कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आन्दोलनमा उत्रे फिल्म निर्माताहरु

‘हलसँगको सेयर सम्झौता कार्यान्वयन नभए जेठ २ देखि फिल्म प्रदर्शन रोक्ने’

काठमाडौँ — फिल्म प्रदर्शनीबापत हलसँगको सेयर बाँडफाँड र बक्स अफिस संचालनको विषयलाई लिएर फिल्म निर्माताहरु आन्दोलनमा उत्रिने भएका छन् । आन्दोलनको पहिलो चरण स्वरुप राजधानीमा बृहद भेला गरी चलचित्र निर्माता संघले विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

आन्दोलनमा उत्रे फिल्म निर्माताहरु

शनिबार भएको बन्द भेलाको निर्णय सोमबार सार्वजनिक गर्दै संघले विगतमा हलहरुसँग भएको सम्झौता बमोजिमको सेयर माग गरेको हो । ४२ दिन लामो आन्दोलनपछि २०६० साउन २३ गते हलवालाहरुको संस्था चलचित्र संघ र निर्माता संघबीच फिल्म प्रदर्शनबाट उठेको कूल रकममा भ्याट कट्टा गरी निर्माता/वितरकले ५५ देखि ६० प्रतिशतसम्म र हलवालाले ४० देखि ४५ प्रतिशत सम्म पाउने सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै निर्माताहरु एकजुट भएका हुन् ।


‘सेयर बाँडफाँडको सवालमा भएको सम्झौता उल्लंघन भएको हुनाले हामी आन्दोलनको मानसिकता पुग्यौं,' निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने, ‘सय प्रतिशत लगानी गर्ने निर्माताको हातमा अहिले सबैभन्दा थोरै आम्दानी हात पर्छ । यस्तो प्रणालीले नेपाली फिल्म उद्योग उँभो लाग्दैन ।’


उनका अनुसार फिल्म हलमा हलमा बजाइने ट्रेलर, पोष्टर, स्थानीय पब्लिसिटी खर्चहरु समेतको सन्दर्भमा पनि त्यतिबेला सम्झौता भएको थियो । तर, पालना हुन सकेन । निर्माता संघले हलहरुका लागि जेठ १ गते सम्मको समय सीमा तोकेको छ । ‘सम्झौता कार्यान्वयनमा नआए नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी फिल्महरुको सार्वजनिक प्रदर्शनमा रोक लगाउने प्रकृतिको आन्दोलनमा उत्रिन्छौं,’ अध्यक्ष अधिकारीले भने ।


निर्माता संघ र निर्माता संघ नेपालको नाममा विभाजित निर्माताहरु बानेश्वरस्थित होटल अर्यालमा सम्पन्न बन्द भेलामा सँगै थिए । प्रेस विज्ञप्ति जारी गर्ने सन्दर्भमा भने फेरि दुई पक्ष विभाजित बनेका छन् । नवल खड्काको नेतृत्व रहेको निर्माता संघ नेपालले सोमबारै विज्ञप्ति जारी गर्दै निर्माताहरुले ७० प्रतिशत सेयर पाउनुपर्ने दाबी गरेका छन् । भेलामा नयाँ पुराना कलाकारदेखि निर्माताहरुको भव्य उपस्थिति थियो । निर्माताहरुले दोस्रो मुद्धाको रुपमा बक्स अफिसलाई अघि सारेका छन् । फिल्म प्रदर्शनको हिसाब पारदर्शी बनाउन सरकारले बक्स अफिस प्रणाली ल्याउँदै छ । समयसीमा भित्रै यसलाई कार्यान्वयन गर्न माग गर्दै संघले आफ्नो तर्फबाट संस्थागत सहयोग गर्ने पनि जनाएको छ ।


चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै बक्स अफिसमा सामेल नहुने हलवालाहरुलाई चेतावानी दिएको छ । बोर्डले राष्ट्रिय चलचित्र नीति २०७१ अनुरुप बक्स अफिस सञ्चालनको प्रक्रिया अघि बढाइसकेको र विभिन्न मितिमा सम्बन्धित हलहरुलाई केन्द्रीय डाटा सेन्टरमा लिंक हुन समयसीमा तोकेकोमा अझै पनि केही फिल्म हलहरुले निर्देशन पालना नगरेकाले त्यस्ता हल यथाशीघ्र बक्सअफिस प्रणालीमा नआए चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६ अनुसार कारबाही अगाडी बढाउने विज्ञप्तिमा छ ।


‘बोर्डको सय दिनको कार्ययोजना अन्तर्गत बक्स अफिस सञ्चालनका लागि तीब्रतर रुपमा लागिरहेका छौं,' बोर्डकी अध्यक्ष निकिता पौडेलले भनिन्, ‘प्रक्रियामा नआउने हलहरुलाई कानुन बमोजिम कारबाही हुन्छ ।’

प्रकाशित : वैशाख १०, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?