‘‘लिली बिली’ बाट आशा’
काठमाडौँ — केही साताअघि मात्रै ‘ब्लाइन्ड रक्स’ ल्याएका निर्देशक मिलन चाम्सका दुई साताको फरकमा पुन: दुई फिल्म ‘लिलिबिली’ र ‘ह्याप्पी डेज’ आउँदै छन् ।
यतिबेला भने उनी शुक्रबारदेखि रिलिज हुने ‘लिलिबिली’ को प्रचारमा व्यस्त देखिए । चाम्सले प्रदीप खड्का र जसिता गुरुङ जोडी अभिनीत ‘लिलिबिली’ को दर्शकमाझ अपेक्षा उच्च रहेको दाबी गरे । उनले फिल्मको प्रचारका क्रममा पाएको प्रतिक्रिया र प्रदीपले लगातार हिट फिल्म दिइरहेको कारण पनि ‘लिलिबिली’ प्रति अपेक्षा बढेको तर्क गरे ।
प्रदीपले पनि फिल्मबाट आफूले आशा गरेको सुनाए । उनले डेब्यु अभिनेत्री जसितासँगको केमेस्ट्री दर्शकलाई रुचिकर लाग्ने विश्वास व्यक्त गरे । भने, ‘यसपटक हिरोइनका विषयमा कम्प्लेन आएको छैन ।’
खड्काले को–स्टारको मामिलामा हस्तक्षेप नगर्ने बताए । हिट कलाकारको पंक्तिमा गनिने खड्कासँग डेब्यु गरेकी जसितालाई छायाँमा परिने डर होला कि ? उनले भनिन्, ‘काम राम्रो गरेपछि कसैले छेकेर छायाँमा पर्छु जस्तो लाग्दैन । हो, पहिले एक्टिङ गरेकी थिइनँ, तर राम्रो टिम भएकाले काम पनि राम्रै गरेको छु ।’ उनले पनि दर्शकले फिल्मलाई रुचाउनेमा आशावादी रहेको बताइन् ।
गोविन्द शाही र सुदीप खड्काको निर्माण रहेको ‘लिलिबिली’ मा प्रदीप र जसितासहित प्रियंका कार्की, अनुपविक्रम शाही, सबिन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सलगायतको अभिनय रहेको छ भने फिल्मको छायांकन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहेको छ ।
प्रकाशित : चैत्र २७, २०७४ ०८:५९