कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फिल्म निर्माताहरू आन्दोलित

हलसँगको सेयर सम्झौता कार्यान्वयन नभए जेठ २ देखि फिल्म प्रदर्शन रोक्ने

काठमाडौँ — फिल्म प्रदर्शनीबापत् हलसँगको सेयर बाँडफाँट र बक्सअफिस सञ्चालनको विषयलाई लिएर फिल्मनिर्माताहरू आन्दोलनमा उत्रिने भएका छन् । आन्दोलनको पहिलो चरणस्वरूप राजधानीमा बृहत् भेला गरी चलचित्र निर्माता संघले विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

फिल्म निर्माताहरू आन्दोलित

शनिबार भएको बन्द भेलाको निर्णय सोमबार सार्वजनिक गर्दै संघले विगतमा हलहरूसँग भएको सम्झौताबमोजिमको सेयर माग गरेको हो । ४२ दिन लामो आन्दोलनपछि २०६० साउन २३ गते हलवालाहरूको संस्था चलचित्र संघ र निर्माता संघबीच फिल्म प्रदर्शनबाट उठेको कुल रकममा भ्याट कट्टा गरी निर्माता/वितरकले ५५ देखि ६० प्रतिशतसम्म र हलवालाले ४० देखि ४५ प्रतिशतसम्म पाउने सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै निर्माताहरू एकजुट भएका हुन् ।

‘सेयर बाँडफाँडको सवालमा भएको सम्झौता उल्लंघन भएको हुनाले हामी आन्दोलनको मानसिकता पुग्यौं,’ निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने, ‘शतप्रतिशत लगानी गर्ने निर्माताको हातमा अहिले सबैभन्दा थोरै आम्दानी हात पर्छ । यस्तो प्रणालीले नेपाली फिल्म उद्योग उँभो लाग्दैन ।’ उनका अनुसार फिल्म हलमा बजाइने ट्रेलर, पोस्टर, स्थानीय पब्लिसिटी खर्चहरूसमेतको सन्दर्भमा पनि त्यति बेला सम्झौता भएको थियो । तर, पालना हुन सकेन । निर्माता संघले हलहरूका लागि जेठ १ सम्मको समयसीमा तोकेको छ । ‘सम्झौता कार्यान्वयनमा नआए नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी फिल्महरूको सार्वजनिक प्रदर्शनमा रोक लगाउने प्रकृतिको आन्दोलनमा उत्रिन्छौँ,’ अध्यक्ष अधिकारीले भने ।

निर्माता संघ र निर्माता संघ नेपालको नाममा विभाजित निर्माताहरू बानेश्वरस्थित होटल अर्यालमा सम्पन्न बन्द भेलामा सँगै थिए । प्रेस विज्ञप्ति जारी गर्ने सन्दर्भमा भने फेरि दुई पक्ष विभाजित बनेका छन् । नवल खड्काको नेतृत्व रहेको निर्माता संघ नेपालले सोमबारै विज्ञप्ति जारी गर्दै निर्माताहरूले ७० प्रतिशत सेयर पाउनुपर्ने दाबी गरेका छन् । भेलामा नयाँ पुराना कलाकारदेखि निर्माताहरूको भव्य उपस्थिति थियो । निर्माताहरूले दोस्रो मुद्दाको रूपमा बक्सअफिसलाई अघि सारेका छन् । फिल्म प्रदर्शनको हिसाब पारदर्शी बनाउन सरकारले बक्सअफिस प्रणाली ल्याउँदै छ ।

समयसीमाभित्रै यसलाई कार्यान्वयन गर्न माग गर्दै संघले आफ्नो तर्फबाट संस्थागत सहयोग गर्ने पनि जनाएको छ ।

चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै बक्सअफिसमा सामेल नहुने हलवालाहरूलाई चेतावानी दिएको छ । बोर्डले राष्ट्रिय चलचित्र नीति २०७१ अनुरूप बक्सअफिस सञ्चालनको प्रक्रिया अघि बढाइसकेको र विभिन्न मितिमा सम्बन्धित हलहरूलाई केन्द्रीय डाटा सेन्टरमा लिंक हुन समयसीमा तोकेकोमा अझै पनि केही फिल्म हलहरूले निर्देशन पालना नगरेकाले त्यस्ता हल यथाशीघ्र बक्सअफिस प्रणालीमा नआए चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६ अनुसार कारबाही अगाडि बढाउने विज्ञप्तिमा छ । ‘बोर्डको सय दिनको कार्ययोजनाअन्र्तगत बक्सअफिस सञ्चालनका लागि तीव्रतर रूपमा लागिरहेका छौँ,’ बोर्डकी अध्यक्ष निकिता पौडेलले भनिन्, ‘प्रक्रियामा नआउने हलहरूलाई कानुनबमोजिम कारबाही हुन्छ ।’

प्रकाशित : वैशाख ११, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?