्ज क्रू र नेपाल हिपहप फाउन्डेसनले पनि उनलाई सघाउनेछन् । वीरगन्जको आदर्शनगर रंगशालामा भने गायक शिव परियार, सुनील पण्डित र सन्ध्या जोशीले पनि प्रस्तुति दिनेछन् । सन् २०१६ को क्रेस्गी आर्टस् फेलो पाएकी महागानी पार्क ‘फ्री स्टाइल फ्राइडेज’ पदकबाट चार पटक सम्मानित भइसकेकी छन् भने उनी ४ महादेशका १३ भन्दा बढी देशमा औपचारिक अमेरिकी संगीत दूतसमेत हुन् ।

प्रकाशित : चैत्र २३, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?