२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

केकी भन्छिन्–आमा बनेको अनुभूति गर्दै छु

पर्वत पोर्तेल

काँकडभिट्टा — अभिनेत्री केकी अधिकारीले यो साता झापामा बिताइन् । यसअघि उनी सुटिङकै लागि झापा आएकी थिइनन् । तर, ‘नाइँ नभन्नू ल ५’ ले यिनलाई झापामा पाइला टेकायो ।

केकी भन्छिन्–आमा बनेको अनुभूति गर्दै छु

‘३ वर्षअघि ‘बितेका पल’ फिल्मको प्रमोसनमा झापा आएकी थिएँ’, केकीले सुनाइन्, ‘सुटिङकै लागि चाहिँ झापा पहिलो पटक हो ।’

विकासराज आचार्यको ब्रान्डेड फिल्म ‘नाइँ नभन्नू ल’ को पाँचौं शृंखलाको सुटिङमै व्यस्त थिइन् युवापुस्ताकी लोकप्रिय अभिनेत्री केकी । तर, यिनको ज्यादा ध्यान आफूले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ तिर देखिन्थ्यो । आगामी वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘कोहलपुर एक्सप्रेस’ लाई लिएर उनी उत्साहित छिन् । केकी आफैंले लगानी गरेको यो पहिलो फिल्म हो । म्युजिक भिडियो निर्देशन गर्दै आएका विशाल भण्डारीको पनि यो डेब्यु फिल्म हो ।

झापा बसुन्जेल केकी सुटिङमै मात्रै केन्द्रित भइनन् । पुराना फ्यानहरूलाई भेटिन् । झापाका पत्रकारहरूसँग भलाकुसारी गरिन् । झापाको खुदुनाबारीमा जारी महोत्सवमा समेत सहभागी भएर ‘कोहलपुर एक्सप्रेस’को प्रवद्र्धन गर्न भ्याइन् उनले । म्युजिक भिडियो सुटिङका क्रममा एक दिन निर्देशक भण्डारीले ‘कोहलपुर एक्सप्रेस’को कथा सुनाएका थिए । कथाले केकीलाई लगानी गर्न उक्साएको थियो । ‘मलाई कथा मनपर्‍यो,’ उनले सुनाइन्, ‘त्यसपछि लगानी गर्ने निधो गरें ।’

लगानी गर्न छिटो भयो भन्नेहरू पनि थिए । ‘फिल्ममा लगानी गर्दै छु’ भन्दा धेरैले जिब्रो टोकेका थिए । तर, आफूभित्र ऊर्जा भएकै बेला नयाँ काम गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले जनाए । ‘ऊर्जा भइरहेकै बेला काम गर्नुपर्छ ।सेलाएपछि गाह्रो हुन्छ,’ उनले थपिन् । पहिलो फिल्म लगानीले आफूलाई जिम्मेवारी लिन सिकाएको र परिपक्व बनाएको उनले दाबी गरिन् । अहिले यिनलाई लागेको छ, फिल्म निर्माण गर्ने काम चानचुने र सोचेजस्तो सहज रहेनछ । ९ महिना गर्भमा बच्चा राखेपछि जन्मिने बेलामा आमाहरूलाई जस्तो हुन्छ, त्यस्तै अनुभूति यति बेला केकीले गरिरहेकी छन् । सुनाइन्, ‘यो फिल्मले मलाई आमा बनाएको छ ।’

कमेडी फिल्मकै ट्रेन समातेका कारण फिल्म लगानी डुब्ने जोखिम भने कम देखिन्छ । ‘सँगसँगै महिलालाई लिड क्यारेक्टरमा राखेर प्रोटागोनिसको रूपमा कमेडी गराएकी छु, यो आफैंमा ठूलो रिस्क हो,’ केकीले भनिन् । करिब एक करोड लगानीमा बनेको फिल्ममा उनीसँगै प्रियंका कार्की, ऋचा शर्मा, रवीन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकार पनि छन् । यही फिल्मबाट विनोद न्यौपानेले नयाँ अभिनेताको रूपमा डेब्यु गर्दै छन् ।

प्रकाशित : वैशाख २, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?