२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

२५ वर्षमा ग्य्रान्ड कन्सर्ट

पछिल्लो समय हाम्रा गीत काउन्ट डाउनमा आएका छैनन्, हामीले अवार्ड पाएका छैनौं तर हाम्रा फ्यानलाई निराश पनि बनाएका छैनौं । - मंगोलियन हार्ट
सजना बराल

काठमाडौँ — यो साल विभिन्न रक, पप ब्यान्डले आफ्नो स्थापना कालको पच्चीसौं वर्ष पूरा गरे । यही अवसरमा ‘नेपथ्य’, ‘मुक्ति एन्द रिभाइभल’, ‘कबवेब’ लगायतले थुप्रै ठाउँमा कार्यक्रम गरिरहेका छन् । यो क्रम आगामी वर्ष पनि जारी रहने संकेत देखिएको छ ।

२५ वर्षमा ग्य्रान्ड कन्सर्ट

२०७५ को प्रारम्भमै लोक–पप ब्यान्ड ‘मंगोलियन हार्ट’ ले आफ्नो रजत जयन्ती मनाउँदै छ ।


वैशाख ८ गते चुच्चेपाटीस्थित ह्यात ग्राउन्डमा ‘ग्य्रान्ड लाइभ इन कन्सर्ट’ गर्न लागेको ब्यान्डका गिटारिस्ट बबी लामाले जनाए । पच्चीस वर्ष पुगेको सन्दर्भमा कन्सर्टको टिकट दर पनि २५ रुपैयाँ मात्र राखेको उनले बताए । ‘यो हाम्रो सेलिबरेसन हो,’ उनले भने, ‘यसबाट पैसा कमाउने उद्देश्य छैन । जति रकम उठ्छ, सबै टुसाल युवा क्लबलाई दिन्छौं ।’ कन्सर्टको तयारी पूरा भइसकेको उनले बताए ।


ब्यान्डका भोकलिस्ट राजु लामा अमेरिकामा छन् । ब्यान्डको विज्ञप्तिमा उनले आफूहरूलाई यतिन्जेल माया र साथ दिने शुभचिन्तकसँग खुसियाली साट्न चाहेको उल्लेख गरेका छन् । ‘हाम्रा श्रोता र शुभचिन्तकसँग खुसी बाँड्न चाहन्छौं,’ उनले भनेका छन्, ‘स्थापना कालदेखि नै हामीलाई सबैले माया गर्दै आउनुभएको छ । उहाँहरूलाई धन्यवाद दिन खोजेका हौं ।’ राजु यही साता स्वदेश फर्किंदै छन् ।


सन् १९९२ मा स्थापना भएयता ब्यान्डले ६ वटा एल्बम निकालेको छ । कन्सर्टमा सातौं एल्बम लन्च गर्ने बबीले बताए । संस्थापक सदस्य उनी गएको एक दशकदेखि ब्यान्डको व्यवस्थापन पनि सम्हालिरहेका छन् । उनलाई सन् २००४ आफूहरूको गोल्डेन डेज लाग्छ । ‘त्यो साल हाम्रो चौथो एल्बम निस्किएको थियो,’ उनी भन्छन्, ‘सीडीमा निकालेको एल्बम भयानक बिक्री भयो । म्युजिक नेपालले दुई वर्ष लगातार बेस्ट सेलिङ एल्बम अफ द इयर अवार्ड हामीलाई दियो ।’


त्यसको दुई वर्षपछि चाहिँ मंगोलियन हार्टले दुर्दशा खेप्यो । ६ मध्ये चार सदस्यले ब्यान्ड छोडेका थिए । राजु र बबी मात्र बाँकी रहे । बबीलाई ब्यान्ड जोगाउनुपर्छ भन्ने लाग्यो, उनी सदस्य खोज्न थाले । अन्तत: नयाँ टोली निर्माण भयो । त्यसमा किरण नगरकोटी, सन्तोष थापा र पवन कपाली थपिए । पाँच सदस्यीय ब्यान्डका रूपमा उनीहरू अघि बढे, अझै यही लाइन–अप सक्रिय छ । किरण लिड गिटार, सन्तोष ड्रम्स र पवन बेसमा छन् ।


सन्तोषलाई ब्यान्डभित्रको हालको एकता नै यसको मजबुत पक्ष हो भन्ने लाग्छ । फ्रन्टम्यानका रूपमा राजुले गरेको व्यवहार उनी राम्रो मान्छन् । ‘ऊ एकदम केयरिङ छ,’ ड्रमर सन्तोषले भने, ‘हाम्रो पर्सनल र अफिसियल दुवै कुरामा ध्यान दिने बानी राम्रो छ ।’ बबी पनि आफूहरूको नेतृत्वकर्ता (लिडर) बलियो रहेको बताउँछन् । देशबाहिर रहे पनि उनले वर्षको चार/पाँच पटक स्वदेशमै ठूला कन्सर्ट गरिरहेको सन्तोषको भनाइ छ ।


‘पछिल्लो समय हाम्रा गीत काउन्ट डाउनमा आएका छैनन्, हामीले अवार्ड पाएका छैनौं तर हाम्रा फ्यानलाई निराश पनि बनाएका छैनौं,’ सन्तोष भन्छन्, ‘कन्सर्ट वा अन्य समारोहमा भेट हुने जो–कोहीले हाम्रा गीत र प्रस्तुतिहरू राम्रो लागेको प्रतिक्रिया दिने गर्नुभएको छ ।’ लोक–पप विधामा अडिग रहेर यहाँसम्म आइपुग्नुलाई ब्यान्ड मेम्बरले खुसीको कुरा मानेका छन् । ‘यो विधा स्थापित गराउन हाम्रो पनि कुनै न कुनै भूमिका रह्यो होला,’ बबी भन्छन्, ‘मेलोडीमा प्रयोग गरिरहँदा हामीले लोक स्वाद कहिल्यै छोडेनौं ।’


ब्यान्डका करिब एक सय गीत बाहिर निस्किएका छन् । राजुले व्यक्तिगत रूपमा योभन्दा बढी गाएका छन् । मंगोलियन हार्टका विभिन्न भोल्युममा समावेश भएका ‘उँभो–उँभो खासा...’, ‘तिमीलाई देखेर...’, ‘सायद तिम्रो बाटोमा...’, ‘मेरो नेपाल...’, ‘नतानूँ त तानूँ लाग्ने...’, ‘गाजलु टीका...’, ‘पर्खाइमा भिज्यो सिरानी...’, ‘हल्ला चलेछ...’, ‘लाखौं कोसिस गर्दा पनि...’ जस्ता दर्जनौं गीत चर्चित छन् । ब्यान्डले कान्तिपुर एफएम अवार्ड, इमेज अवार्ड आदि पाइसकेको छ ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?