१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सर्ट फिल्मको ओइरो 

आफ्नै लगानी र विषयमा बनाउने पनि छन् । कतिपय अवस्थामा प्रोजेक्ट दिनेले नै फन्ड र विषयवस्तु दिन्छ । दिएको विषयवस्तुमध्ये एउटा छानेर फिल्म बनाइन्छ ।
सुनीता साखकर्मी

काठमाडौँ — कुनै समय फिल्म निर्माण प्रविधि एकदमै मंहगो र अप्ठ्यारो मानिन्थ्यो । प्रविधिको सहजताले गर्दा पछिल्लो समय सर्ट फिल्म मेकिङमा फिल्ममेकरहरू आकर्षित भएका छन् । नेपालमा हुने विभिन्न फिल्म फेस्टिभलहरूमा पनि सर्ट फिल्मको उपस्थिती बढ्न थालेको छ ।

सर्ट फिल्मको ओइरो 

मोबाइलबाटै खिचेर बनाउने फिल्म केन्द्रित ‘सेल फोन फिल्म फेस्टिभल’ देखि ‘वान मिनेट फिल्म फेस्टिभल’ समेत हुन थालेका छन् । राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरूमा समेत नेपाली सर्ट फिल्महरूको सहभागिता बढ्दो छ ।


तर, यस्ता सर्ट फिल्मको व्यवसायिकता चाहिँ कुन तहमा छ त ? सर्ट फिल्ममेकर स्वीकार शाहन्ले भने, ‘सर्ट फिल्म मात्रै गरेर जीविकोपार्जन हुने समय आइसकेको छैन । तर, केहीले चाहिँ सर्ट फिल्ममै काम गरेर राम्रो कमाइ गरिरहेका छन् ।’


एक मिनेटको ‘म भिन्न छु’ सर्ट फिल्मबाट करिअर सुरु गरेका स्वीकारको अर्को सिर्जना ‘मानिस हराएको सूचना’ ले राम्रो चर्चा मात्रै पाएन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा छनोट पनि भयो । मोबाइलबाट खिचेर बनाइएको यो सिर्जना सर्वनाम थिएटरले आयोजना गरेको दृश्यांश (सेलफोन फिल्म फेस्टिभल) मा पहिलो पटक छानिएर पुरस्कृत नै भएको थियो ।


यसपछि क्यानडामा हरेक वर्ष हुने टोरोन्टो नेपाली फिल्म फेस्टिभल, भारतको लखनऊमा हुने सीएमएस इन्टरनेसनल चिल्ड्रेन फिल्म फेस्टिभलजस्ता अन्तर्राष्ट्रिय फेस्टिभलमा छानियो । सन् २०१४ को ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’ मा समेत देखाइएको यो फिल्मले काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा जुरी अवार्ड पायो ।


चर्को बजारीकरण र उपभोक्तावादी सोचाइका कारण मानिसमा हराउँदै गरेको समवेदना उनको यो सर्ट फिल्ममा हेर्न सकिन्छ । सामाजिक सञ्जाललाई दुरुपयोग गरेर मान्छेले कसरी आफ्नो ढोंगी चरित्र प्रकट गरिरहेका छन् भन्ने पनि फिल्ममा छ । स्वीकारका अनुसार केहीले सेल्फ फन्डिङमा यस्ता सर्ट फिल्म निर्माण गर्छन् भने केहीले प्रोजेक्ट लिएर बनाउने गरेका छन् ।


फिल्म फेस्टिभलमा भिडाएर एक/दुइटा अवार्ड जितेका फिल्ममेकरहरूलाई अन्य फिल्म बनाउनका लागि प्रस्ताव आउने गरेको उनको अनुभव छ । ‘आफ्नै लगानी र विषयमा बनाउने पनि छन् । कतिपय अवस्थामा प्रोजेक्ट दिनेले नै फन्ड र विषयवस्तु दिन्छ,’ उनले भने, ‘दिएको विषयवस्तुमध्ये एउटा छानेर फिल्म बनाइन्छ ।’


फिचरतिरको खुड्किलो

नेपाली सर्ट फिल्महरू पछिल्ला वर्षहरूमा केही सुखद र फराकिलो बन्दै गएको देखिन्छ । तर यस्ता सर्ट फिल्महरू प्राय: फिल्म फेस्टिभलहरूमै बढी भर परेका छन् । छोटो अवधिको भएकोले कर्मसियल हलमा लाग्ने कुरै भएन । केहीले भने युटयुबलाई प्लेटफार्मको रूपमा प्रयोग गर्दै आम्दानी गर्ने कोसिस गरिरहेका छन् ।


