१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाबुछोरीको दशकपछिको गफ

सुशील पौडेल

काठमाडौँ — नायिका केकी अधिकारी करिअरको सुरुवाती दिनमा निर्देशक बाबु बद्री अधिकारीका कारण बढी चिनिन्थ्यो । जब जब केकीको अभिनयको तारिफ हुन्थ्यो, जस बाबु बद्रीलाई जाने गर्थ्याे ।

बाबुछोरीको दशकपछिको गफ

घरमै कलाको माहोल भएकोले पनि केकीको क्षमता पुस्टिन पाएको हुन सक्ने अनुमान लगाइन्छ । तर वास्तविकता भने केही फरक छ । यी बाबुछोरीबीच मुस्किलले बातचित हुने रहेछ । आफू अभिनीत मात्रै नभई पहिलो पटक निर्माण थालेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ शुक्रबारको रिलिज छेको पारेर केकी बुबासाथ हालै कुराकानीमा देखिइन् ।


‘बाबुछोरीको बिहान त जहिल्यै भेट हुन्छ तर गफ गर्ने वातावरण भने प्राय: बन्दैन’ केकीले सुरुमै यसो भनेपछि बाबुले पनि थपिहाले, ‘खाना खान बसेको बेला मुस्किलले दुई मिनेट कुरा हुन्छ होला, नत्र अहँ ।’ त्यो पनि फिल्मकै विषय उप्कियो भने मात्र बातचित केही लम्बिने रहेछ । त्यस्तोमा फिल्म रिलिज सम्मुखमा आइपुग्दाचाहिँ बाबुसँग केकीले कत्तिको सरसल्लाह लिइँदिहुन् ? ‘म यसो गर छोरी पनि भन्दिनँ । ऊ पनि के गरौं बाबा भनेर सोध्दिनँ’ केही वर्षअघि आफैंले ‘ज्यान हाजिर छ,’ फिल्म निर्माणमा असफलता भोगिसकेका बद्रीले सिधासिधा भनिदिए, ‘खुरुखुरु स्क्रिप्ट लेख्नु र निर्देशन गर्नुभन्दा निर्माण गर्नु गाह्रै रहेछ । फेरि त्यो बेलाको तरिका अहिले काम पनि लाग्दै छ ।’ केकी भने बाबालाई सोधेर फेरि पुरानै तनाव बल्झाउन मन पनि नलाग्दो रहेछ । बाबुछोरीले एकअर्काको मन राखिदिने बहानामा सञ्चारविच्छेद हुने रहेछ ।


केकीले आफ्नै जुनकिरी आर्टस्बाट ‘कोहलपुर एक्सप्रेस’ बनाउने तय भएपछि पनि बद्रीले सुरुमा नाम मात्रै छोरीको राखिएको होला भन्ने लागेको रहेछ । ‘त्यसैले पनि त्यो बेला हल्का रूपमा लिएँ । पछि मिडियामा नै आएपछि पो बल्ल थाहा पाएँ ।’ त्यसो त बद्री छोरीका अधिकांश खबर समाचार पढेर नै थाहा पाउँछन् । तर यसमा उनलाई छोरीसँग चित्त दुखाइ भने छैन । बरु एकाध महिनादेखि छोरीको खटन नजिकबाट नियालिरहेका रहेछन् । ‘तनाव पनि अर्कै खालको छ । देखाउन नखोजेको जस्तो’ तर यो समयको खट्न आवश्यक पनि भएको भन्दै उनी आफैंलाई चित्त बुझाएर बस्छन्, बद्री । निर्माता बनेपछि केकीलाई पनि कहिलेकाहीं ओभर फ्रस्टेसन र तनावले सताउने रहेछ । उनी पनि बुबाले भनेझैं यसलाई क्षणिक ठान्छिन् । ‘यो मोमेन्टरी हो । पछि त चाहेर पनि तनाव लिन पाइँदैन भन्नेजस्तो पनि लाग्छ,’ केकी भन्छिन्, ‘आफ्नै रहरले समातेको विधा भएकोले फिल्म निर्माणको कामबाट आउने तनाव पनि आफैंले नै लिनुपर्छ, भोग्नुपर्छ । हरेक निर्माता यो फेजबाट गुज्रेकै हुन्छ ।’


अभिनयमा नै चम्किरहेका बेला निर्माणमा हात हाल्दा केकीलाई धेरैले हतार गरेको पनि भने । तर उनी राइट टाइममा भन्दा पनि ऊर्जामा विश्वास गर्छिन् । शरीरमा जोस छँदै सुर गरिहालें भन्दै थपिन्, ‘जहिले सुरु गरिन्छ त्यही टाइम नै राइट बनाउन लागिपर्ने हो ।’ केकीले आफ्नो निर्माण कम्पनी मास्टर प्लानअन्तर्गत ल्याएको बताउँछिन् । ‘प्रोडक्सन हाउस खोल्ने म एक्लैको सपना होइन । यसमा बाबाले पूरा गर्न नपाएको सपना पनि साकार पार्नेछु । आफ्ना लागि पनि कहिल्यै नलेखिएको कथाहरू लेख्नेदेखि आफूले भन्न चाहेको, सुन्न चाहेको कथाको नयाँ प्लाटफर्म सृजना गर्ने सपना हो,’ छोरीले यसो भनिरहँदा आडैमा बद्री दंग देखिए । ‘एक दुइटा एम्बिसियस प्रोजेक्ट साँचेर राखेको छु । बेस्ट फिल्म त अझै बनेकै छैनन् र त्यो मैले नै बनाउने हो भनेर चित्त बुझाइरहेको छु । करिब सात/आठ वर्षदेखि यी कुरा मेरो दिमागमा आइरहेका छन् । तर छोरीलाई कहिल्यै सेयर गरेको थिइनँ । अब हेल्प गर्ने छोरी पाएँ । मेरो सृजना बुझ्न सक्ने, वातावरण बनाउन सक्ने साथी पाउने भएँ । त्यो सबैभन्दा खुसीको कुरा ।’ बाबाका कुराले अचम्म मानिरहेकी केकीले थपिन्, ‘यो अन्तर्वार्ताको रमाइलो, आज बाबाका कतिपय कुरा मैले पनि थाहा पाउँदै छु ।’


सुरुवातमा बद्रीलाई छोरी यो फिल्डमा धेरै डिभोटेड, प्यासोनेट नहोस् भन्ने लाग्थ्यो रे । स्वयम् केकी भन्छिन् । ‘त्यसैले मैले पनि आफ्नो कामबारे खासै सेयर गरिनँ । यसैले नै ग्याप बढ्दै गयो । अहिले त बाबा नै मेरो कामको पहिलो समालोचक हो,’ केकीले भनिन्, ‘बाबालाई यो फिल्डको स्ट्रगल धेरै थाहा छ । त्यसैले पनि मैले यस्तो काम थाल्दै छु भन्दा अक्वार्ड लाग्ला भनेजस्तो पनि लाग्छ ।’ तर बद्रीलाई केकीको अभिनय भने मन पर्दो रहेछ । खासगरी ‘लभ साशा’ मा उनले गरेको अभिनय बढी रियालिस्टिक मान्दा रहेछन् । बरु केकी नै भने आफूलाई ओभर एक्टको सिकार हुने ठान्छिन् । कुराकानी बिट मार्ने बेला केकीले थपिन्, ‘मेरो कामलाई लिएर यसरी बाबासँगै कुरा भएको करिअरको दस वर्षको अवधिमा आज पहिलो पटक होला ।’

प्रकाशित : वैशाख ९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?