कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंगोलियन हार्टको रजत कन्सर्ट 

बादलपारिको देशबाट...

काठमाडौँ — आकाशमा सरर प्लेन उडिरहेको थियो । जमिनमा गायक राजु लामा ‘मेरो नेपाल...’ भन्दै भावुक बने । कालो पहिरनमा सजिएका उनी देशको झण्डा लिएर स्टेज उक्लिए । अनि भने—

मंगोलियन हार्टको रजत कन्सर्ट 

तिमीलाई म भुल्न सक्दिनँ

जहाँ जाऊँ तिम्रो याद आइरहन्छ

यो खोला, यो नाला, यो पहाड भञ्ज्याङले

मलाई बोलाइरहन्छ....


गीतको कुरा अलि मिलेन । शनिबार चुच्चेपाटीस्थित हयात ग्राउन्डमा कसैले राजु होइन बरु राजुले नै दर्शक बोलाएका थिए । त्यहाँ उनी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’ को रजत जयन्ती मनाइरहेका थिए । ‘मेरो नेपाल...’ गीतमार्फत कन्सर्ट प्रारम्भ गर्दा दर्शक झुम्मिए । राजुले ‘बादलपारिको देशबाट...’, ‘एक जोडी नयन....’, लगायत गीत गाए ।


आधा दर्जन गीत सुनाएपछि उनले कन्सर्ट गर्नुको कारण खुलाए– ‘तपार्इंहरूको मायाले यहाँसम्म आइपुगेका छौं, त्यसका लागि धन्यवाद दिऊँ भनेर निम्ता गरेका हौं ।’ एमएच इभेन्ट म्यानेजमेन्टले गरेको कन्सर्टमै ब्यान्डले नयाँ एल्बम ‘मंलोलियन हार्ट–७’ सार्वजनिक गर्‍यो । राजुका मितसमेत रहेका कानुन मन्त्री शेरबहादुर तामाङसँगै देव राणा, भीम तुलाधर, सञ्जय श्रेष्ठ, राजेशपायल राई लगायत संगीतकर्मीले एल्बम लोर्कापण गरे ।


अग्रज गायक तथा संगीतकर्मीलाई ब्यान्डले मायाको चिनो प्रदान गर्‍यो । अनौपचारिक कार्यक्रमपछि राजु पुन: जोसिए । उनले ‘यो जुनीमा....’, ‘नतानूँ त तानूँ लाग्ने....’, ‘हिमाली पाखा...’, लगायत गीत गाए । ‘गाउँकी कान्छी...’ तामाङ सेलोमा नाच्ने प्रसस्त थिए । ‘देश विकास बाटोमा लागेको छ’ गाउँदै राजुले भने, ‘सबै मिलेर देश बनाऔंँ । संगीतमा जात, धर्मको विभेद हुँदैन ।’


ब्यान्डलाई सुन्न आएका कतिपयले ‘आई लभ मंगोलियन हार्ट’, ‘राजु इज अ सिङ किङ’ लेखिएका प्लेकार्ड बोकेका थिए । आयोजकले ड्रोनबाट भिडियो लिएको दृश्यमा पनि दर्शक आकर्षित बने । शनिबारको कार्यक्रमपछि ब्यान्डले देशका अझै २४ ठाउँ पुग्ने योजना बनाएको छ ।


२५ वर्ष पुगेको अवसरमा २५ रुपैयाँ टिकट बेचिएको थियो । त्यसको रकम ब्यान्डले टुसाल युवा क्लबलाई प्रदान गरेको छ । कन्सर्टमा ब्यान्डका सदस्य बबी लामा, पवन कपाली, सन्तोष थापा, किरण नगरकोटी र राजुलाई दीपेन्द्रमान सिंह, भुपेन्द्र बज्राचार्य, बाबुराजा र विनयले वाद्यवादनमा साथ दिए ।

प्रकाशित : वैशाख ९, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?