पूर्णिमाजस्तै आमा

‘आमालाई सम्झिन औंसी कुर्ने कुरा भएन । तैपनि चलिआएको चलन भनेर बिहानै फोन गरेको थिएँ । औंसी भएर फोन गरिस् भन्दै उहाँले जिस्काउनुभयो । मैले हो भनेँ । हाँस्नुभयो ।’

काठमाडौँ — अभिनेत्री बेनिशा हमाल अहिले फिल्म छायांकनमा व्यस्त छिन् । सोमबार काम नभएको भए उनी सोझै चितवन पुग्थिन् । तर, त्यसो गर्न पाइनन् । बानेश्वरबाटै फोन गरेर आमा, ठूलीआमा र दिदीहरूलाई ‘हयाप्पी मदर्स डे’ भनिन् ।

पूर्णिमाजस्तै आमा

‘इन्स्टामा ममी र मेरो फोटो पनि राखेँ’, उनले भनिन्, ‘उहाँलाई खुसी लागोस् भनेर टयाग गरेकी थिएँ, लाइक गर्नुभएछ ।’

बेनिशा बुधबार सुटिङ सकेर घर जाँदै छिन् । त्यही बेला आमा समानका सबै आफन्तलाई उपहार लगिदिन्छिन् । अस्ति भर्खर अस्ट्रेलियाबाट फर्किंदा आमाका लागि कस्मेटिक सामग्री ल्याइदिएको बताइन् ।

‘आमाको मुख हेर्ने दिन प्राय: घरमै हुन्थेँ,’ उनी भन्छिन्, ‘ममीले टीका लगाइदिसिन्थ्यो । हामी गिफ्ट दिन्थ्यौं । यसपालि टाढा भएँ । मलाई यो दिन सधैं स्पेसल लाग्छ । अरू बेला जति कम्प्लेन गरे पनि मदर्स डेमा सबै थोक भुलेर ममीसँग क्लोज भइन्छ ।’

मातातीर्थ औंसीमा बेनिशाले आमा भेट्न नपाए पनि आशिष्मा नकर्मी, वर्षा शिवाकोटी, नगमा श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाहलगायत अभिनेत्रीले आमासँग समय बिताए । उनीहरू सबैले सोमबार सामाजिक सञ्जालमा ‘विद मम’ भन्दै ताजा तस्बिर सेयर गरेका थिए । ‘मेरी सुन्दर आमालाई शुभकामना’, नगमाले इन्स्टाग्राममा क्याप्सन लेखेकी छन्, ‘म जे छु, तपाईंको सहयोगले बनेकी हुँ । आई लभ यु मम्मा ।’ उनको तस्बिरमा मलिना जोशीले ‘तिमीभन्दा आमा भर्खरकी देखिनुभएको छ’ भन्दै कमेन्ट गरेकी छन् ।

गायक राज सिग्देलले भने यो पर्वको अवसरमा ‘आमा...’ बोलको गीत रिलिज गरे । त्यसमा एक छोराले आमाप्रति व्यक्त गरेको भाव सुन्न सकिन्छ । ‘सम्पूर्ण आमाहरूलाई समर्पित गर्दै मातातीर्थ औंसीको दिन युटयुबमा भिडियो अपलोड गरेको छु,’ उनले भने, ‘आफ्नी आमालाई चाहिँ फोनबाट विस गरेँ, आर्शिवाद लिएँ ।’ कार्यक्रमका लागि नेपालगन्ज पुगेका उनले तनहुँमा रहेकी आमालाई मोबाइल उपहार किनिदिएको बताए ।

अभिनेता अनमोल केसीले आफू सानो छँदा आमा सुस्मिता बमजनसँग खिचेको तस्बिर फेसबुक र इन्स्टाग्राममा राखेका थिए । दुवैतिर लाइक्स र कमेन्ट प्रशस्त थियो । ‘क्युट अनमोल, सुस्मिता म्याम सधंै ब्युटिफुल’, प्रणय मोक्तान तामाङले फेसबुकमा लेखेका छन्, ‘यही अवसरमा मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिदिए हुन्थ्यो नि, प्लिज ।’ इन्स्टातिर पनि अनमोललाई क्युट देखिएको प्रतिक्रिया आएको थियो ।

लेखक सुविन भट्टराईलाई आमाको मुख हेर्ने दिन औंसीमा परेकोमा आश्चर्यलाग्दो रहेछ । यो कुरा ट्वीटरमार्फत व्यक्त गरेका थिए । ‘पूर्णिमाजस्ता आमाहरूको मुख हेर्ने दिन औंसीमा किन हुन्छ ?’ उनी लेख्छन्, ‘सायद उज्यालो छर्छिन् भनेर ।’ यसलाई सयौंले रिट्वीट गर्न भ्याए । संस्कृति मन्त्री रवीन्द्र अधिकारीले पनि ट्वीटरमै आमाको तस्बिर राखेर धर्तीका सबै आमाप्रति प्रणाम भन्दै कृष्णप्रसाद भट्टराईकृत ‘आमा’ शीर्षकको कविताबाट दुई हरफ पोस्ट गरेका थिए–

‘धर्तीमै छ सबै चिज खोजे मिल्छ घरि–घरि,
तर जन्म दिने आमा पाइँदैन कसै गरी’

अभिनेत्री नन्दिता केसीले आमाको आँसु पुछ्दै गरेको वालको पेन्टिङसँगै आमासँग खिचाएको फोटो फेसबुकमा अपलोड गरेकी थिइन् । आशिष्माले ‘आमा तिमी महान् छौ’ भन्दै सांस्कृतिक पहिरनमा खिचाएको तस्बिर इन्स्टातिर राखिन् । अभिनेता निखिल उप्रेतीलाई भने सामाजिक सञ्जालतिर फोटो राख्ने कुरा दिमागमै आएनछ । सर्लाही रहेकी आमालाई फोन गरेर हालखबर सोध्नुबाहेक थप केही नगरेको बताए ।

‘म औपचारिक कुराहरू गर्नै जान्दिनँ,’ निखिलले भने, ‘उपहार किन्नेवर्ने पनि हुँदैन । बुबा–आमा सर्लाहीमा बस्नुहुन्छ । हाम्रो भेट त्यति हुँदैन । उहाँहरूलाई भेट्न पाउनु नै ठूलो वा विशेष कुरा लाग्छ ।’ घरमा आमा हुँदाहुँदै मान्छे मन्दिर गएको देख्दा भने निखिल छक्क पर्छन् ।

आमालाई नै भगवान् ठान्ने उनी बोलीभन्दा व्यवहारमा माया, सम्मान जताउनु ठीक ठान्छन् ।

‘आमालाई सम्झिन औंसी कुर्ने कुरा भएन,’ उनले भने, ‘तैपनि चलिआएको चलन भनेर बिहानै फोन गरेको थिएँ । औंसी भएर फोन गरिस् भन्दै उहाँले जिस्काउनुभयो । मैले हो भनेँ । हाँस्नुभयो । हामीबीचको प्रेम यस्तै छ, अनौपचारिक ।’

प्रकाशित : वैशाख ४, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?