स्वीकारका अनुसार यस्ता सर्ट फिल्म पैसा कमाउनभन्दा पनि खास उद्देश्यसँग पनि जोडिएका हुन्छन् । अवार्ड र राम्रो प्रतिक्रिया पाएको खण्डमा सर्ट फिल्मकै कथालाई विस्तार गरेर फिचर फिल्म बनाउने क्रम पनि सुरु भएको छ । केही वर्षअघि विनोद पौडेलको सर्ट फिल्म ‘अवेकन आइज’ लाई विस्तार गरेर जोयश पाण्डेले फिल्म ‘साँघुरो’ बनाएका थिए ।


छोटो फिल्म बनाउँदै आएका विकास न्यौपानेको सपना पनि फिचरतिरै जाने रहेको छ ।


‘एकादेशमा फिल्म फेस्टिभल’ मा उनको सर्ट फिल्म ‘लक्ष्मनिया’ ले निकै तारिफ बटुलेको थियो । आठ वर्षदेखि सर्ट फिल्म निर्माणमा लागेका उनले २५ वटामा काम गरिसके भने दुइटा आफैंले बनाएका छन् । ‘सर्ट फिल्म प्यासन हो । समाजमा कसैले याद नगरेको र लुकेको विषयमा सर्ट फिल्म बनाउँदा छुट्टै आनन्द मिल्छ,’ उनले भने, ‘यसले फिल्म कसरी बनाउनुपर्छ भन्नेबारे ज्ञानको दायरा फराकिलो बनाउन पनि मद्दत मिल्छ । तर अल्टिमेट ड्रिमचाहिँ फिचर फिल्म बनाउनु नै हो ।’


कस्ता बनिरहेका छन् ?

अहिले बनिरहेको सर्ट फिल्मको ट्रेन्ड हेर्ने हो भने दुई किसिमको देखिन्छ । फेस्टिभल लक्षित र युटयुब लक्ष्यित ।


राम्रो लगानी र विषयवस्तुमाथि अनुभवीहरूले बनाएका सर्ट फिल्मले राम्रै प्रशंसा पाइरहेका छन् र समाजको सकारात्मक परिवर्तनमा योगदान दिइरहेका छन् । तर, युटयुबमा ‘नेपाली सर्ट मुभी’ भनेर सर्च गर्ने हो भने अनगिन्ती सर्ट फिल्महरू त देखिन्छन् तर ती अश्लीलतामा आधारित हुन्छन् । जेजस्तो भए पनि राम्रो र सिर्जनशील काम गर्नेलाई यस्ता फिल्मले असर नपुग्ने न्यौपानेले दाबी गरे ।


‘राम्रा दर्शकले राम्रो कन्टेन्ट खोजी खोजी हेर्नुहुन्छ,’ उनले भने, ‘नराम्रोको हल्ला धेरै दिन चल्दैन । तर राम्रो बनायो भने धेरै लामो समयसम्म त्यो बाँचिरहन्छ र सम्झिइन्छ पनि ।’ युटयबमा भिडियोले पाएको भ्युजअनुसार नै कमाइ हुने भएकाले यस्ता भिडियोहरू बनेका हुन सक्ने उनले दाबी गरे । यस्ता फिल्मको दर्ता प्रक्रिया असम्भव भएकाले पनि यस्तो भएको हो ।


दुई वर्षअघि चलचित्र विकास बोर्डले नियम बनाउँदै सार्वजनिक सूचनासमेत जारी गरेको थियो, युटयुबका सामग्रीलाई दर्ता प्रक्रियामा ल्याउन । तर बोर्डले यो नियमलाई प्रभावकारी रूपमा लागू गर्न सकेको छैन । बोर्डकी अध्यक्ष निकिता पौडेलका अनुसार बोर्डमा दर्ता गर्न पुग्ने फिल्महरू मात्रै नियमअनुसार हुन्छन्, अन्यलाई दायरामा ल्याउन सकिँदैन ।


‘छोटा फिल्म दर्ता गर्न मापदण्ड छ । मापदण्ड पुगेका छोटा फिल्म मात्रै दर्ता गर्छाैँ,’ उनले भनिन्, ‘आफूखुसी युटयुबमा अपलोड हुने फिल्महरू हामीले समेट्न सकेका छैनौँ ।’


बोर्डको प्रोडक्सन विभागका मणिराम आचार्यका अनुसार यस वर्ष एक दर्जन छोटा फिल्म मात्रै दर्ता भए । ‘बोर्डको दर्ता प्रक्रिया त्यति झन्झिटिलो पनि छैन,’ उनले दाबी गरे ।


प्रकाशित : वैशाख ७, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?